
काठमाडौं । आफूलाई ‘धर्ती माता’ बताउँदै बोक्सी भगाउने नाउँमा एक युवतीलाई कुटपिट गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
सिंहदरबारको अगाडि नेपाली सेनाको मुख्यालय नजिकै भद्रकाली मन्दिरमा ‘विष्णु कुँबर’लाई काठमाडौं प्रहरी परिसर, टेकुको विशेष टोलीले शुक्रबार बिहान पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् ।
अहिले उनलाई काठमाडौं प्रहरीको हिरासतमा राखिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको बोगटीले बताएका छन् ।
एक साताअघि कुँबरले सर्वसाधारणको भिडका बीच युवतीलाई यातना दिएकी थिइन् । जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यस घटना पश्चात युवतीमाथि बर्बर आक्रमण गर्ने ‘धर्ती माता’को खोजीका लागि काठमाडौं प्रहरीले सक्रियता देखाएको थियो ।
घटनालाई लिएर सर्वसाधारणले प्रहरी प्रशासनको आलोचना गरेपछि अनुसन्धान शुरु भएको थियो । प्रहरीले हालसम्म पीडितलाई भने भेटेको छैन । यद्यपि, पीडितलाई उजुरी दिन आग्रह गरिएको छ
भिडियोमा कुँवरले युवतीलाई पिट्दै ‘तँ को होस्, छिटो निस्की’ भनेर गाली गरेकी छन् । उनले ‘तेरो मासु खाम्ला, मलाई चिन्’, जस्ता शब्दको पनि प्रयोग गरेकी थिइन् । भिडियोमा दुई प्रहरी अधिकृत पनि देखिएका थिए ।
अघिल्लो वर्ष १ भदौदेखि लागू भएको मुलुकी अपराध संहिताले बोक्सीको आरोपमा अपमानजन्य व्यवहार गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र क्षतिपूर्तिको व्यवस्था गरेको छ । कसुर गर्ने व्यक्तिबाट पीडित व्यक्तिलाई पुगेको क्षति वा पीडाबापत मानसिब क्षतिपूर्ति भराइदिनुपर्ने व्यवस्था पनि गरिएको छ ।
