शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • भूमिसम्बन्धी विधेयक पारित

भूमिसम्बन्धी विधेयक पारित

  • बुधबार, अशोज १, २०७६
भूमिसम्बन्धी विधेयक पारित

काठमाडौं :  राष्ट्रियसभाको  बैठकले ‘भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयक, २०७६’ लाई बहुमतले पारित गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सदनको आजको बैठकमा विधेयक प्रस्तुत गरेकी थिइन्।

मन्त्री अर्यालले विधेयकमाथिको छलफलमा सांसदले राखेको जिज्ञासाको जवाफ दिँदै भूमिहीनका समस्या र अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउन विधेयक आएको स्पष्ट पारेकी छन्। उनले संविधानको भावनाअनुरूप विधेयक आएको, विधेयक कार्यान्वयनमुखी रहेको, गौचरणलाई विधेयकले संरक्षण गर्ने जानकारी दिइन्।

विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद जितेन्द्रनारायण देवले भूमि व्यवस्थापनका लागि भूमिको हदबन्दी कायम गर्न माग माग गरे। ‘तत्कालीन सामन्ती राजाले ल्याएको भूमि ऐन, २०२१ भन्दा वर्तमान सरकारले ल्याएको भूमिसुधार पश्चगामी रहेको छ’, उनले भने।

अर्का सांसद रामप्रीत पासवानले दलित भूमिहीनको समस्या सम्बोधन गर्न विधेयक मौन रहेको टिप्पणी गरे। उनले लुकाएर राखेका जमीनलाई खोजेर ल्याउने काम नगरेकोमा आपत्ति प्रकट गरे।

सांसद राधेश्याम अधिकारीले जमीनको हदबन्दीसम्बन्धी विधेयकको दफालाई सच्याउन माग गरे। सांसद डा विमला राई पौडेलले लामो समयदेखिको भूमिसम्बन्धीको बेथितिलाई अन्त्य गर्न विधेयकले सहयोग गर्ने विश्वास व्यक्त गरिन्।

सांसद अनिता देवकोटाले हदबन्दी बाहिरका जग्गालाई बिक्री वितरण र सट्टापट्टा गर्ने प्रावधानसहितको विधेयकले भूमाफियालाई चलखेल गर्न प्रेरित गर्ने बताइन्। सांसद परशुराम मेघी गुरुङले विधेयकले मोही र जग्गाधनीको समस्यालाई हल गर्ने तथा अव्यवस्थित बसोबासीको वर्गीकरण गरी व्यवस्थापन गर्ने प्रबन्धसहितको विधेयक न्यायपूर्ण भएको बताए।

विधायन व्यवस्थापन समितिका सभापतिसमेत रहेका सांसद राईले भूमिहीन सुकुम्वासीको समस्या समाधान र अव्यवस्थित बसोबासीलाई वर्गीकरण गरी व्यवस्थापन गर्नेगरी विधेयक आएको बताइन्।

चर्चामा

सम्बन्धित समाचार