बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • शिक्षा
  • परीक्षार्थी भन्दा अनुगमनकर्ता धेरै, अनुगमनको नाममा कक्षामा हुल लागेर पस्दा विद्यार्थीलाई समस्या

परीक्षार्थी भन्दा अनुगमनकर्ता धेरै, अनुगमनको नाममा कक्षामा हुल लागेर पस्दा विद्यार्थीलाई समस्या

  • मङ्लबार, चैत्र १२, २०७५
परीक्षार्थी भन्दा अनुगमनकर्ता धेरै, अनुगमनको नाममा कक्षामा हुल लागेर पस्दा विद्यार्थीलाई समस्या

आइतबारबाट जारी एसइई परीक्षामा परीक्षा हलमा अनुगमनको नाममा कर्मचारी, जनप्रतिनिधि समेत हुल लागेर पसेपछि विद्यार्थीहरुमा डरको भावना पैदा हुनुका साथै उनीहरुले शान्त वातावरणमा समेत लेख्न पाएका छैनन् ।

जिल्लाका अधिकांश स्थानीय तहहरुले परीक्षा निर्देशिका बिपरित अनुगमनको नाममा हुल प्रदर्शन गर्दै आएका छन् । यहाँ कर्मचारी र जनप्रतिनिधि मात्रै होइन कृषि र पशुका प्राविधिकहरु समेत परीक्षा अनुगमनमा निस्केका छन् भनेपछि परीक्षा हलको अवस्था र परीक्षार्थीको अवस्था कस्तो होला आफै मुल्यांकन गर्नुस् । जिल्ला, गाउँपालिका, विद्यालय व्यवस्थापन समिति, वडा शिक्षा समिति र वडा सदस्य सम्मका ब्यक्तिहरुले फरक फरक अनुगमन गरेका छन् जसका कारण परीक्षाहलको बातावरण बिग्रिएको छ । त्यसमाथि कृषि र पशुका प्राविधिक समेत अनुगमनमा गएका छन् ।

सोमवार बगनासकाली गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष जीसी र पोखराथोकका वडा सदस्य लगायतले बिष्णु मावि केन्द्रको अनुगमन गरेपछि सामाजिक सञ्जालमा आलोचना भएको छ ।

परीक्षा समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले स्थानीय तहहरुलाई समन्वय र सहयोगका लागि पत्राचार गरिएको बताए । तर यसरी अनावश्यक रुपमा अनुगमन गर्नु गलत भएको र यसलाई रोक्न तत्काल पहल गर्ने उनले बताए ।
एसईई परीक्षा निर्देशिका अनुसार तत्कालीन जिल्ला शिक्षा कार्यालयले मात्रै अनुगमन गर्न पाउने ब्यवस्था छ । तर यहाँ भने निर्देशिकाको ठाडो उल्लंघन भएपछि सामाजिक सञ्जालमा समेत ब्यापक आलोचना भएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख मोतीलाल शर्माले स्थानीय तहको समन्वयको रुपमा गाउँपालिका वा नगरपालिका प्रमुख र उपप्रमुख, प्रमुख प्रशासकीय र शिक्षा शाखा हेर्ने प्रमुखले पनि अनुगमन गर्ने भन्दा पनि संयोजन र ब्यवस्थापन पक्ष मिलाइदिने हो तर स्थानीय तहहरुले आफुखुसी अनुगमनका लागि परिचय पत्र दिनु गलत भएको बताए ।

यसरी हुलमा गएर अनुगमन गर्दा विद्यार्थीहरुको लेखाई प्रभावित हुने भएकोले तत्काल यसलाई सुधार गरिने उनले बताए । यो विषयमा तत्काल बैठक बसी यसलाई तत्काल सुधार गर्न सबै केन्द्राध्यक्षहरुलाई परिपत्र गरिने उनले बताए ।

पाल्पा समाचार

चर्चामा

सम्बन्धित समाचार