एउटा ढुंगालाई हेर्नुहोस् । तपाईंको आँखाले त्यसलाई फगत ढुंगा देख्छ । तर, एक कालिगढले त्यो ढुंगामा सुन्दर आकृति देख्छ । हुनपनि हरेक ढुंगामा सुन्दर आकृति हुन्छ । कालिगढले छिनो र हतौडाले जब उक्त ढुंगाको अनावश्यक भागहरु टुक्र्याउँदै हटाउँछन्, तब सुन्दर आकृति बाँकी रहन्छ ।
ठिक यसैगरी एउटा खुला क्यानभासमा चित्ताकर्षक चित्र हुन्छ । कुनैपनि चित्रकारले नै खुला क्यानभासमा चित्र देख्न सक्छन् । जब उनले कुची र रंगहरुले क्यानभासमा पोत्न थाल्छन्, तब त्यहाँ आकर्षक चित्र तयार हुन्छ ।
उखेलेर मिल्काइएको रुखको जीर्ण जरामा एउटा शिल्पकारले अद्भूत सौन्दर्य देख्छ । उनले त्यसमा रहेका अनावश्यक गाँठो र भागलाई ताछेर लोभलाग्दो हस्तकला तयार गर्छन् ।
सृष्टिका सबै सुन्दर
प्रकृतिका हरेक कुरा आफैमा सुन्दर छन् । आफैमा रहरलाग्दा छन् । तर, हामी त्यसलाई कुरुप, जीर्ण, फिका देखिरहेका हुन्छौ । यो ति बस्तुको दोष होइन, हाम्रो दृष्टिदोष हो । हाम्रो हेराई र बुझाईको दोष हो । यस्तो दोष हामीमा हुन्छ, जसले गर्दा अरु मान्छे हामीलाई गुणी, सुन्दर नलाग्न सक्छ ।
एउटा पत्थर फगत पत्थर रहेनछ । त्यसका अनावश्यक भागहरुलाई हटाउने हो भने त्यसमा सुन्दर आकृति रहेछ । ठिक यसैगरी तपाईं आफ्नो सामुन्नेको मान्छेलाई हेर्नुहोस् । उनको कमी, कमजोरी, बाध्यता आदिलाई तपाईं हटाइदिनुहोस् । उनीसँगको रिस, राग, इष्र्या, दम्भ पनि हटाइदिनुहोस् । यी सबै हटाइसकेपछि ति व्यक्ति तपाईंलाई सुन्दर लाग्नेछ । मित्रवत लाग्नेछ । प्रेमिल लाग्नेछ ।
मान्छेलाई ढाकछोप गर्ने विकार
हरेक मान्छे आफैमा खराब र कुरुप हुँदैनन् । सबै मान्छेभित्र गुण हुन्छ, क्षमता हुन्छ, कौशल हुन्छ, स्नेह हुन्छ, मर्यादा हुन्छ, मैत्रिय भाव हुन्छ । तर, ति कुरालाई उनको खराब तत्वहरुले ढाकछोप गरेको हुन्छ । उनको रिस, दम्भ, लोभ जस्ता तत्वले ढाकछोप गरेको हुन्छ । कालिगढले छिनो र मार्तोल लिएर जसरी पत्थरका अनावश्यक भागहरु टुक्रयाउँदै जान्छ, त्यसैगरी हामीले ति व्यक्तिको खराब कुराहरु हटाउँदै जान्छौ, तब उनीभित्र एउटा सुन्दर मानव फेला पर्नेछ ।
हामी किन अरुलाई खराब देख्छौ ? किन अरुलाई होच्याएर हामी खुसी हुन्छौ ? किन अरु कमजोर भएको हामीलाई रुचीकर लाग्छ ?
