सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतुहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मूलुक भारतबाट आउनेको सङ्ख्या लाखौँमा रहेको छ ।
इसाको छैठो सातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ गतेका दिन बिहानीपख फुल्नु र साँझपख मौलाएर जानु आफैँमा एउटा आश्चर्य र कौतुहलको विषय बनेको छ । दलितमध्ये अति पिछडिएको दुसाद जातिको कुलदेवता तथा अन्तर्राष्ट्रियस्तरमा पूजनसय रहेको वीरगाथाका वीर पुरुष सलहेशको जीवन गाथासँग जोडिएको त्यो फूल फुल्ने रूख केको हो ।
कसरी यतिका दिनसम्म बाँचिरहेका छन् । यस्ता प्रश्न वनस्पतिविद्का लागि अध्ययन र अनुसन्धानको विषय बनेको छ ।
प्रदेश नं २ अन्तर्गत पूर्वपश्चिम राजमार्गको लहानबजारदेखि पश्चिम र मत्स्यपालन केन्द्रदेखि दक्षिणमा रहेको प्रसिद्ध धार्मिक एवम् ऐतिहासिक सलहेश फूलबारीमा प्रत्येक वर्षको पहिलो दिन त्यो दुर्लभ फूल फुल्ने गर्दछन् । हारम जातका विशाल रूखमा एक्कासि फूल फुल्नु र वैशाख १ गते साँझपख स्वतः मौलाएर जाने घटना सबैका लागि अविश्वसनीय र कौतुहलको विषय बनेको छ ।
सलहेश को थिए ? सलहेशको जीवन गाथासँग फूलको के सम्बन्ध रहेको छ । यो जान्नलाई पौराणिककालमा फर्किनुपर्ने आवश्यकता रहेको छ ।
लोकगाथाका नायक वीर सलहेशको विवाह सीमावर्ती भारतको मधुवनी जिल्लाअन्तर्गत बरुवार भन्ने बलाठपुर निवासी बलाठकी छोरी सामैरसँग भएको थियो । आफ््ना पति सलहेशलाई पकडियागढका तत्कालीन राजा कुलेश्वरकी छोरी चन्द्रवतीले आफनो प्रेम प्रस्ताव अस्वीकार गरेपछि सलहेशलाई थुनामा राखेको खबर प्राप्त भएपछि सामैर पकडियागढ गई त्यहाँ आफ्ना सहपाठी दीना मालिनीको सहयोगमा सलहेशलाई थुनामुक्त गराएकी थिइन् ।
सलहेशलाई मनमनै हृदयदेखि मन पराएकी दीना मालिनी सलहेशसँग विवाह गर्न नपाउँदा उनले प्रण गर्दै प्रत्येक वर्ष तिम्रो प्रतीक्षामा वैशाखको पहिलो दिन हारमको त्यही रूखमा देखापर्ने भनेपछि सोहि दिनदेखि सलहेशको प्रतीक्षामा प्रत्येक वर्षको बैशाखको पहिलो दिन माला आकारमा मालिनी देखापर्ने गरेको किंवदन्ती रहिआएको छ ।
राजा सलहेशको गाथासँग जोडिएको महिसोथा, नन महरी पर्वत, छोपरा चौरी, विराटपुर, त्रिवेणीधाम, पकडियागढ, मानिक दहमा प्रत्येक वर्ष परम्परागत रुपमा मेला लाग्ने गर्दछन् । वैशाखको पहिलो दिन फूलबारीमा रहेको हारमको रूखमा सुनाखरी आकारको फूल फुल्ने गर्दछन् ।
जुन फूल हेर्न देश–विदेशबाट लाखौँको सङ्ख्यामा दर्शनार्थी आउने गर्दछन् । यही फूल र सलहेश फूलबारीले हालसम्म राजा सलहेशको गाथालाई जीवन्तता दिँदै आएको छ । भनिन्छ सलहेश एकै दिनमा मानिक दहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिलहट अखाडामा कुस्ती खेल्ने, कुलदेवीको पूजा गर्ने तथा जनताको पीरमार्का सुन्ने गर्दथे ।
मैसोथा राज्यको राजा सलहेश र उनकी प्रेयसी मालिनी बीचको प्रेमविछोडका लागि प्रसिद्ध रहेको सलहेश फूलबारीमा प्रेमविवाह गर्दा दाम्पत्य जीवन सफल हुने र सन्तान प्राप्ति हुने किंवदन्ती रहिआएकाले यस फूलबारीभित्र रहेको हारमको रूखलाई युवायुवतीले ‘लभ प्वाइन्ट’का रुपमा लिएको छ ।
भनिन्छ, युवायुवती बीचको प्रेमकथालाई जीवन्तता प्रदान गर्न फूलबारीमा रहेको सो रूखलाई साक्षी मानी विवाह गर्दा दाम्पत्य जीवन सफल हुने जनविश्वासअनुरुप प्रत्येक वर्ष सो फूलबारीमा विवाह गर्नेको सङ्ख्या बढदै गएको छ ।