काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनवर्गीय संगठनको भागवण्डा टुंगिएको छ । नेकपाको सचिवालय बैठकले सबै जनवर्गीय संगठनको संयोजक र सहसंयोजकको जिम्मेवारी टुंग्याएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अनेरास्ववियूको संयोजकमा पूर्व एमालेबाट ऐन महर, सहसंयोजकमा पूर्व माओवादीबाट रञ्जित तामाङ वा सुरेन्द्र बस्नेत (तामाङले नमानेमा), युवाको संयोजकमा पूर्व माओवादीबाट रामप्रसाद सापकोटा दीपशीखा र सहसंयोजकमा पूर्व एमालेबाट रमेश पौडेल वा किरण (रमेशले नमानेमा), महिलाको संयोजकमा पूर्वमाओवादीबाट अमृता थापामगर र सहसंयोजकमा पूर्व एमालेबाट सीता पौडेलको टुंगो लागेको छ ।
त्यस्तै पत्रकारको संयोजकमा पूर्व माओवादीबाट महेश्वर दाहाल र सहसंयोजकमा पूर्व एमालेबाट गणेश बस्नेत, वुद्धिजीवीको संयोजकमा पूर्व एमालेबाट डा दिनेशचन्द्र देवकोटा र सहसंयोजकमा पूर्व माओवादीबाट कृष्ण केसी र मजदुरको संयोजकमा पूर्व एमालेबाट विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिंखडा चयन भएका छन् ।
मानवअधिकार तथा सामाजिक अभियानको संयोजकमा मीनबहादुर शाही पूर्व एमाले र सहसंयोजकमा पूर्व माओवादीबाट हुकुम पोख्रेल तथा कानुनको संयोजकमा पूर्व एमालेबाट रुद्र नेपाल तथा सहसंयोजकमा पूर्व माओवादीबाट डा दीनमणी पोख्रेल चयन भएका छन् । यो पहिल्यै टुंगिएको ती नेताले जानकारी दिए ।
बैठकले गरेका निर्णय भोली सार्वजनिक गर्ने तयारी गरिएको छ । एकता प्रकृयाका सबैजसो विषयमा सहमतिका साथ निर्णय भएको एक सचिवालय सदस्यले नागरिक खबरलाई जानकारी दिए । अन्यको नाम सार्वजनिक हुन बाँकी छ ।
अनेरास्ववियूको संयोजक– ऐन महर
वाईसीएलको संयोजक– दीपशीखा
महिलाको संयोजक– अमृता थापामगर
पत्रकारको संयोजक– महेश्वर दाहाल
बुद्धिजीवीको संयोजक– डा. दिनेशचन्द्र देवकोटा
मजदूरको संयोजक– विनोद श्रेष्ठ
कानुन संयोजक-रुद्र नेपाल
मानवअधिकार तथा सामाजिक अभियान संयोजक-मीनबहादुर शाही