• होमपेज
  • समाज
  • जंगली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु

जंगली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु

  • मङ्लबार, साउन १४, २०७६
जंगली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु

जंगली च्याउ खाँदा रोल्पा जिल्लामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। लुङग्री गाउँपालिका वडा नं. ६ पाटेगुम्चाल निवासी २५ वर्षीया फुर्मली बुढाथोकी, उनकी सात वर्षीया छोरी सुनिता बुढाथोकी र तीन वर्षीय छोरा पुस्कर बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ।

५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका अनुसार साउन ८ गते उनीहरूले जंगलमा प्राकृतिक रुपमा जागेको च्याउ ल्याएर खाएका थिए। त्यसपछि गम्भीर बिरामी परेका उनीहरू तिनै जनालाई उपचारको लागि रोल्पा, दाङ हुँदै बुटवल र भैरहवासम्म पुर्‍याइएको थियो।

गम्भीर बिरामीमध्ये पुस्करको साउन ११ गते, छोरी सुनिताको १२ गते र आमा फुर्मलीको साउन १३ (सोमबार बिहान) साढे ९ बजे मृत्यु भएको प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ।

पुस्करको प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएपछि साउन १२ गते रोल्पास्थित घरमा ल्याएर दाहसंस्कार गरिएको थियो। पुस्करको अन्तिम संस्कार सक्दा नसक्दै उनकी दिदी सुनिताको पनि मृत्यु भएको थियो। त्यसैगरी, सोमबार बिहान मेडिकल कलेज भैरहवामा आमा फुर्मलीको पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। एकै घरमा आमा, छोरा र छोरीको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ ।

चर्चामा

सम्बन्धित समाचार