बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • फुटबल
  • राष्ट्रिय फुटबल टोलीलाई सिड्नीमा सम्मान

राष्ट्रिय फुटबल टोलीलाई सिड्नीमा सम्मान

  • मङ्लबार, कार्तिक ५, २०७६
राष्ट्रिय फुटबल टोलीलाई सिड्नीमा सम्मान

बलियो अस्ट्रेलियाविरूद्ध विश्वकप छनोट खेल्ने तयारीका क्रममा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा पदाधिकारीहरूलाई सिड्नीमा सम्मान गरिएको छ।

गैरआवासीय नेपाली संघ(एनआरएनए) र स्थानीय फुटबल संघको सहकार्यमा पाँच दिने विशेष प्रशिक्षण कार्यक्रमका लागि सिड्नीमा रहेको राष्ट्रिय टोलीलाई न्यु साउथवेल्स राज्यका महावाणिज्यदूत दीपक खड्का र एनआरएन अस्ट्रेलियाका अध्यक्ष केशव कँडेल लगायतले सम्मान गरेका हुन्।

आगामी अक्टोबर १० तारिखमा क्यानबेरामा हुने विश्वकप छनोटका तयारीमा रहेको नेपाली टोलीका कप्तान किरण चेम्जोङले अस्ट्रेलियामा रहेको नेपाली समुदायले देखाएको न्यानो मायाले आफूहरू थप उत्साहित भएको बताए।

कप्तान चेम्जोङले भने, ‘केही दिनका लागि भए पनि यहाँको हावापानी तथा वातावरणसँग घुलमिल गर्ने अनि अभ्यस्त हुने मौका पाइयो यसका लागि हामी समस्त सहयोगी हातहरूलाई धन्यवाद दिन चाहन्छौं।’
इन्डोनेसियाबाट सिधै राष्ट्रिय टोलीमा सहभागी हुन आइतबारमात्र सिड्नी आइपुगेका रक्षापंक्तीका सशक्त खेलाडी रोहित चन्दले अस्ट्रेलियाविरूद्धको खेल चुनौतीपूर्ण रहेकोले यसका लागि आफूहरू तयार रहनुपर्ने बताए।

‘प्राविधिक र शारीरिक रूपमा उनीहरू हामी भन्दा सबै किसिममा बलिया छन् तर हाम्रो मनोबल पनि उच्च रहेको छ। त्यसैले पनि नतिजाका बारेमा अहिले नै किटान गर्न सकिन्न’,उनले भने।

विश्वकप छनोट चरणको पहिलो खेलमा कुवेतसँग ७ -० अन्तरले पराजित भएको नेपाली टोलीले दोस्रो खेलमा भने पुनरागमन गर्दै चाइनिज ताइपेइलाई २-० ले पराजित गर्न सफल भएको थियो।
कार्यक्रममा एनआरएन अस्ट्रेलियाका अध्यक्ष केशव कँडेलले राष्ट्रिय फुटबल टोलीलाई अस्ट्रेलिया ल्याउने चाहना विश्वकप छनोट चरणले जुराइदिएकोमा आफूहरू अत्यन्तै हर्षित भएको बताए।

नेपाल र नेपालीको प्रतिष्ठा जोडिएको विश्वकप छनोट चरणका लागि अस्ट्रेलिया आउने नेपाली टोलीसँग एनआरएन जोडिन पाउनु आफैंमा गर्विलो विषय भएको उनले बताए ।
एनएसडब्लु राज्यका महावाणिज्यदूत दीपक खड्काले विश्वकप छनोट चरणमा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नु आफैंमा महत्वको विषय भएको र यसले मुलुक चिनाउने काममा महत्वपूर्ण भूमिका खेलेको बताए।

खड्काले भने, ‘यतिखेर अस्ट्रेलियाका सबै सञ्चार माध्यममा नेपालको फुटबलको चर्चा भइरहेको छ। यो हाम्रो प्रारम्भिक जित हो।
अस्ट्रेलियन नेप्लिज फुटबल संघको पहल र एनआरएनको सक्रियतामा नेपाली टोलीलाई करिब एक साता विशेष प्रशिक्षणको ब्यवस्था गरिएको हो।

नेपाली टोलीले हाल सिड्नीको उत्तरी क्षेत्र नाराविनमा अवस्थित सिड्नी स्र्पोट्स एकेडेमी एन्ड रिक्रेएसन सेन्टरमा प्रशिक्षण गरिरहेको छ।

सो तालिम केन्द्रमा अस्ट्रेलियाकै विभिन्न खेलका राष्ट्रिय टोलीले प्रशिक्षण गर्दै आएको छ।

नेपाली टोलीको लागि यस अभियानमा करिब चालिस हजार डलर भन्दा बढी खर्च हुने बताइएको छ।
एनआरएन अस्ट्रेलियाका महासचिव डा ज्ञानेन्द्र रेग्मीले मुलुक चिनाउने माध्यमका रूपमा रहेको खेलकुद र त्यसमाथि लोकप्रिय खेल फुटबलको राष्ट्रिय टीमसँग एनआरएनएले सहकार्य गर्न पाउनु आफैंमा महत्वपूर्ण संयोग रहेको बताए।

रेग्मीले भने,‘खेलाडीको अनुहारमा सिंगो राष्ट्र प्रतिबिम्वित हुने हुँदा राष्ट्रिय टोलीलाई सम्मान गर्न पाउनु हाम्रो लागि भाग्यको विषय पनि हो।’
विश्वकप फुटबलमा अस्ट्रेलियासँग प्रतिस्पर्धा हुँदै गर्दा वरियताक्रममा भने दुई देशबीच निकै ठूलो खाडल रहेको देखिन्छ। अस्ट्रेलिया विश्व वरियताको सूचीमा ४४ औं स्थानमा रहेको छ भने नेपाल एक सय ६१ औं स्थानमा रहेको छ।
राष्ट्रय फुटबल टोलीलाई अस्ट्रेलिया ल्याउने अभियानका एक अभियन्ता तथा एनआरएन अस्ट्रेलियाका युवा संयोजक इर्शाद अहमदले राष्ट्रिय टोलीको सम्मान अस्ट्रेलियाको नेपाली समाजको लागि गौरवको विषय भएको बताए।

उनले भने , ‘सम्मान हामीले गर्यौ तर यो सम्मानले साढे तीन करोड नेपालीको प्रतिनिधित्व गर्दछ। इर्शादले नेपालीहरूको चाडपर्व बीच पनि यतिखेर विश्वकप छनोट चरणले नेपाली समाजलाई जुरुक्कै उचालेको छ र हामी अक्टोबर १० को प्रतीक्षामा छौं।

कार्यक्रममा एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष देव गुरुङ, सचिव उषा वारिया पोखरेल, कोषाध्यक्ष अनिल पोखरेल ,युवा अभियन्ता थानु शाक्य लगायतले खेलाडीलाई बधाइ ज्ञापन गरेका थिए।

टोलीलाई अस्ट्रेलियामा विशेष प्रशिक्षण अभियानलाई एक्सपर्ट एजुकेशन, एमआइटी, एभरेष्ट ट्राभल,सीड्नी मेट्रोलगायतले सहयोग गरेका थिए।
कार्यक्रममा अस्ट्रेलियन नेप्लिज फुटबल संघका अध्यक्ष विजेन बटाजुले खेलाडी तथा पदाधिकारीको स्वागत गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार