शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • साम्राज्ञी भन्छिन्–‘मारुनी’का केही दृश्यमा मलाई डर लागेको थियो’

साम्राज्ञी भन्छिन्–‘मारुनी’का केही दृश्यमा मलाई डर लागेको थियो’

  • बुधबार, जेष्ठ २९, २०७६
साम्राज्ञी भन्छिन्–‘मारुनी’का केही दृश्यमा मलाई डर लागेको थियो’

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘मारुनी’का केही दृश्य गर्दा आफूलाई डर लागेको बताएकी छिन् । चलचित्रमा समावेश ‘जाम्न माया जाम’ बोलको गीत रिलिज कार्यक्रममा उनले भनिन्–‘मैले यस्तो खालको डान्स यसअगाडि गरेको थिइनँ । रोमान्टिक गीत मात्र गरेकाले पनि यसमा डान्स गर्दा लाज लागेको थियो ।’

साम्राज्ञीले अगाडि भनिन्–‘चलचित्रका कतिपय दृश्य गर्दा मलाई डर पनि लागेको थियो । तर, निर्मात्री पूनम गौतमले राम्रो छ भन्दा काम गर्न हौसला मिल्थ्यो ।’ साम्राज्ञीले नायक पुष्प खड्काको पनि प्रशंसा गरिन् । उनले, आफूसँग काम गर्ने अर्को कलाकारको अभिनय पनि उत्कृष्ट हुँदा रमाइलो हुने भन्दै पुष्पमा त्यो क्षमता भएको सुनाइन् ।

यस्तै, चलचित्रका नायक पुष्प खड्काले गीतको बारेमा भने–‘म पहिलेदेखि नै बलिउडका गीत हेरिरहन्थेँ । उनीहरुको फरक खालको डान्स मुभ आफूले पनि गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । यो गीतको भिडियोमा मैले सानो भएपनि त्यो कोशिश गर्न पाएको छु ।’

गायक दिपक बज्रचार्यले भिडियोले आफ्नो गीतलाई अर्कै ज्यान दिएको बताए । उनले, चलचित्रमा काम गर्ने मौका पाएको भन्दै कुनै कमीकमजोरी हुन नदिएको बताए । चलचित्रका निर्देशक नवल नेपालले ‘मारुनी’बाट दर्शकलाई सन्तुष्ट बनाउने प्रयास गरेको बताए । उनले भने–‘मलाई थोरै मिठो भएपनि पुग्थ्यो । मेरो टिमलाई धेरै मिठो चाहिएको थियो । यसैले, चलचित्रलाई दर्शकको मन पर्ने अनुसार बनाउन खोजेको छु ।’

चलचित्रकी निर्मात्री पूनम गौतमले ‘मारुनी’ फरक स्वादको चलचित्र भएको भन्दै दर्शकलाई मनपर्ने बताइन् । उनले, चलचित्रको सम्पूर्ण टिमसँग काम गर्दा खुशी लागेको सुनाइन् । चलचित्रकी अर्की नायिका रेविका गुरुङले आफूले पाएको भूमिकालाई सक्दो न्याय गरेको सुनाइन् । भदौ १३ गतेबाट रिलिज हुने चलचित्रको कथावस्तु भने खुलाइएको छैन ।

चर्चामा

सम्बन्धित समाचार