• होमपेज
  • समाज
  • मदिरा बनाउने भाँडावर्तन गाउँपालिका, नगरपालिकालाई बुझाए प्रोत्साहन रकम पाईने

मदिरा बनाउने भाँडावर्तन गाउँपालिका, नगरपालिकालाई बुझाए प्रोत्साहन रकम पाईने

  • शनिबार, चैत्र ३०, २०७५
मदिरा बनाउने भाँडावर्तन गाउँपालिका, नगरपालिकालाई बुझाए प्रोत्साहन रकम पाईने

सुर्खेतको पश्चिममा पर्ने दुईवटा स्थानीय तहले घरेलु मदिरा नियन्त्रण गर्न नयाँ योजना ल्याएका छन् । जताततै पाईने घरेलु मदिरा सेवनबाट घरेलु हिंसाजस्ता सामजिक विकृति बढन् थालेपछि पञ्चपुरी नगरपालिका रा चौकुने गाउँपालिकाले नयाँ योजना ल्याएका हुन् । ति स्थानीय तहले अब घरेलु मदिरा बनाउने व्यक्तिले मदिरा बनाउन प्रयोग हुने भाँडाहरु बुझाएमा प्रोत्साहन रकम दिने भएका छन् ।

मदिरा बनाउन प्रयोग गरिने भाँडावर्तन दिएवापत भाँडा खरिद गर्दा लागेको मूल्य अनुसारको नगद रकम दिनुका साथै व्यवसायिक कृषि कर्मका गर्न अनुदान दिइने पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्र थापाले जानकारी दिए । घरेलु मदिराले गाउँमा विभिन्न किसिमका विकृति र अपराधिक घटनाहरु हुन थालेपछि त्यसको नियन्त्रणका लागि नयाँ उपायको खोजी गरिएको उनले बताए ।

‘सुरुमा हामीले मदिरा बनाउन प्रयोग गरिने भाँडा र मदिरा जफत ग¥यौं, कतिपयलाई जरिवाना पनि तिरायौं,’ मेयर थापाले भने, ‘त्यसले पनि मदिरा नियन्त्रण प्रभावकारी नभएपछि प्रोत्साहनका लागि मदिरा बनाउन प्रयोग गरिने भाँडा दिएवापत नगद दिने कार्यक्रम ल्याएका हौं ।’

घरमै उत्पादन गरिने र जता पनि मदिरा पाउने भएकोले सानादेखि ठूलासम्मले सेवन गर्दा समाजमा नकरात्मक क्रियाकलापहरु बढ्ने गरेको उलने बताए । मदिरा बनाउन छोडेर मर्यादित पेशा अबलम्बन गर्नका लागि नागरिकहरुलाई नगरपालिकाले प्रोत्साहन गर्ने थापाले बताए । ‘अब मदिरा बनाउन होइन पञ्चपुरीका हरेक नागरिकलाई आत्मनिर्भर बनाउन रुचि अनुसारका अन्य तालिम, सीप र ज्ञान दिने हाम्रो लक्ष्य छ ।’ थापाले भने, ‘अबको तीन बर्षभित्रमा प्रत्येक युवा र वृद्ध÷बुद्धाका हातमा रक्सीका बोतल नभई दुधका गिलास देख्नेगरी योजना बनाउँछौँ ।’

घरेलु मदिरा बनाउने भाँडा गाउँपालिकालाई बुझाएमा उनीहरुलाई प्रोत्साहन रकम दिइने र यदि अटेर गरेको पाइएमा स्थानीय तहबाट दिइने सरकारी सेवासुविधा रोक्का गर्ने योजना बनाएको चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले बताए ।

‘स्वस्फुर्त रुपमा भाँडा बुझाए गाउँपालिकाले उहाँहरुलाई प्रोत्साहन रकम दिने छ,’ उनले भने, ‘कसैले अटेर गरेर बनाएको घरेलु मदिरा प्रहरीमार्फत चेकजाँचका क्रममा भेटियो भने गाउँपालिकाबाट उनीहरुले पाउने सेवासुविधा समेत रोकिदिने र कानुनअनुसार जरिवाना गर्नेगरी हामी अगाडि बढेका छौँ ।’

गाउँपालिकाले कृषि कर्म गर्नका लागि अनुदानको व्यवस्था गरेको बताउँदै उनले उत्पादन गरेका वस्तुको बजारको ग्यारेण्टी समेत गरिने उनले बताए । ‘पश्चिममा अन्न उत्पादन पर्याप्त मात्रामा हुन्छ । तर उत्पादनको आधाभन्दा बढी मदिरा बनाउनमा नै प्रयोग हुन्छ ।’ उनले भने, ‘लोकल मदिरा नियन्त्रणसँगै अन्य त्यसमा प्रयोग हुने खाद्य वस्तुको सही सदुपयोगको लागि हामी लागेका छौँ ।’

चर्चामा

सम्बन्धित समाचार