शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • हिरासतमा महराका तीन दिन : न नेता-कार्यकर्ता भेट्न आए, न टीका लाए

हिरासतमा महराका तीन दिन : न नेता-कार्यकर्ता भेट्न आए, न टीका लाए

  • बुधबार, अशोज २२, २०७६
हिरासतमा महराका तीन दिन : न नेता-कार्यकर्ता भेट्न आए, न टीका लाए

काठमाडौं — देशभर उमंगका साथ दसैं मनाइरहँदा महाअष्टमी (आइतबार) साँझ कृष्णबहादुर महरा भने प्रहरी हिरासतमा पुगे ।त्यसो त विभिन्न कसुरमा दैनिक रुपमा थुप्रै आरोपित पक्राउ पर्छन् र प्रहरी हिरासतमा पुर्याइन्छन् । तर, महराको चर्चा भने बढी हुन पुग्यो । कारण– महरा निवर्तमान सभामुख हुन् र बहालवाला सांसद । संसद् सचिवालयकै एक कर्मचारीमाथि यौन दूराचारको आरोप लागेपछि उनले सभामुखबाट राजीनामा दिएका थिए । तर, सभामुखको सरकारी निवास छाडेका थिएनन् ।

आरोप लागेको एक सातापछि आइतबार प्रहरीले उनलाई पक्राउ गरेको हो । दुई दिन अघिमात्र उनीमाथि उजुरी परेको थियो ।

दसैंको भोज चलिरहँदा आइतबार साँझ महरालाई लिन निवासमा पुग्यो प्रहरी । सोही दिन अदालतले महरालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिइसकेको थियो ।

प्रहरीको गाडीमा बस्न अस्वीकार गरेका महरा आफ्नै गाडीमा बसेर सिंहदरबारस्थित प्रहरी वृत्तमा पुगे । तीन दिनदेखि उनी त्यहीँको थुनुवा कक्षमा छन् । अदालतमा दसैं बिदा भएकाले महरालाई २८ गतेमात्रै अदालतमा पेश गरिनेछ । दसैंको दोस्रो दिनमा पक्राउ परेका महराको पूरै दसैं हिरासतमै बित्नेछ ।

महरालाई सिंहदरबार वृत्तको एक छुट्टै कोठामा राखिएको छ । ‘सिनियर अभियुक्त’ पक्राउ पर्दा त्यहीँ राखिँदै आएको छ । प्रहरीका अनुसार महरा उच्च रक्तचापका बिरामी भएकाले कोठामै अक्सिजन राखिएको छ । उनले आवश्यक परेको बेला अक्सिजन लिने र सहज भएको बेला झिक्ने गरेका छन् ।

महरालाई चिकित्सकको टोलीले थुनुवा कक्षमै आएर चेकजाँच गर्छ । उनलाई भेट्नका लागि परिवारका सदस्यबाहेक अरु कोही आएका छैनन् । एक प्रहरी अधिकारीले भने, ‘‘नेकपाका कोही नेता–कार्यकर्ता भेट्न आएका छैनन् । परिवारका सदस्य र आफन्त भने बेलाबेला आउने गरेका छन् ।’’

महराले प्रहरी हिरासतमा रहेको बेला परिवारका सदस्यसँग दसैंको टीकासमेत लगाएनन् । कहिले आफन्तले ल्याइदिएको खानेकुरा खाइरहेका छन् भने कतिपय अवस्थामा प्रहरीकै मेसमा पाकेको खानेकुरा पनि खान्छन् ।

चर्चामा

सम्बन्धित समाचार