शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश १
  • मेयरमा चुनाव हारेकादेखि २ पटक सांसद भइसकेकासम्म बने प्रदेश प्रमुख

मेयरमा चुनाव हारेकादेखि २ पटक सांसद भइसकेकासम्म बने प्रदेश प्रमुख

माधव नेपाल निल, कर्णालीलाई बेवास्ता !

  • मङ्लबार, कार्तिक १९, २०७६
मेयरमा चुनाव हारेकादेखि २ पटक सांसद भइसकेकासम्म बने प्रदेश प्रमुख

काठमाडौँ– सातवटा प्रदेशका लागि प्रदेश प्रमुखको रुपमा सिफारिस भएकाहरु मेयरमा चुनाव हारेकादेखि २ पटकसम्म सांसद भएकासम्म रहेका छन् । तर, सरकारले नयाँ प्रदेश प्रमुख नियुक्ति गर्दा कर्णाली प्रदेशलाई भने बेवास्ता गरेको छ । सात प्रदेशमध्ये कर्णाली प्रदेशबाट प्रदेश प्रमुखका लागि सरकारले कसैलाई पनि योग्य ठानेको देखिएन ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रदेश १ को प्रदेश प्रमुखमा सोमनाथ अधिकारी, प्रदेश २ को प्रमुखमा तिलक परियार र प्रदेश ३ को प्रदेश प्रमुखमा बिष्णु प्रसाईँलाई सिफारिस गरेको छ । त्यस्तै गण्डकी प्रदेश प्रमुखमा अमिक शेरचन, प्रदेश ५ को प्रमुखमा धर्मनाथ यादव, कर्णाली प्रदेश प्रमुखमा गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेश प्रमुखमा शर्मिला त्रिपाठीलाई सिफारिस गरेको छ ।

सोमबार बिहान बसेको नेकपा सचिवालय बैठकमा जुटेको सहमति अनुसार नै सरकारले प्रदेश प्रमुखहरुको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेश प्रमुख को कहाँ ?
प्रदेश १ः सोमनाथ अधिकारी
प्रदेश २ः तिलक परियार
प्रदेश ३ः बिष्णु प्रसाई
गण्डकीः अमिक शेरचन
प्रदेश ५ः धर्मनाथ यादव
कर्णालीः गोविन्द कलौनी
सुदूरपश्चिमः शर्मिला त्रिपाठी

सिफारिसमा परेका सातै जना प्रदेश प्रमुखहरुको मंगलबार सपथग्रहण हुने बताइएको छ । प्रदेश प्रमुखलाई राष्ट्रपतिले पद तथा गोपनियताको सपथ दिलाउने संवैधानिक व्यवस्था रहेको छ ।

नवनियुक्त प्रदेश प्रमुखको नालीबेली
बिष्णु प्रसाईं
झापाका स्थायी बासिन्दा प्रसाईँ गत २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा मेचीनगर नगरपालिकाको मेयरमा उम्मेद्वार बनेका थिए । तत्कालीन नेकपा एमालेको तर्फबाट मेयरमा उम्मेद्वारी दिएका प्रसाईँ २०५४ मा एमालेको तर्फबाट जिविस उपसभापति समेत भएका थिए । प्रसाईँलाई स्थानीय तहको निर्वाचनमा काँग्रेसका विमल आचार्यले पराजित गरेका थिए ।

धर्मनाथ यादवः
सिरहा जिल्लाका पुराना एमाले नेता भनेर चिनिन्छन् यादव । प्रतिनिधिसभाको निर्वाचनमा तत्कालीन एमालेका तर्फबाट समानुपातिक सूचीमा नाम भएपनि उनी सांसद बन्न भने पाएनन् । साहको नाम अझै पनि समानुपातिक सूचीमा नाम देख्न सकिन्छ । स्नातक तहसम्मको अध्ययन गरेका उनी मिर्चैया गाविसका स्थायी बासिन्दा हुन् ।