किनभने हामीलाई पनि त्यस्तै कुरुप दोषहरुले ढाकछोप गरेको छ । त्यसैले आफु वरीपरी बाँचिरहेका कतिपय मान्छे हामीलाई वाहियत लाग्छ । खराब लाग्छ । बेकारको लाग्छ ।
जबकी हरेक मान्छे आफैमा एक संभावना हो । हरेकसँग केही खुबी, गुण हुन्छ । मान्छेभित्र के छ ? उनको सौन्दर्य के हो ? हामीले बुझ्नुपर्छ ।
हामी प्राय मान्छेको अवगुण खोतल्ने गर्छौ । मान्छेको कुरुप पाटो हेर्ने गर्छौ । मान्छेको कमी-कमजोरी औल्याउने गर्छौ । त्यही कारण हामी आफु अनुकुलका मान्छे अत्यान्तै थोरै मात्र फेला पारिरहेका हुन्छौ । आफुले खोजेजस्तो मान्छे भेटिरहेका हुँदैनौ । यसो हुनुमा हामीभित्रकै विकार, दोष बढी जिम्मेवार छ ।
हामी कसैको सकारात्मक पाटो, खुवी, गुण आदिबारे त्यती रुची राख्दैनौ । उनीभित्र के कस्ता गुण, सीप, क्षमता छ भनेर हेर्दैनौं । यसको अर्थ हामीमा दृष्टिदोष छ । हाम्रो आँखामा समस्या छ । हाम्रो हेराईमा समस्या छ ।
जब हामी आफै कमजोर ठाउँमा उभिन्छौं, तब अरुको शक्ति, क्षमता बुझ्न सक्दैनौ । तपाईं दुर्गन्धित हावामा बसिरहनुभएको छ भने तपाईंले देख्ने सबैतिर त्यस्तै दुर्गन्ध होला भन्ने अनुमान गर्नुहुन्छ । अर्थात हामी आफै गलत छौ, हामी आफै खराब छौ भने अरुलाई हामीले स्पष्ट, तटस्थ देख्न सक्दैनौ ।
त्यसैले अरुलाई खराब भनेर औल्याउनुअघि हामी कहाँ उभिएका छौ ? भनेर एकपटक आफैलाई नियाल्नुपर्छ ।
दोष होइन गुण हेरौं
सबै मान्छे सग्लो, सफा, गुणै गुणले भरिपूर्ण हुन्छ भन्ने होइन । मान्छेमा अवगुण हुन्छ । मान्छेमा कमी कमजोरी हुन्छ । त्यसो भन्दैमा उनीहरु सम्पूर्ण रुपले खराब हुन् भन्न त्यती न्यायसंगत हुँदैन ।
खासमा भन्ने हो भने हाम्रो हेराई नै खराब छ । हामी कसैलाई हेर्दा आफ्नो धारणा अनुसार हेर्ने गर्छौ । यस्तो धारणा हाम्रो वर्ग, जात, सम्प्रादय, भूगोल, धर्म, पार्टीबाट पनि निर्माण हुन्छ । मैले पार्टीको चस्मा लगाएर कुनै व्यक्तिलाई हेर्छु । धर्मको चस्मा लगाएर हेर्छु । जातिको चस्मा लगाएर हेर्छु । वर्गको चस्मा लगाएर हेर्छु । त्यही चस्माले हामीलाई झुटो देखाइदिन्छ । त्यही झुटलाई पत्याएर हामी आफु चाहि पक्षपाती जीवन विताउँछौ ।
कुनैपनि मान्छे कस्तो छ भन्ने कुरा तपाईंले उनलाई कसरी, कहाँबाट हेर्नुभएको छ भन्ने कुराले पनि निर्धारण गर्छ । तपाईंले बर्गको आँखाले हेर्नुभयो कि, जातिको आँखाले हेर्नुभयो ? धर्मको आँखाले हेर्नुभयो कि क्षेत्रको आँखाले ?
तपाईंले भ्रमको पर्दा हटाउनुहोस् । कुनैपनि मान्छेलाई चिन्न र हेर्नअघि दृष्टिदोष पखाल्नुहोस् । स्पष्ट हुनुहोस् । मान्छेका खराब कुराहरुलाई होइन, राम्रो पाटोलाई नियाल्नुहोस् । हरेक मान्छेभित्र एउटा सुन्दर मान्छे छन् ।