मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • समाज
  • अदालतले रवि लामिछानेसँग माग्यो ५ लाख धरौटी

अदालतले रवि लामिछानेसँग माग्यो ५ लाख धरौटी

रवि लामिछानेले पुडासैनी मृत्युबारे कार्यक्रम चलाउन नपाउने

  • सोमवार, भदौ ९, २०७६
अदालतले रवि लामिछानेसँग माग्यो ५ लाख धरौटी

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जना धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा धरौटी लिएर तीनै जनालाई छाड्न आदेश दिएको हो ।

जिल्ला अदालत चितवनका रजिष्टार रुद्रमणि गिरीले लामिछानेलाई ५ लाख , सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न आदेश दिएको बताए ।

उनले अनलाइनखबरसँग भने, ‘अब उहाँहरुले धरौटी बुझाएपछि थुनामुक्त गरिनेछ ।’ अदालतले धरौटीमा छाड्ने आदेश दिएसँगै तीनै जनाले हिरासत बाहिरै रहेर थप कानूनी प्रक्रियाको सामना गर्नेछन् । लामिछानेसहित ३ अभियुक्तविरुद्ध लागेको आरोप भने अन्तिम फैसला आएपछि मात्रै पटाक्षेप हुनेछ ।

यसअघि जिल्ला प्रहरी कार्यालय, चितवनले १० दिनसम्म अनुसन्धान गरेर आइतबार रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

कार्यालयले अनुसन्धान प्रतिवेदनको अध्ययन सोही दिन सकेर जिल्ला अदालत, चितवनमा आत्महत्या दुत्साहनको मुद्दा दर्ता गराएको थियो ।

तर, नर्स कार्कीको मात्रै बयान सकिएकाले तीनै जनालाई हिरासतमै राखियो । लामिछाने र कडेँलको बयान सोमबार सकिएपछि थुनछेक बहस भएको थियो ।

पत्रकार शालिकराम पुडासैनी लामिछाने प्रस्तोता रहेको ‘सिधा कुरा जनतासँग’का पूर्वसंवाददाता हुन् । हालै न्यूज २४ छाडेर उनी माउन्टेन टेलिभिजमा कार्यरत् थिए । उनी २० साउनमा चितवनको एक होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

आत्महत्या गर्नुपूर्व उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियो बाहिरिएपछि प्रहरीले ३० साउनमा तीनैजनालाई पक्राउ गरेको हो ।

मुलुकी अपराध संहिताको दफा १८५ अनुसार लगाइएको आत्महत्या दुरुत्साहनको कसूर प्रमाणित भए ५० हजारसम्म जरिवाना, ५ वर्षसम्म जेल वा दुवै हुन सक्छ । तर, जिल्लाको फैसला चित्त नबुझे उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म पुनरावेदन दर्ता गराउन सक्ने प्रावधान पनि छ ।

लामिछाने समर्थकले उनी पक्राउ परेदेखि नै प्रदर्शन जारी राखेका थिए । आइतबार उनी छुट्न सक्ने भन्दै पुगेका सयौं समर्थकसँग झडप हुँदै केही घाइते पनि भए । त्यही कारण सोमबार हुनसक्ने सम्भावित चुनौतिलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय, चितवनले निषेधाज्ञा जारी गरेको थियो ।

बिहान ६ बजेबाट अर्को सूचना जारी नभएसम्म हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले ५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन नपाइने पनि निर्देशन जारी गरिएको थियो । निषेधाज्ञा लागू हुने चार किल्ला समेत तोकिएको थियो ।

जसअनुसार, पूर्वतर्फ बाइपास सडकतर्फ आन्तरिक राजश्व कायर्मलयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म, पश्चिमतर्फ लोकमार्गको सप्तगण्डकी अस्पताल चोकदेखि चौबिसकोठी चोकसम्म र उत्तरतर्फ बाइपास सडकको अन्तरिक राजश्व कार्यालय चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेजज जाने चोक, नारायणी मावि, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गको चौबिसकोठी चोकसम्म निषेधाज्ञा जारी गरिएको थियो ।

त्यस्तै, दक्षिणतर्फ बाइवपास सडकतर्फ घरेलु कार्यालयको चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्व पश्चिम लोकमार्गतर्फ सप्तगण्डकी अस्पताल चोकसम्म पनि निषेधित क्षेत्र घोषणा गरिएको थियो ।

सोमबार लामिछाने समर्थकले निषेधित क्षेत्रमा प्रवेश नगरे पनि बाहिर निकालिएको मोटरसाइकल र्‍यालीका क्रममा सार्वजनिक यातायातमा तोडफोड गरेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले अनलाइनखबरलाई बताए ।

उनले भने, ‘तोडफोडमा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा समेत लिएका छौं ।’ लामिछाने समर्थकले केही स्थानमा आगजनी समेत गरेका थिए ।

जिल्ला अदालत चितवनले टेलिभिजन प्रस्तोता रवि लामिछानेसँग ५ लाख रुपैयाँ धरौटी मागेको छ ।

साथै उनलाई लामिछानेको कार्यक्रम ‘जनतासँग सिधा कुरा’मा शालिकराम पुडासैनीको मृत्यु प्रकरणबाट कार्यक्रम सञ्चालन गर्न रोक लगाएको छ ।

चर्चामा

सम्बन्धित समाचार