• होमपेज
  • समाज
  • आलमले इँटाभट्टामा हालेका भनिएका ओसी अख्तर वैदेशिक रोजगारीमा गएको भन्दै पत्नीको निवेदन

आलमले इँटाभट्टामा हालेका भनिएका ओसी अख्तर वैदेशिक रोजगारीमा गएको भन्दै पत्नीको निवेदन

  • शनिबार, कार्तिक २३, २०७६
आलमले इँटाभट्टामा हालेका भनिएका ओसी अख्तर वैदेशिक रोजगारीमा गएको भन्दै पत्नीको निवेदन

नेपाली कांग्रेका सांसद मोहम्मद अफताब आलमले १२ वर्षअघि बम बिष्फोट गराएर मारेका भनिएका ओसी अख्तर नमारिएको बरू वैदेशिक रोजगारमा गएर नफर्केको भन्दै उनकी पत्नी अमना खातुन निवेदन दिन अदालत पुगेकी छन्।

ओसी अख्तर र त्रिलोक सिंह बम बिष्फोटमा घाइते भएपछि जिउँदै इँटाभट्टामा हालेको अनुसन्धानबाट देखिएको भन्दै सरकारी वकिल कार्यालयले आलमविरूद्ध गत साता मुद्दा दायर गरेको थियो।

आलमलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने, धरौटीमा छोड्ने वा तारेखमा छोड्ने भन्नेबारे रौतहट जिल्ला अदालतमा बहस हुँदै गर्दा मृतक भनिएका मध्ये ओसी अख्तर जिउँदै रहेको निवेदन परेको रौतहट अदालत स्रोतले बताएको छ।

जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा आलमको मुद्दामा थुनछेक बहस हुँदै छ। बहस गर्न रौतहट पुगेका सहन्यायाधीवक्ता सूर्य दाहालले पनि त्यस्तो निवेदन इजलासमा दिन एक मानिस आएको पुष्टि गरे।

‘सरकारी वकिलले बहस गर्दागर्दै होस्टायल हुने खालको निवेदन लिएर एक व्यक्ति आएका थिए, हामीले त्यस्तो निवेदन स्वीकार गर्न कानुनले नदिने भन्दै प्रतिकार गर्यौं,’ सहन्यायाधीवक्ता सूर्य दाहालले भने, ‘त्यसपछि न्यायाधीशले पनि उक्त निवेदन पछि हेर्ने अहिले नहेर्ने बताउनु भयो।’

आलमका विरूद्ध जाहेरी दिने परिवार, साक्षी लगायतलाई उनका मानिसहरूले डरधम्की र प्रलोभन देखाउन सुरू गरेको स्रोतले बताएको छ।

‘पैसा जग्गा र नभए धम्की दिने प्रलोभन आलमका मानिसहरूले दिन थालेका छन्। आलमको थुनछेक बहस सुरू भएपछि साक्षीहरू डराउन थालेका छन्। एकजनाको होस्टायल निवेदन त अदालतमै पुगिसक्यो,’ स्रोत भन्छ।

तर रौतहट प्रहरी कार्यालयले भने साक्षी सुरक्षामा सचेत रहेको जनाएको छ।

‘हामी त्यो कुरामा सचेत छौं। त्यसैले साक्षी सुरक्षार्थ उनीहरूको गाउँ ठाउँमा प्रहरी गस्ती बढाउने, सुरक्षाकर्मी थप गर्ने, बेला बेला जाहेरवाला र साक्षीहरूलाई हालखबर सोध्ने गरेका छौं,’ रौतहट प्रहरीका प्रवक्ता डिएपी नवीन कार्कीले भने।

बम बिस्फोटमा परेर घाइते भएकाहरूलाई प्रमाण समेत नष्ट हुने गरी जिउँदै इँट्टाभट्टामा हालेर जलाएको अभियोग लगाएर सरकारी वकिल कार्यालयले आलमविरूद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरेको थियो।

निर्मम तरिकाले हत्या गरेको अभियोग लागेकामा आलमसहित उनका भाइ महम्मद अफताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज भन्ने शेष सराज, शेख फजलेहक, सगिर आलम, शेख जुमईन भन्ने शेख मलकार, गौरीशंकर साह, बद्री सहनी र मुक्ति साह छन्।