अमिक शेरचनः

तत्कालीन राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत भइसकेका र हाल नेकपाका नेता रहेका अमिक शेरचन चितवन निवासी हुन् । उपप्रधानमन्त्रीसमेत भइसकेका शेरचन कुनैबेला राष्ट्रपतिका लागि समेत चर्चामा थिए । जनमोर्चा, माओवादी केन्द्र हुँदै नेकपाका नेता बनेका शेरचन पार्टी भित्रका सीधा नेताका रुपमा परिचित छन् ।

सोमनाथ प्यासीः

तत्कालीन नेकपा एमाले पृष्ठभूमिका प्यासी कास्की जिल्लाका पुराना नेता मानिन्छन् । लामो समय एमालेको राजनीति गरेका उनी २०४३ सालको जनपक्षीय निर्वाचन र २०४८ सालमा भएको निर्वाचनमा सांसद बनेका थिए । पछिल्लो समयमा उनी राजनीतिमा त्यति धेरै सक्रिय नभएपनि उनलाई निष्ठावान राजनीतिकर्मीका रुपमा धेरैले चिन्छन् ।

तिलक परियारः
गत संविधानसभा निर्वाचनमा एकीकृत नेकपा माओवादीका तर्फबाट बाँके १ बाट निर्वाचित परियार रोल्पाको लिवाङमा जन्मिएका हुन् । परियारले माओवादी निकट दलित मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष तथा माओवादीका केन्द्रीय सल्लाहकारसमेत भएर काम गरेका थिए । स्नातक तहसम्मको औपचारिक अध्ययन गरेका परियारले लामो समय भारतमा बसेर पनि पार्टीको काम गरेको उनलाई चिन्नेहरु बताउँछन् ।

भारतबाट नेपाल आएपछि बाँकेमै बसाइसराईँ गरेका परियार जनयुद्धका बेला बाँके वरपर नै खटिने गरेका थिए । २०२८ सालदेखि राजनीतिमा लागेका परियार विपन्न दलित परिवारमा जन्मिएका हुन् । अन्तरिम व्यवस्थापिकाको सदस्य समेत रहेका परियारले दलित जातिका मुद्धाहरुलाई संविधानमा नै सुनिश्चित गराउने पहल गरेका थिए ।

शर्मिला त्रिपाठीः

तत्कालीन माओवादी जनयुद्धमा राज्यतर्फबाट मारिएका तत्कालीन माओवादीका नेता ज्ञानेन्द्र त्रिपाठीकी श्रीमती हुन् शर्मिला । माले हुँदै माओवादीको राजनीतिमा लागेकी उनी हाल काठमाडौँ निवासी हुन् ।

गोविन्द कलौनीः डडेल्धुराका कलौनीले लामो समय शिक्षण पेशा अंगालेका थिए । उनी शिक्षण पेशामा रहँदा ‘हेडमास्टर’ समेत बनेका थिए । २०६४ को निर्वाचनमा तत्कालीन एमालेका तर्फबाट उम्मेद्वार बनेका उनी २०४८ को निर्वाचनमा उम्मेदवार बनेर पनि पछि फिर्ता लिएका थिए ।

छुट्यो कर्णाली
सरकारले प्रदेश प्रमुख नियुक्त गर्दा प्राय सबै प्रदेशको प्रतिनिधित्व गर्नेगरी व्यक्ति चयन गरेपनि कर्णाली प्रदेशका व्यक्ति छान्नेमा भने ध्यान दिएको देखिएन ।

‘प्रदेश प्रमुख चयन गर्दा कर्णाली प्रदेशको कोही परेन । यसले गर्दा सरकारले कर्णालीलाई बेवास्ता गरेको देखियो’ नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले भने, ‘कर्णाली प्रदेशको मानिस भएको भए अझ राम्रो देखिन्थ्यो ।’

प्रदेश प्रमुख चयन गरिँदा पूर्व एमालेका भागमा ४ जना परेका छन् भने पूर्व माओवादीको तर्फबाट ३ जना समेटिएका छन् । तर पूर्व एमालेभित्रको माधव नेपाल खेमाले भने कुनै भाग नपाएको बताइएको छ । फणिन्द्र नेपालले राताेपाटी डटकममा याे समाचार लेखेका छन् ।

चर्चामा

सम्बन्धित समाचार