बुधबार, कार्तिक २८, २०८१
  • होमपेज
  • समाज
  • भारतले २४ करोड अनुदानमा बनाइदिएको धर्मशाला तीनतारे होटेल चलाउन ठेक्कामा

भारतले २४ करोड अनुदानमा बनाइदिएको धर्मशाला तीनतारे होटेल चलाउन ठेक्कामा

  • बिहिबार, कार्तिक ७, २०७६
भारतले २४ करोड अनुदानमा बनाइदिएको  धर्मशाला तीनतारे होटेल चलाउन ठेक्कामा
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत वर्ष धर्मशाला प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका थिए एक वर्षको सेरोफेरोमा पशुपति क्षेत्र विकास कोषले धर्मशाला व्यापारीलाई हस्तान्तरण गरेको छ
  • धर्मशालामा सुलभ दरमा तीर्थालु र पर्यटक बस्ने सुविधा थियो, अब महँगो शुल्क तिर्नेले मात्र बस्न पाउनेछन्, होटेल तीनतारेसरहको बन्दै छ 
  • १९ रोपनी क्षेत्रफलको धर्मशालामा तीन सय ८८ कोठा थिए, तर अब सबै भत्काएर जम्मा ८० वटा विलासी कोठा बनाइएको छ । भारत सरकारले २४ करोड अनुदानमा बनाइदिएको धर्मशाला पशुपति क्षेत्र विकास कोषले ठेक्कामा दिएको छ । पशुपति क्षेत्रभित्र रहेको सो धर्मशाला अब तीनतारे होटेलका रूपमा सञ्चालन हुँदै छ । नेपालमा होटेलको अभाव भएर धर्मशाला बनेको होइन । सर्वसाधारण तीर्थालु तथा पर्यटक सुलभ दरमा बस्न पाउन् भनेर धर्मशाला बनेको हो । तर, धर्मशाला नै होटेल बनेपछि महँगो पैसा तिर्न सक्नेले मात्र बस्न पाउने भएका छन् ।

    बिमस्टेक सम्मेलनमा नेपाल आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी ओलीलाई धर्मशाला हस्तान्तरण गरेका थिए । तर, करिब एक वर्षको सेरोफेरोमा पशुपति क्षेत्र विकास कोषले धर्मशाला व्यापारीलाई हस्तान्तरण गरेको छ । पशुपति क्षेत्र विकास कोषले धर्मशाला १५ वर्षका लागि बतास समूहको होटेल आनन्दलाई दिएको छ । कोष र बतास समूहबीच धर्मशाला सञ्चालनको सम्झौता भएको छ ।

    धर्मशालामा सुलभ दरमा तीर्थालु तथा पर्यटक बस्ने सुुविधा थियो, तर अब महँगो तिर्न सक्ने मात्र बस्न पाउने भएका छन् । १९ रोपनी क्षेत्रफलमा बनेको धर्मशालामा तीन सय ८८ कोठा भएकाले एकैपटक धेरै तीर्थालु बस्न पाउने सुविधा थियो, अब होटेलमा जम्मा ८० विलासी कोठा मात्र हुनेछन् । भव्य कोठा बनाउन अहिले साना कोठा धमाधम भत्काउने काम भइरहेको छ ।

    धर्मशाला होटेलमा परिणत भएपछि ‘सुइट’ बनिरहेका छन् । अब त्यस्ता कोठाको शुल्क प्रतिदिन दुई हजार नौ सय रुपैयाँसम्म पर्नेछ । पशुपति गौशाला क्षेत्रमा ‘अट्याच बाथरुम’सहितको कोठा हजार रुपैयाँमा दिने होटेल प्रशस्त छन् । त्यो पनि तिर्न नसक्ने सर्वसाधारणलाई सुविधा दिन धर्मशाला बनाइएको हो । तर, नजिकैका होटेलभन्दा धर्मशालाको बसाइ तीन गुणा बढी हुने भएको छ ।

