शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • क्रिकेट
  • कप्तान पारसको उत्कृष्ट ब्याटिङ नेपालले कुवेतलाई हरायो

कप्तान पारसको उत्कृष्ट ब्याटिङ नेपालले कुवेतलाई हरायो

  • शनिबार, साउन ११, २०७६
कप्तान पारसको उत्कृष्ट ब्याटिङ नेपालले कुवेतलाई हरायो

आइसिसी टी-२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको छ।

जितसँगै नेपाल विश्व छनोट नजिक पुगेको छ भने कुवेत बाहिरिएको छ। यसअघि कतार र मलेसिया पनि प्रतियोगिताबाट बाहिरिएका थिए।

अब नेपालले आइतबार आयोजक सिंगापुरसँग खेल्दैछ। सो खेल प्रतियोगिताको फाइनल बराबर हुने भएको छ। जित हात पार्ने टिम च्याम्पियन बन्दै विश्व छनोटमा पुग्नेछ।

अंक तालिकामा शीर्ष स्थानको सिंगापुरको ३ खेलबाट ५ अंक छ भने नेपालको ३ खेलबाट ४ अंक छ।

शनिबार कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले १५.‍५ ओभरमा ३ विकेटको क्षतिमा पार गर्‍यो।

नेपालको जितमा कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गरे। ओपनिङमा आएका पारसले ६८ रन जोडे। यसअघि मलेसियाविरुद्धको खेल चोटका कारण गुमाएका पारस उत्कष्ट लयमा देखिएका थिए। उनले ४२ बलमा ११ चौका र १ छक्का हिर्काए।

त्यसअघि पारसका ओपनिङ  पार्टनर ज्ञानेन्द्र मल्लले १३ बलमा २ चौका र १ छक्काको मद्दतमा १९ रन बटुले। दीपेन्द्रसिंह ऐरी भने १ रनमै आउट भएका थिए।

शरद भेषवाकरले नटआउट ३८ रन जोडे भने रोहितकुमार पौडेलले नटआउट ६ रन जोडे। शरदले ३० बलमा ४ चौका र १ छक्का हिर्काए।

बलिङमा कुवेतका मोहमद कासिफले ३ विकेट लिए।

त्यसअघि सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेटको क्षतिमा १४१ रन जोड्यो।

कुवेतका लागि कप्तान मोहमद कासिफले सबैभन्दा बढी नटआउट ४९ रन जोड। अन्तिम २ ओभरमा आक्रामक रुपमा प्रस्तुत भएका उनले ३६ बलमा २ चौका र ४ छक्का प्रहार गरे।अडनास एड्रिसले २५ रन जोड्दा मोहमद अस्लामले २३ रनको योगदान दिए।

बलिङमा नेपालका स्पिनरद्वय सन्दीप लामिछाने र बसन्त रेग्मीले ३-३ विकेट लिए। सन्दीपले ४ ओभरमा २१ रन र बसन्तले २० रन दिए। करण केसी २ विकेट र अभिनास बोहराले १ विकेट हात पारे।

चर्चामा

सम्बन्धित समाचार