• होमपेज
  • राजनीति
  • वडाध्यक्षले बेचे १३ रोपनी वन

वडाध्यक्षले बेचे १३ रोपनी वन

  • आइतवार, साउन २६, २०७६
वडाध्यक्षले बेचे १३ रोपनी वन

काभ्रेपलाञ्चोक : धुलिखेलमा वन क्षेत्रको १३ रोपनी जग्गालाई व्यक्तिगत बनाएर बिक्री गरेको पाइएको छ। धुलिखेल–१० मा पर्ने साविक सारदाबतासे गाविसको सेतीमाटी सापकोटा पाखा वनको ११ रोपनी वन क्षेत्रको जग्गा तत्कालीन वडाध्यक्ष बलराम पराजुलीले आफ्नो बनाई बेचेका हुन्। खरिद गर्ने समूहले छुट दर्ता गरी थप २ रोपनी सार्वजनिक जग्गा आफ्नो नाममा दर्ता गरेको समाचार कान्तिपुर दैनिकमा छ। २०३२ सालमा आफ्नो नाममा नापी गराएको कित्ता नम्बर १४ को ९ रोपनी ८ आना र १५ नम्बर कित्ता वनको ११ रोपनी २ पैसा जग्गा गरी २० रोपनी ८ आना जग्गा पराजुलीले बैंकमा धितो राखेर कर्जा लिएका थिए। लिलाम हुने स्थिति भएपछि पराजुलीले २०७५ भदौ १४ गते सिन्धुली, पुरानो झाँगाझोली–९ का बबिता खत्री, भोजपुर च्याग्रे–६ का झुमादेवी, साविक काभ्रे नित्यचण्डेश्वरी–२ का विदुरबहादुर बस्नेत र शारदाबतासे–३ का रवीन्द्र अधिकारीका नाममा सगोलमा पास गरिदिएका थिए। लालपुर्जामा २० रोपनी ८ आना १ पैसा २ दाम क्षेत्रफल भए पनि मालपोत कार्यालयमा छुट दर्ता निवेदन दिएर २ रोपनी सार्वजनिक जग्गा पनि उनले दर्ता गरिदिएका थिए । वडामा निवेदनसमेत नदिई विभागको स्वीकृतिबिनै छुट जग्गा दर्ता गराएर जग्गालाई २२ रोपनी कायम गरिएको हो। कित्ता नं १५ मा पर्ने वन क्षेत्रमा पाटारपाटा बनाई खेती गरेको भन्दै इन्द्रबहादुर भुजेललाई तत्कालीन बनेपा इलाका वन कार्यालयले २०४१ पुस ५ गते हाजिर हुन आउन पत्र काटेको थियो। तत्कालीन शारदाबतासे गाउँ पञ्चायत–३ हाल वडा नम्बर ५ बस्ने उनीविरुद्ध २०४२ साउन २ गते सोही कसुरमा अदालतमा मुद्दासमेत दर्ता भएको थियो । त्यस मुद्दामा तत्कालीन प्रधानपञ्च पदमध्वज थापा क्षत्रीसमेतले सर्जमिन गरी उक्त जमिन वन क्षेत्रभित्र पर्छ भनी मुचुल्का गरिदिएका थिए।

चर्चामा

सम्बन्धित समाचार