
बाजुरा—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला समिति बाजुराले ९ वटै पालिकामा संयोजक तोकेको छ । शुक्रवार सदरमुकाम मार्तडीमा पार्टी कार्यालय स्थापना तथा प्रथम विस्तारित बैठकले गरेका निर्णयहरु पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा रास्वपा जिल्ला समिति सभापति नवराज जैशीले बैठकले गरेका निर्णय सुनाउँदै जिल्लाका ९ वटै पालिका संयोजक तोकिएको बताए । जसमा स्वामीकार्तिक खापरमा दान बहादुर शाही, जगन्नाथमा छत्र बहादुर विष्ट, हिमालीमा सागर टमट्टा, गौमुलमा गोपाल बोहरा, खप्तड छेडेदहमा कृष्ण बहादुर रावतलाई संयोजक तोकिएको छ । त्यस्तै बडीमािलकामा रोशन श्रेष्ठ, बुढीगंगामा संजय थापा, त्रिवेणीमा कृष्ण बहादुर विष्ट र बुढीनन्दामा गौरीलाल विष्टलाई पालिका संयोजक तोकिएको जिल्ला सभापति जैशीले बताए । उनले पुस मसान्तभित्रै हाल तोकिएका संयोजकहरुको संयोजकत्वमा नै पालिका समिति गठन गर्ने र माघमा पालिका तथा वडा अधिवेशन गर्ने जानकारी दिए ।
त्यस्तै पार्टी जिल्ला समितिको प्रथम विस्तारित बैठकको निर्णय बमोजिम सदरमुकाम मार्तडीमा पार्टी कार्यालय स्थापना तथा प्रदेश निर्वाचन क्षेत्र क को पिलुचौर र ख को फालासैनमा सम्पर्क कार्यालय रहने बताए ।
त्यसैगरी, पार्टीको बैठकले आगामी निर्वाचनका लागि प्रत्यक्षमा राजबहादुर गिरी र समानुपातिक तर्फ जिल्ला पार्टी सभापति नवराज जैशी र चेतना विष्टलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
