• होमपेज
  • राजनीति
  • विप्लव कार्यकर्ता पक्राउ प्रकरणमा नयाँ ट्विस्टः अदालत छोड्ने, प्रहरी पक्रिने

विप्लव कार्यकर्ता पक्राउ प्रकरणमा नयाँ ट्विस्टः अदालत छोड्ने, प्रहरी पक्रिने

  • बुधबार, असार ४, २०७६
विप्लव कार्यकर्ता पक्राउ प्रकरणमा नयाँ ट्विस्टः अदालत छोड्ने, प्रहरी पक्रिने

पोखरा– गएको जेठ २५ गते कास्कीको अन्नपूर्ण गाउँपालिका ११ उरिबाट पक्राउ परेका विप्लव कार्यकर्ता पक्राउ प्रकरणमा नयाँ ट्विस्ट् थपिएकोे छ । थुनामुक्त भएको ५ घण्टा नबित्दै पक्राउ परेका उनीहरु पुन रिहा हुँदा समेत प्रहरी घेराबन्दीमा परेका छन् । बिहीबार रिहा हुने आदेश पाएलगत्तै समातिएका उनीहरु मंगलबार पुन अदालतबाट छाड्ने आदेश पाएका थिए । मानवअधिकारकर्मी, इन्सेक र बारको रोहबरामा छाडिएका उनीहरुलाई समात्न प्रहरी तम्तयार भएर बसेका छन् ।

मंगलबार उच्च अदालत पोखराले मानवअधिकार कास्कीका अधिकृत ज्योतीप्रसाद घिमिरे , टंक खनाल र नेपाल बार एशोसिएसन उच्च अदालतका अध्यक्ष रोहितराज बास्तोलाको रोहबरमा छाडेको थियो । अदालतले छोड्ने आदेश दिएलगत्तै पुनः प्रहरी पक्रन तैनाथ राखिएको अदालत निकट स्रोतले बताएको छ ।

गैरकानुनी तरिकाले पक्राउ गरिएको भन्दै बन्दीका आफन्तले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । रिटमाथि सुनुवाई गर्दै न्यायाधीश यज्ञप्रसाद बराल र डालकुमार खड्काको इजलाशले पक्राउ परेका जंगबहादुर भण्डारी, प्रकाश बास्तोला, गगन परियार, सुजन सापकोटा, सन्तोष विक, काजी गुरुङ, आस्था नेपाली, राजन साउद, र मिलन राइलाई निर्दोष करार गर्दै छोड्न आदेश दिएको थियो ।

मंगलबारको फैसलामा निवेदकको तर्फबाट रोहितराज बास्तोला, सन्तोष कोइराला, मिना कुमारी रानाभाट, हिमलाल पराजुली, ईश्वर चिलवाल, सन्तोषमणि लामिछाने र डिल्लीराम अधिकारीले  बहस गरेका थिए भने विपक्षीमा उपन्यायाधिवक्ता प्रेमराज पौडेलले बहस गरेका थिए । बहसपछि उच्चले तुरुन्त छोड्न आदेश दिएको थियो ।

बिहीबार राती बाह्र बजे पक्राउ गरि उनीहरुलाई डाँडाको नाक प्रहरी चौकी पु¥याइएको थियो । उच्चले उक्त जानकारी  जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय डाँडाको नाकलाई पनि पठाईसकेको छ ।

थुनामक्त भएपनि उनीहरु अदालत परिसरमै छन् । स्रोतका अनुसार उनीहरुलाई पुन समात्न जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी तैनाथ गराइएको छ । अदालतले थुनामुक्त गर्न आदेश दिएको ५ घण्टा भित्रमा उनीहरु पक्राउ परेका थिए । उच्च अदालत बार एशोसियसनले घटनाको विरोध गर्दै यही आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख चक्रबहादुर बुढालाई ज्ञापनपत्र समेत बुझाएको थियो ।

चर्चामा

सम्बन्धित समाचार