सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • जुम्लामा बन्ने भयो खस सभ्यतासहितको संग्रहालय

जुम्लामा बन्ने भयो खस सभ्यतासहितको संग्रहालय

  • आइतवार, असार ८, २०७६
जुम्लामा बन्ने भयो खस सभ्यतासहितको संग्रहालय
जुम्ला : जुम्लामा खस सभ्यतासहितको संग्रहालय बन्ने भएको छ। शुक्रबार सिंजा गाउँपालिका-२ विष्ट वाडामा बहु प्रतिष्ठित सिंजा सभ्यता खस संग्रहालयको शिलान्यास गरिएसँगै संग्रहालय बन्ने पक्कापक्की भएको हो। नेपाली उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्रालयको ५० लाख सहयोग, कर्णाली प्रदेशको समन्वय र भू तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाको सहजीकरणमा खस संग्रहालयको शिलान्यास गरिएको हो। खस भाषा र खस सभ्यताको उद्गम थलो सिंजा भएकाले खस संग्रहालयको शिलान्यास गरिएको ३ नम्बर वडाध्यक्ष नविनराज शर्माले बताए। सिंजामा १२ देखि १५ औँ शताब्दीका देवल विष्ट वाडामा १२ देखि १५ औँ शताब्दीको बीचमा निर्माण गरिएका देवल तथा शिलालेख रहेका कारण उक्त गाउँमा खस सभ्यताको संग्रहालय निर्माण गर्न लागिएको वडाध्यक्ष नविन शर्माको भनाइ छ। खस सभ्यताको धनी सिंजामा पर्यटनको संख्या बढाउने लक्ष्य राखिएको छ। खसिया आखर शब्दकोश निर्माण हुँदै कर्णाली प्रदेश प्रमुख केन्द्र सिंजा नेपाली खस भाषाको उद्गमस्थल हो। यहाँबाट सुरु भएको खस भाषा अहिलेको नेपाली भाषाका रूपमा बोलिदै आएको छ। जुम्लालगायत कर्णाली क्षेत्रमा बूढापाकाले खस भाषा बोल्ने गरे पनि युवा पुस्तामा खस भाषाको आकर्षण देखिँदैन। जुम्लामा पनि विभिन्न स्थानमा फरक शैलीमा खस भाषा बोलिन्छ। चार दरा रहेको जुम्लामा सिंजा दरामा खस साम्राज्य भएको बेला बोलिने खस भाषा बोलिन्छ। ब्राह्मण, क्षत्री लगायतको बाहुल्य रहेको ठाउँमा अलि फरक शैलीमा बोलिन्छ। असी दरा अर्थात् अहिलेको सदरमुकाम रहेको आसपासमा केही परिष्कृत खस भाषा रहेको छ। त्यस्तै, चौधबीस दरामा तिब्बती र भोटे भाषासँग खस भाषा प्रभावित छ। तत्कालीन सिंजाबाट जारी ताम्रपत्र, स्वर्णपत्र, शिलालेखमा त्यस बेलाको पहिलो नेपाली भाषाको विकसित रूप फेला परेकाले सिंजालाई उद्गमस्थल भनिएको संस्कृतिका जानकार एवं खस भाषाका अध्ययनकर्ता रमानन्द आचार्यले बताए। उनले जुम्लामा बसेर एक दशकदेखि ‘खसिया आखर’ शब्दकोश लेखिरहेका छन्। आचार्य खस साम्राज्य रहेका कर्णालीका दैलेख, बाजुरा, मुगु, हुम्ला, डोल्पा र कालीकोट गएर पहिले बोलिने शब्द संकलन गरेको बताउँछन्। शब्दकोशमा १० हजार शब्द संग्रहित हुने आचार्यको भनाइ छ। अहिले शब्दकोश टाइप भइरहेको पनि उनले बताए। के थियो कर्णालीको पहिरन? पुरुषको पहिरनमा दोचा, दोफर, (जुत्ता मोजा) उनीको