आलम पक्राउ परे पनि अरू सबै फरार छन्।

उनीहरूका नाममा पक्राउ वारेण्ट जारी गर्न माग गरिएको छ। विस्फोटक पदार्थमा २ वर्षसम्म कैद र २० हजार जरिवाना, ज्यान मार्ने कसूरमा जन्मकैद (बीस वर्ष) र ज्यान मार्ने उद्योगमा दस वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिवाना माग गरी अभियोग पत्र दायर गरिएको छ।

अभियुक्तमध्ये मुक्ति साहलाई देखीदेखी, जानीजानी पनि घटना ढाकछोप गरेकोमा मतियार बनाइ अभियोग पत्र दर्ता गरिएको छ। अभियोग पत्रमा दर्जनभन्दा बढी व्यक्तिलाई इँटाभट्टामा लगेर जिउँदै जलाई मारेको उल्लेख रहेको पराजुलीले बताए।

यो कसूरमा पीडितलाई न्यायोचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग दाबी पनि गरिएको छ। बम पड्काएर मानिस तर्साउने र त्यही मेसोमा बुथ क्याप्चर गर्ने योजना बनाएर आलमले आफ्नो घरनजिकैको कटेरोमा केही नेपाली र भारतीयलाई बम बनाउन लगाएका विवरण आएका छन्।

बम बनाएकै ठाउँमा विष्फोट हुँदा दुई जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको र नजिकै गाउँका २२ वर्षीय त्रिलोक सिंह पिन्टु र २१ वर्षीय ओसी अख्तर घाइते भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

विष्फोटमा मारिएका र घाइते दुवैलाई आलमको निर्देशनमा नजिकैको इँटाभट्टामा हुलेको भन्दै उनीविरूद्ध पिन्टुका बुबा श्रीनारायण र ओसीकी आमा रूक्सना खातुनले प्रहरीमा जाहेरी दिएका थिए।

प्रहरीले जाहेरी लिन नमानेपछि उनीहरूले हुलाकबाट जाहेरी पठाएका थिए। त्यसपछि प्रहरीले यसमा अनुसन्धान गरेको थियो। घटनास्थलमा ओसीका लुगा र चप्पल थिए।

इँटाभट्टाको माटो परीक्षण गर्न प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाइएको थियो। तर, प्रयोगशालामा माटो परीक्षण गर्ने प्रविधि नभएको भन्दै फिर्ता पठाइयो। प्रहरीले आलम र उनका भाइसहित पाँच जनालाई मुद्दा चलाउन भन्दै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। सरकारी वकिलले मुद्दा चलाउन अस्वीकार गर्‍यो। उक्त निर्णयलाई महान्यायाधीवक्ता कार्यालयले पनि सदर गरेको थियो।

मुद्दा नचल्ने निर्णय भएपछि सिंह र खातुन दुवैले सर्वोच्च अदालतमा रिट दिएका थिए। सर्वोच्चमा रिट विचाराधीन रहेकै बेला खातुनको पनि गोली हानी हत्या भएको थियो। रिट परेको दुई वर्षपछि न्यायाधीश सुशीला कार्की र भरतबहादुर कार्कीको इजलासले सरकारी वकिलको निर्णय खारेज गर्दै यसमा थप अनुसन्धान गरेर अदालतमा मुद्दा लैजान आदेश गरेको थियो। सात वर्षसम्म उक्त आदेश कार्यान्वयन नभएपछि अधिवक्ता पुष्प पौडेलले अदालतको अवहेलना निवेदन दिएका थिए।

उक्त निवेदनमा सुनुवाइ गर्दै गएको असारमा फेरि सर्वोच्चले पहिलेको आदेश कार्यान्वयनको अवस्थाबारे प्रत्येक महिना प्रतिवेदन बुझाउन महान्यायाधीवक्तालाई भनेको थियो। त्यही आदेश कार्यान्वयन गर्ने क्रममा अनुसन्धान हुँदा आलमले जिउँदै मान्छे जलाएको पुष्टि प्रहरीले गरेको थियो। सरकारी वकिलले प्रहरी प्रतिवेदनलाई आधार मानेर जन्मकैद माग गर्दै मुद्दा चलाएको हो।

बम विष्फोटमा मारिएकालाई जिउँदै इँटाभट्टामा हालेर जलाइएको उक्त घटनाको जाहेरी दिने रूक्सना खातुनलाई पनि गोली हानेर मारेको आरोप आलमलाई लागेको छ।

चर्चामा

सम्बन्धित समाचार