    प्रत्येक कोठाको दिनको हजार रुपैयाँका दरले सञ्चालन गर्दा पनि तीन सय ८८ कोठाबाट दैनिक तीन लाख ८८ हजार रुपैयाँ उठ्छ । महिनामा १ करोड १६ लाख ४० हजार र वर्षमा १३ करोड ९६ लाख ८० हजार रुपैयाँ उठाउन सकिन्छ । सिजन–अफसिजन मानेर दिनमा आधा मात्र कोठा भरिएको मान्दा पनि वर्षको ६ करोड ९८ लाख रुपैयाँ कोषमा जम्मा हुन्छ । तर, कोषले वार्षिक जम्मा एक करोड पाँच लाख ४१ हजार ६ सय १८ रुपैयाँमा बतास समूहलाई धर्मशाला जिम्मा लगाएको छ । यसरी तीन सय ८८ कोठाको दैनिक भाडाबापत बतासलाई जम्मा ७४ रुपैयाँ ४३ पैसा पर्छ । तर, उसले पर्यटकबाट प्रतिकोठा दैनिक दुई हजार नौ सयसम्म उठाउँदै छ । अझ बनिबनाउ धर्मशालाको अधिकांश भित्री संरचना भत्काइँदै छ ।

    विकास कोषका सूचना अधिकृत प्रेमहरि ढुंगानाका अनुसार यसरी बतास समूहले अबको १५ वर्षसम्म धर्मशाला सञ्चालन गर्न पाउनेछ । भाडा भने प्रतिवर्ष पाँच प्रतिशतका दरले बढ्ने भनिएको छ । ‘सम्झौताअनुसार १० वर्ष उसले विनारोकतोक धर्मशाला चलाउँछ । अर्को पाँच वर्ष भने उसको पर्फर्मेन्सका आधारमा थप हुनेछ ।’

    धर्मशाला सञ्चालनको जिम्मा पाएको होटेल आनन्दका सञ्चालक आनन्दराज बतासले धर्मशालामा तीनतारे होटेलको सुविधा रहने बताए । उनले भने, ‘सुइट रुमदेखि कमन रुमसम्म धर्मशालामा रहनेछन् । लिफ्टको सुविधा हुनेछ । तर, धर्मशालामा रक्सी खान पाइनेछैन । माछा–मासु पनि धर्मशालाभित्र बन्देज हुनेछ ।’

    होटेल व्यवस्थापन तथा पर्यटन तालिम केन्द्रले धर्मशालामा बस्ने तीर्थालुसँग प्रतिरात न्यूनतम तीन सय ५० रुपैयाँदेखि दुई हजार नौ सय रुपैयाँ लिन सिफारिस गरेको छ । त्यही सर्तमा कोषले होटेल आनन्दलाई ठेक्का दिएको हो । तर, होटेलले दररेट बढाउने भएको छ । कोषका सूचना अधिकारी ढुंगानाले भने, ‘धर्मशालामा नयाँ दररेट कति राख्ने विषय टुंगिएको छैन । निर्माण कार्य पूरा भएपछि मात्रै यो विषय टुंगिनेछ । यस विषयमा छलफल हुँदै छ ।’

    धर्मशालाभित्र तीनवटा सुइट रुम रहनेछन् जसको प्रतिदिन शुल्क दुई हजार नौ सय र डबल बेडसहितको कोठालाई प्रतिरात २२ सय रुपैयाँ तोक्ने सिफारिस थियो । १५ सिंगल बेड रुम, ५२ डबल बेड रुम र ६ ट्रिपल बेड रुम रहनेछन् । चार सामूहिक सयन कक्ष (डोर्मेट्री रुम) रहनेछन् ।

