शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • फिटनेस
  • श्रीमान्-श्रीमतीबीच झगडा हुने कारण

श्रीमान्-श्रीमतीबीच झगडा हुने कारण

  • बिहिबार, भदौ ५, २०७६
श्रीमान्-श्रीमतीबीच झगडा हुने कारण

भनिन्छ, श्रीमान्-श्रीमतीको झगडा परालको आगो । जति छिट्टो परालमा आगो लाग्छ, त्यति नै छिट्टो निभ्छ पनि । त्यस्तै श्रीमान्-श्रीमतीको झगडा पनि छिट्टो हुन्छ र मेलमिलाप पनि छिटो नै हुन्छ । यो सम्बन्ध नै त्यस्तै हो, स-साना झगडाका कारण माया-प्रेम झन्-झन् बढ्ने । दाम्पत्य जीवनमा स-साना झगडा भएन भने त्यो दामपत्य जीवन नै निरश हुन्छ । त्यसैले दामपत्य जीवनलाई रोचक बनाउनका लागि स-साना झगडा हुनु आवश्यक हुन्छ ।

तर कहिलेकाहीँ तपाईंको झगडाले विकट रुप लियो भने त्यसले माया बढाउनुभन्दा सम्बन्धको नै अन्त्य हुन बेर लाग्दैन । त्यसैले आज हामी दाम्पत्य जीवनमा के-के कारणले झगडा पर्न सक्छ भनेर चर्चा गर्छौं ।

रोमान्स नहुनु

श्रीमान्-श्रीमती जब आमाबुबा बन्छन्, उनीहरुमा पहिलाजस्तो रोमान्स नहुनु स्वाभाविक नै हो । उनीहरुको प्रायः समय आफ्नो बच्चाको लालन-पालन र घर व्यवहार चलाउनमा नै बित्छ । जसका कारण श्रीमान्-श्रीमतीलाई एकअर्काको लागि समयमा कमी आउँछ । यसले श्रीमान्-श्रीमतीबीच मनमुटाव शुरु हुन्छ र झगडा पर्न थाल्छ ।

साथीहरुसँग व्यस्त रहनु

अफिस छुट्टी भएपछि साथीभाइसँग रमाइलो गर्नु त राम्रो कुरा हो । तर आफ्नी श्रीमतीलाई समय नदिनु अति नै गलत कुरा हो । श्रीमतीको भावना बुझ्नु, उनको खुशी केमा छ भनेर ध्यान नराख्ने हुँदा श्रीमतीको मन दुख्नु स्वाभाविक नै हो । आफ्नो परिवारको लागि रमाइलो समय निकाल्न नसक्नु पनि झगडाको प्रमुख कारण हुन्छ ।

भिजेको टाबेल र गन्हाउने मोजा

श्रीमतीले घरको सरसफाइमा धेरै नै ध्यान दिने गर्छिन् । उनले आफ्ना श्रीमान्बाट पनि सरसफाइको आशा राख्छिन् । आफ्ना श्रीमानले आफ्ना सामानहरु सही स्थानमा राख्ने र घरलाई सफा बनाउन सहयोग गरुन् भन्ने श्रीमतीको अपेक्षा हुन्छ । तर तपाईंको काम र व्यवहार श्रीमतीको अपेक्षाअनुसार भएन भने मनमुटाव सुरु हुन्छ । एक जना सफा गर्ने र अर्कोले सफाइमा ध्यान नदिने कुराले श्रीमान्-श्रीमती बीच झगडा शुरु हुन्छ ।

सधैं एकै प्रकारको खाना

हरेक व्यक्तिलाई एकै प्रकारको खाना खान मन लाग्दैन । हरेक दिन भिन्दाभिन्दै किसिमको खानाले स्वाद फेरिने भएकाले सबैलाई फरक किसिमको खाना मन पर्छ । अझ हरेक पुरुष फरक प्रकारको खाना होस् भन्ने चाहान्छन् । तर, सधैं फरक खाना के बनाउने भन्ने महिलाको समस्या हुन्छ । जसका कारण खानामा धेरै परिवर्तन हुँदैन र पुरुषलाई एकै प्रकारको खाना देख्दा दिक्क लाग्छ र जसका कारण झगडा शुरु हुन्छ ।

छुट्टी नलिनु

श्रीमानले अफिसबाट छुट्टी नलिएकोमा प्रायः श्रीमतीहरुको गुनासो हुन्छ । जुन समयमा पनि काम-काम भनिरहँदा श्रीमतीलाई श्रीमानले आफूलाई समय नदिएको अनुभव हुन्छ । यो सानो कारणले गर्दा श्रीमान्-श्रीमतीबीच झगडा पर्न थाल्छ ।

सरप्राइज दिन बन्द गर्नु

श्रीमान्-श्रीमतीले एक-अर्कालाई विवाह भएको केही समयसम्म सरप्राइज दिन्छन् । तर समय बित्दै जाँदा सरप्राइज दिन बन्द हुन्छ । जसका कारण तपाईंको पार्टनरलाई तपाइर्ं परिवर्तन भएको अनुभव हुन्छ । पहिला जस्तो आफूलाई माया नगरेको सोच्न थाल्छन्, जसका कारण झगडा पर्न शुरु हुन्छ ।

चर्चामा

सम्बन्धित समाचार