आँखा अघिल्तर दुर्घटना हुन्छ । दुर्घटनाग्रस्त मान्छे छटपटाउँछ, चिच्याउँछ, सहयोगको याचना गर्छ । तर, यस्तो अवस्थामा सहयोगको हात बढाउनेहरु कति हुन्छन् ?
भर्खरै मात्र बाढी-पहिरोले धेरै जनधनको क्षति पुर्यायो । सामाजिक सञ्जालभरी पानीमा पीडा भोग्नेहरुको दृश्य देखिन्छ । एक किसानको भैंसी बगाइरहेको छ । ति बृद्ध किसान त्यत्तीका भेलमा पसेर भैंसी जोगाउने प्रयत्नमा छन् । कोही रमिते बनेर उक्त भिडियो आफ्नो मोवाइलमा कैद गरिहेका छन् ।
वाढीकै कारण एक ठाउँमा सागसब्जी बगाएको देखिन्छ । एकाध व्यापारी भेलमा बगेको सागसब्जी निकाल्ने प्रयासमा छन् । कसैको लागि यो दृश्य रोचक लाग्छ र भिडियोमा कैद गर्छ ।
यसैगरी वाढीपहिरोले विपत्ति निम्त्याइरहँदा कोही मृत्युसँग लडिरहेका छन् भने कोही त्यसलाई भिडियोमा कैद गरिहेका छन् ।
यस्तो विपतमा तपाईं भिडियो खिचेर बस्नुहुन्छ कि सहयोगको हात बढाउनुहुन्छ ?
हुनसक्छ, सहयोग गर्ने अवस्था नहोला । तपाईंको सामथ्र्यले सहयोग गर्न नभ्याउँला । यद्यपी केही न केही हिसाबले सान्तवना मिल्ने काम त गर्न सकिन्छ । अर्काको पीडालाई भिडियोमा खिचेर दुनियाभर फिजाउँदा हामीलाई के लाभ मिल्छ ?
के हामी चर्चित हुन्छौं ? हामीलाई पैसा आर्जन हुन्छ ? हामी बहादुर कहलिन्छौं ? जवाफ खोज्नुपर्छ ।
अहिले कुनै ठाउँमा दुर्घटना भयो भने त्यहाँ सेल्फी खिच्नेहरुको भिड लाग्छ । कोही छटपटाइरहेका हुन्छन्, मृत्युसँग जुधिरहेका हुन्छन्, असह्य पीडाले चिच्याइरहेका हुन्छन् । तर, उनको पीडालाई बेवास्ता गर्दै मान्छेहरु सेल्फी खिच्न हतारिन्छन् ।
केही महिनाअघि काठमाडौंको एक घरमा आगलागी भयो । आगलागी लगत्तै त्यहाँ भिडियो खिच्नेको ताँती लाग्यो । उक्त ताँतीलाई पन्छाएर अगाडि बढ्न वरुण यन्त्र (दमकल)लाई हम्मे परेको थियो ।
अहिले मान्छेलाई अरुको विपत्ती रमिता लाग्न थालेको । कोही आपत-विपत्तिमा परेका छन् भने त्यहाँ ठूलो भिड जम्मा हुन्छ । त्यतिका भिडमा एकाध मात्र यस्ता हुन्छन्, जो सहयोगका भावनाले पुगको हुन्छन् । बाँकी भिडियो वा सेल्फी खिच्न थाल्छन् । उनीहरुलाई त्यस्तो दर्दानक, पीडादायी वा कारुणिक दृश्य/भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने हतारो हुन्छ ।
यस किसिमको प्रवृत्तिले देखाउँछ, हामीले मानविय संवेदना गुमाउँदै गएका छौं । हामीलाई अरुको चोटले दुख्न छाडेको छ । हामीलाई अरुको पीडाले दुख्न छाडेको छ । हामीलाई अरुको विपत्तिले अत्याउन छाडेको छ । अरुको पीडा हाम्रो लागि रमिता भएको छ । हामी रमिते बन्दैछौं । सामाजिक सञ्जालको गलत प्रयोगले यस्तो प्रवृत्तिलाई अरु मलजल गरिरहेको छ ।
एक दरिद्र मान्छे सडकमा बिलौना गरिरहेका छन् । उनलाई खानपिन गराउनका साटो मान्छेहरु भिडियो खिच्न तयार हुन्छन् । टोलमा लोग्ने-स्वास्नीको झगडा पर्छ । मान्छेहरुलाई झगडा छुट्याउन भन्दा भिडियो खिच्न हतारो हुन्छ । कोही सडक दुर्घटनामा परेर छटपटाउन थाल्छन् । मान्छेहरु उनको उद्वार गर्न छाडेर त्यो छटपटीको भिडियो खिच्न थाल्छन् ।
यसरी कैद गरिएको भिडियो, फोटो सामाजिक सञ्जालमा राख्छन् । मान्छेहरु अहिले कस्तो मनोविज्ञानबाट ग्रसित हुँदैछन् । अरुको पीडा, गरिबी, दुःख, दरिद्रता, वाध्यतालाई सार्वजनिक गरेर मान्छेहरु कस्तो खुसी खोजिरहेका छन् ? कस्तो ख्याती खोजिरहेका छन् ?
हाम्रो जीवन एकनास रहँदैन । भोलि हामीलाई पनि आपत विपत आइलाग्छ । यस्तो बेला तपाईं भेलमा बग्दै गरेको भिडियो कसैले फेसबुकमा राखिदियो भने ? तपाईंको घर आगोले दनदनी जल्दै गरेको फेसबुकमा राखिदियो भने ? तपाईं चोटग्रस्त अवस्थामा छटपटाइरहेको दृश्य फेसबुकमा राखिदियो भने ?
सोचौं, अरुलाई पर्ने विपत्ति हामीलाई पनि पर्न सक्छ । अरुको फोटो, भिडियो जसरी हामी सामाजिक सञ्जालमा राखिदिन्छौं, अरुले हाम्रो पनि राखिदिन सक्छ ।
मानविय मूल्य र मान्यतालाई भुलेर अर्काको पीडाको सौदाबाजी कहिलेसम्म गरौंला ?