    यसरी तीनवटा सुइट रुममा औसत ६ जना, १५ सिंगल बेड रुममा १५ जना, ५२ डलब बेड रुममा एक सय चारजना र ६ ट्रिपल बेड रुममा १८ जना सुत्न सक्नेछन् । त्यस्तै १४ जना सुत्न मिल्ने चार हलमा ५६ जना अट्नेछन् । यसरी धर्मशालामा अब एक सय ९९ जना मात्र सुत्न पाउनेछन् । तर, धर्मशालाका बनिबनाउ तीन सय ८८ कोठामा भने कम्तीमा सात सय ७६ जना सुत्ने सुविधा थियो । यसरी ठेक्कामा दिँदा दैनिक पाँच सय ७७ जना सुविधाबाट वञ्चित हुनेछन् ।

    कोषका सूचना अधिकारी ढुंगाना भने यो ठूलो विषय नभएको बताउ“छन् । ‘धर्मशालाको कोठा घटेको छ । पहिले तीन सय ८८ थियो । अहिले ८० मात्र छ । सुविधा थप्दा कोठा घटेको हो । त्यसैले यो ठूलो विषय होइन,’ उनले भने ।

    विकास कोषको स्वामित्वमा रहेको तिलगंगामा धर्मशाला बनाउन ०५३ मै सुरु गरिएको हो । चर्चित भारतीय धर्मगुरु शंकराचार्य नेपाल आउँदा धर्मशालाको शिलान्यास भएको थियो । तर, निर्माण भने ०७२ को भूकम्पपछि मात्रै सुरु भयो । तीन वर्ष लगाएर तयार भएको धर्मशालामा भारतले २४ करोड रुपैयाँ खर्च गरेको थियो ।

    कोषले होटेल आनन्दलाई तीन महिनाभित्र धर्मशालाको आन्तरिक निर्माणको काम सकेर गत भदौमै सञ्चालनमा ल्याउन भनेको थियो । तर, आनन्दले आगामी मंसिरबाट मात्रै धर्मशाला सञ्चालनमा ल्याउने तयारी गरेको छ । ‘गत भदौमै धर्मशाला सञ्चालनमा ल्याउने सम्झौता हो । तर, इन्टरनल डेकोरेसनको काम सकिएन । आगामी मंसिरबाट सञ्चालनमा आउँछ । यसमा दुविधा नगरौँ,’ उनले भने ।

    पर्यटन तथा संस्कृतिमन्त्री योगेश भट्टराई भन्छन्–लिजमा दिएको भन्ने सुनेको छु, तर प्रक्रिया बुझ्न पाएको छैन 

    भारतले पशुपति क्षेत्रभित्र बनाइदिएको धर्मशाला किन होटेललाई लिजमा दिइएको हो ? 

    खोइ ? बुझेको छैन मैले त ! बुझ्नुपर्छ ।

    तपाईं यो विषयमा जानकार हुनुहुन्न ?

    पहिलै निर्णय भएको होला । म आएपछि त केही भएको छैन ।

    त्यहाँको धर्मशाला कस्तो अवस्थामा छ भन्नेबारे तपाईं जानकार हुनुहुन्छ कि हुनुहुन्न ?

    लिजमा दिएको छ भन्ने कुरा सुनेको हो । तर, कुन प्रक्रियाबाट दिएको हो भन्नेबारे बुझ्नुपर्छ ।

    धर्मशाला होटेललाई लिजमा दिएको छ भनेपछि विकास कोषलाई प्रश्न गर्ने वा पुनर्विचार गर्ने काम गर्नुभएन ? 

    त्यो विषयमा छलफल नै भएको छैन ।

    तपाईं मन्त्री बनेपछि धर्मशालाबारे कोषले ब्रिफिङ गरेन ? 

    त्यहाँका विभिन्न पसल, भवन भाडामा लाग्छ भन्ने त मलाई थाहा थियो, भनिएको पनि थियो ।

    भारतले २४ करोड लागतमा बनाइदिएको धर्मशाला व्यापारीको जिम्मा लगाउनु कति उचित हो, सरकार के गर्छ ?

    त्यसबारे विस्तृतमा बुझ्नुपर्छ । बुझेर भनौँला ।

चर्चामा

सम्बन्धित समाचार