सुरुवाल, उनीको बख्खु (दौरा सुरुवाल) उनीको पाखा कोट, भाँउरोको गादो, उनीकै पुरानो नेपाली टोपी लगाएतका पहिरन लगाउने गर्थे भने महिलाहरुले पनि आफ्नै मौलिक पहिरनमा ठेटुवाको गावन, टुन्डेलाको फरीया, लहरे डौठो, फर्का बादको डौठो, कालो काम्लो, कुकुर छाप डौठो, ठेटुवाको घाग्रो, झम्के बुलाखि, फुलि, कल्ली, बाला, ज्याले, एक्गेडे माला, ठिमुराको माला, पातेमुन्ना, चाँडीको डरको माला, छिपो लगाउने चलन थियो। कर्णाली बासी सवैले यही पहिरनलाई आफु र आफ्नो प्रणा भन्दा पनि बढी माया गरेको पाइन्थ्यो पहिरन संरक्षणमा जोड अब कर्णालीका नयाँ पुस्ताले आफ्नो मौलिक पहिरनलाई जोगाउन संरक्षणमा लाग्नुपर्ने वेला आएको सिंजा गाउँपालिकाका अध्यक्ष दलवल सिहं रावलले बताए। उनले भने, ‘खस सभ्यता झल्काउने पहिरनको सबैले आफ्नौ स्थानबाट संरक्षण गर्नु पर्ने वेला आएको छ। कुनै उत्सव र चार्डपर्वको समय मात्र नभएर सधैको लागि लगाउनुपर्छ।’ हाल महिला र पुरुष दुवैले लगाउने पुराना पहिरनहरू लोप हुँदै गएको छ। कर्णालीको रहनसहन, खानपिन, चालचलनलगायत बोलिचाली सबै पर्व उत्सवको आफ्नो मौलिकपन हराएको छ। यसलाई अबको नयाँ पुस्ता युवाहरुले कर्णालीवासीको मौलिकपनलाई बचाउन, संरक्षण गर्न र प्रर्वद्धन गर्नुपर्ने चुनौती देखिएको छ। प्रचारप्रसार अभावले खस सभ्यता ओझेलमा नेपाली भाषाको जननी भूमि खस राज्य जुम्लाको सिंजा खस सव्यता लोप हुने भएपछि बाईसे र चौबीसे राज्यको पालामा जुम्लाको खस राज्य सिंजा एक बलियो राज्य भएको इतिहासमा पनि उल्लेख भएको पाइन्छ। नेपाल एकीकरण अभियानमा लागेका नेपालका एक मात्र देश निर्माता पृथ्वी नारायण शाहलाई पनि खस राज्य सिंजा जुम्ला जित्नको लागि हम्मेहम्मे परेको पाईएको छ। सम्भावनाले भरिपूर्ण ‘कर्णाली’ आजको वर्तमान विश्व मानचित्रमा गरिब, पछौटेपन, रोग, भोग र परनिर्भरताको पर्यायका रूपमा खडा गरिएको ‘मागी खाने भाँडोे’ बनाइएको छ जुन कर्णालीको लागि दुभाग्य नै हो। त्यसको जिम्मेवार हाम्रा राज्यसत्ता, राजनीतिक पार्टी र एनजीओ र आईएनजीओहरू नै हुन्, कर्णालीको भव्यता र समवनालाई खर्लक्कै कालो पर्दामा लुकाएर जबर्जस्त मगन्ते बनाउने विभिन्न कारकतत्व हुन्। यस क्षेत्रको भाषा, संस्कृति र सभ्यताका साथै ऐतिहासिक वैभव र विरासत नामेट गर्ने प्रपञ्चबाट प्रेरित भएको देखिन्छ। सिंजाले ऐतिहासिक र राजनीतिक औचित्य त प्रदान गर्छ नै, साथ साथै यसले त्यस क्षेत्रका सभ्यता र संस्कृतिको आत्मसम्मान र गर्व बोधका साथै सम्मान र मर्यादा गराउँदछ। तर यस्ता इतिहासिक, पुरातात्विक महत्व बोकेका सम्पदाहरु प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन्।
थाहा खवरबाट

चर्चामा

सम्बन्धित समाचार