बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • अहिलेसम्म ५ सय स्टेज सो गरिसकेको छु : नर्स प्रजापति

अहिलेसम्म ५ सय स्टेज सो गरिसकेको छु : नर्स प्रजापति

  • बिहिबार, अशोज २, २०७६
अहिलेसम्म ५ सय स्टेज सो गरिसकेको छु : नर्स प्रजापति
सरिता प्रजापति

पेसाले नर्स भएपनि सरिता प्रजापति गीत गाउन भनेपछि हुरुक्कै हुन्छिन्। उनलाई नर्स कम गायिका भनेर चिन्नेहरु धेरै छन्। हाल उनी पशुपति होमिप्याथिक अस्पतालमा कार्यरत छिन्।  भर्खरै मात्रै उनले तीजको अवसर पारेर तीज गीत निकालेकी छिन् । स्वास्थ्यखबरको शनिबारिय स्तम्भ जीवनशैलीका लागि उनीसँग बुनु थारुले गरेको संगीत वार्ताः


तपाईंको गायन यात्रा कहिलेदेखि सुरु भएको हो? 
मलाई सानैदेखि गीत गाउन निकै मनपथ्र्यो।  स्कुलका अतिरिक्त क्रियाकलापमा भाग लिने गर्थें। गायन प्रतियोगितामा सधैँ प्रथम हुन्थेँ। नर्सिङ पेसामा लागेपछि करियर बनाउनमै लागेको थिएँ। त्यसैले गर्दा गायन प्रतिको मेरो शोख पुरा गर्न सकिराखेको थिइँन। २०६७ सालमा मेरो पहिलो गीत रेकर्डिङ भयो। ‘ठ्याक्कै मन मिलेको साइत जुरेको’ मेरो पहिलो गीत हो। त्यो पप शैलीको गीत थियो।

भर्खरै तीज गीत निकाल्नु भएको छ? कस्तो प्रतिक्रिया आइरहेको छ? 
म हरेक वर्ष तीजको अवसरमा तीज गीत निकाल्छु। यो पटक ‘तीजमा बबाल नचाउँछु’ भन्ने बोलको गीत बजारमा ल्याएको छु। राम्रो प्रतिक्रिया पाइरहेको छु। अहिलेसम्म ६ वटा तीजको गीत निकालिसकेको छु। त्यसमध्ये चलेको भनेको  ‘बुढाबुढी एक्सप्रेस’ भन्ने गीत हो। अहिले पनि यो गीत उत्तिकै मनपराएका छन्। यो गीतले श्रीमान् श्रीमतीको असल सम्बन्धलाई देखाएको छ।

कतिवटा एल्बम निकालिसक्नु भएको छ?  
मेरो पहिलो एल्बमको नाम ‘सुनिधि’ हो। अरु एल्बम निकालिसकेको छैन। साथीहरुको एल्बमको कलेक्सनमा गाएको छु, सिंगल गीत रेकर्ड गराएको छु। एल्बम चाहिँ अहिलेसम्म त्यही एउटा मात्र निकालेको हो।

कस्तो प्रकारका गीतहरु गाउनुहुन्छ? 
म सबै शैलीको गीतहरु गाउँछु। बढी डान्सिङ नम्बर र पप शैलीका गीतहरु मनपर्छन्। भजन पनि गाएकी छु। प्रबद्धनात्मक गीतहरु पनि गाएको छु। आधुनिक गीत पनि। मलाई स्टेज पर्फमेन्स मनपर्छ त्यसैले अलि डान्सिङ नम्बरमा रुचि हो मेरो।

तपाईंको सबैभन्दा रुचाइएका गीत कुन कुन हुन्? 
‘हेर्दा हेर्दै जवानीले छोएछ’, ‘सम्झनाले जाली रुमाल’, मेरा चलेका गीत हुन्। स्टेजमा पनि मलाई यही गीतको धेरै अफर गरिन्छ।

कतिवटा गीत गाइसक्नुभएको छ? 
अहिलेसम्म सबै प्रकारका गीतहरु जोड्दा ५५ वटा गीत गाइसकेको छु।

गीत गाउने सँगै भिडियोमा नाच्नु पनि हुन्छ? 
मोडलिङ नै गर्ने त रुचि होइन। स्टेज पर्फमेन्समा नाच्दै गीत गाउँछु। केही भिडियोमा आफैँ पनि नाचेको छु।

‘स्टेज सो’मा कत्तिको व्यस्त रहनुहुन्छ ? 
सिजनको बेला एकदमै व्यस्त रहने गरको छु। अहिले साँगीतिक कार्यक्रमको सिजन हो। तीजको बेला म धेरै व्यस्त रहन्छु। अहिले भारतको हिमाञ्चाल प्रदेशको रोहडँु भन्ने ठाउँमा साँगीतिक प्रस्तुतिका लागि जाँदैछु। २०६८ मा कैलालीको पहलमानपुरमा साँगीतिक महोत्सवबाट पहिलो पटक स्टेज सो गरेको थिएँ। अहिले पनि गर्दै आइरहेको छु। अहिलेसम्म ५ सय वटा स्टेज सो गरिसके होला। ७ वर्षदेखि निरन्तर स्टेज पर्फमेन्स गरिरहेकी छु। श्रोता दर्शकले मनपराइरहनु भएको छ।

समय कसरी व्यवस्थापन गर्नुहुन्छ?
समय मिलाइहाल्छु। विदाको समय र ड्युटी अघि पछि भयो भने समय मिलिहाल्छ।

संगीत कक्षा लिनु भएको छ? 
संगीत शिक्षा सानैदेखि लिएको हो। छोड्दै सिक्दै गरेको छु। संगीत सिकेर कहिल्यै सकिँदैन। अहिले पनि सिकिरहेको छु।

तीज गीत

चर्चामा

सम्बन्धित समाचार