• होमपेज
  • समाज
  • उपत्यकामा सुन लुटेर भाग्ने गिरोह प्रहरीको फन्दामा

उपत्यकामा सुन लुटेर भाग्ने गिरोह प्रहरीको फन्दामा

  • आइतवार, साउन २६, २०७६
उपत्यकामा सुन लुटेर भाग्ने गिरोह प्रहरीको फन्दामा
सुन चाेर

काठमाडौं । विगत केही समयदेखि काठमाडौंका विभिन्न स्थानमा मोटरसाइकलमा सवार व्यक्तिहरूले पैदल हिँडिरहेका महिलाहरूले घाँटीमा लगाएका सुनका सिक्री तानेर लुटपाट गर्ने गिरोह पक्राउ परेको छ । शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले घटनमा संलग्न फरार रहेका ३ जनालाई काठमाडौं बसुन्धरा तथा ललितपुरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका–२ का ३९ वर्षीय टमबहादुर सुनुवार, ललितपुर महानगरपालिका भैंसेपाटी बस्ने रामेछापका २४ वर्षीय टलकबहादुर रायमाझी र ललितपुर बालकुमारीस्थित सुन पसलमा काम गर्ने भारत पश्चिम बंगाल घर भएका ३५ वर्षीय देवासिस दोलही रहेका छन् ।

उनीहरुको साथबाट लुटिएका सिक्रीको बिक्रीबाट आएको २ लाख ५० हजार ५ सय रुपैयाँ, लुटपाटमा प्रयोग भएको बा.२९ प ७२७६ नम्बरको मोटरसाइकल पनि बरामद भएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

यस्तै सुनजस्तो देखिने सिक्री १ थान, सुन जोख्न प्रयोग गरिने तौल मेसिन १ वटा, मोबाइल ५ वटा र लुटपाटमा प्रयोग गरिने कपडा तथा हेलमेटहरू समेत अभियुक्त टमबहादुरको कोठाबाट बरामद भएको उनले बताए ।

उनीहरूले १० जना भन्दा बढी महिलाहरूले घाँटीमा लगाएका सुनका सिक्रीहरू विभिन्न मितिमा लुटी बिक्री गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

पक्राउ परेकामध्ये टमबहादुर र टलकबहादुर विगतमा पनि यस्तै घटनामा ३ वर्ष जेल सजाय भुक्तान गरिसकेको अनुसन्धानबाट खुल्न आएको प्रवक्ता बोगटीले जानकारी दिए ।

साथै लुटपाट घटनामा संलग्न हुनसक्ने अन्य व्यक्ति तथा घटनाका सम्बन्धमा उक्त परिसरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार