प्रेम रौले
बाजुरा २३,असार
बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले खेल क्षेत्रको प्रवद्र्धन र विकास गर्न खेलकुदलाई संस्थागत गर्न आवश्यक रहेको बताएका छन् ।
सुदूरपश्चिम प्रदेश सामाजिक मन्त्रलायको आयोजना र शिक्षा विकास तथा समन्वय इकाई बाजुराको सहकार्यमा संचालन भएको दुई दिने विद्यालय तहको खेलकुद प्रशिक्षण तालिमको समापन कार्यक्रममा हरेक रुपले व्यवस्था बदलिएपनि सोच नबदलिए खेलकुद र अन्य क्षेत्रको विकास सम्भव नहुने बताए ।
उनले खेलकुद क्षेत्रको विकास गर्नका लागि विद्यालयमा आवश्यक खेलकुदका सामग्री पर्याप्त नभएर नै खेल क्षेत्रको विकास हुन नसकेको जिकिर गरे । जिल्लाका प्रत्येक विद्यालयमा खेल प्रशिक्षक राख्न जरुरी रहेको नगर प्रमुख बडुवालको भनाई रहेको छ ।
खेलकुद क्षेत्रलाई अघि बढाउनका लागि प्रत्येक स्थानीय तहका विद्यालयहरुले खेलकुद कोष स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । खेलकुदसंगै शैक्षिक अभियान चलाउनुपर्ने उनको धारणा रहेको छ ।
शिक्षा विकास तथा समन्वय इकाई बाजुराका प्रमुख गोपालदत्त जोशीले प्रत्येक विद्यालयमा स्थानीय तहले खेल शिक्षक राख्ने गरी प्रावधान ल्याउनुपर्ने बताएका छन् ।
तालिममा सहभागी खेलकुद शिक्षक रामबहादुर रावतले खेलकुद प्रशिक्षण तालिम छोटो समयावधी भएकाले प्रयोगात्मक कम सिक्न पाएपनि आगामी दिनमा खेल क्षेत्रलाई सुधार गर्दै लैजाने बताएका छन् ।
खेल प्रशिक्षक उत्तमराज जोशी र जीवन रोकायाले सहजीकरण गरेको तालिममा ५० बढी खेल प्रशिक्षकको सहभागिता रहेको थियो ।
शिक्षा विकास तथा समन्वय इकाई बाजुराका प्रमुख गोपालदत्त जोशीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथी बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल रहेका थिए । उक्त कार्यक्रमको प्रशिक्षक उत्तमराज जोशीले संचालन गरेका थिए ।