मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • समाज
  • आजदेखि नेपाल एयरलाइन्सले पहिलो पटक जापानका लागि सिधा उडान भर्ने ! ९० यात्रु सहभागी हुँदै

आजदेखि नेपाल एयरलाइन्सले पहिलो पटक जापानका लागि सिधा उडान भर्ने ! ९० यात्रु सहभागी हुँदै

  • बिहिबार, भदौ १२, २०७६
आजदेखि नेपाल एयरलाइन्सले पहिलो पटक जापानका लागि सिधा उडान भर्ने ! ९० यात्रु सहभागी हुँदै

नेपाल एयरलाइन्सले पहिलो पटक जापानका लागि सिधा उडान थाल्दैछ । त्रिभुवन विमानस्थलबाट करीव साढे ६ घण्टाको उडानमार्फत ओशाकास्थित कान्साई विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गर्नेछ । निगमका उपमहाप्रबन्धक गणेशबहादुर चन्दका अनुसार राति २०:३० बजे हुने पहिलो उडानमा करिब ९० यात्रु सहभागी हुँदैछन् । यात्रु संख्या बुधबार बेलुकासम्म तय हुनेछ । साथमा २५ जनाको नेपाली टोली पनि जापान जाँदैछ ।

टोलीका नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले गर्ने भएका छन् । पहिलो उडानमा मन्त्रालयका सहसचिव, निगम सञ्चालक समितिका सदस्यहरु र व्यापारिक साझेदारहरुलाई पाहुनाका रुपमा सहभागी गराइनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यरातमा औपचारिक कार्यक्रम गरी टोलीलाई विदाई गरिने उपमहाप्रबन्धक चन्दले जानकारी दिए । जापानबाट नेपाल आउने क्रममा पनि औपचारिक कार्यक्रम गरी पहिलो उडानका यात्रुहरुलाई स्वागत गरिनेछ ।

नेपाल एयरलाइन्सले वाइडबडी जहाज ए ३३०–२०० जहाजले यो रुटमा उडान गर्नेछ । वाइडबडीको यो पहिलो लामो दूरीको उडान हुनेछ, जसमा एकतर्फी उडान समय नै साढे ६ घण्टाको हुने नेपाल एयरलाइन्सले जनाएको छ । नेपाल एयरलाइन्सकै लागि भने ओशाका पुरानै गन्तब्य हो । तर यसअघि सिधा उडान भएको थिएन । काठमाडौंबाट चीनको सांघाईमा ट्रान्जिट उडान गरी जापान जाने गरेको थियो । ३० अक्टोवर १९९४ मा नेपाल एयरलाइन्सले जापानमा पहिलो उडान गरेको थियो ।

जापानको ओशाकामा नेपाल एयरलाइन्सले १२ अप्रिल २००७ सम्म जहाज उडाएको थियो । शुरुमा नेपाल एयरलाइन्सले ‘काठमाडौं–सांघाई–ओशाका’ रुट उडान थाल्दा सांघाईमा ट्रान्जिट गरी जापान जाने यात्रु दुई जना मात्र रहेको निगममा कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए । तर अब काठमाडौंबाट सिधा ओशाका उडान हुनेछ र नेपाल एयरलाइन्सले सातामा मंगलबार, बिहीबार र शनिबार गरी तीन उडान भर्नेछ । निगमका अनुसार सातामा तीन उडान गर्न कुल २५ जना पाइलट खटिनेछन्, त्यसमध्ये १५ पाइलट विदेशी हुन् ।

चर्चामा

सम्बन्धित समाचार