शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • विप्लवका कोशी व्यूरो इञ्चार्जलाई संगठित अपराध मुद्दा

विप्लवका कोशी व्यूरो इञ्चार्जलाई संगठित अपराध मुद्दा

  • मङ्लबार, चैत्र १२, २०७५
विप्लवका कोशी व्यूरो इञ्चार्जलाई संगठित अपराध मुद्दा

१२ चैत, विराटनगर । नेत्रविक्रम चन्द (विप्लव) समूहका कोशी व्यूरो इञ्चार्ज घनश्याम श्रेष्ठ (पुष्कर)लाई संगठित अपराध र हातहतियार मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ । मोरङको कानेपोखरी गाउँपालिका–४ बयरबनबाट आइतबार साँझ पक्राउ परेका श्रेष्ठ र माधव गौतमलाई सुनसरीबाट संगठित अपराध तथा हातहतियार मुद्दामा म्याद थप गरिएको हो ।

विप्लवको आन्तरिक प्रशिक्षण आयोजना हुने सूचना पाएपछि पुगेको प्रहरीले श्रेष्ठ र गौतमलाई पक्राउ गरेको हो । अन्य भने फरार भएका थिए । उनीहरुलाई पक्राउ गरिएको स्थान पूर्व–पश्चिम राजमार्गबाट सात किलोमिटर दक्षिणमा पर्छ । पक्राउ गरिएपछि दुवै जनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखिएको थियो ।

प्रहरीले उनीहरुका साथबाट नगद, उनीहरुले प्रयोग गर्ने मोबाइल, केही कागजपत्र र विभिन्न सिमकार्डहरु बरामद गरेको छ । प्रहरी स्रोतका अनुसार करिब चार लाख रुपैयाँ रकम बरामद भएपनि प्रहरीले आधिकारीक पुष्टि भने गरेको छैन । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र फुयालले पक्राउ परेका दुई जनालाई म्याद थप गरिएको बताए । हातहतियार सम्बन्धी मुद्दामा धरानमा राखेर अनुसन्धान भैरहेको उनले बताए ।

बिथोलियो भेला

विप्लव समूहले मोरङको कानेपोखरी गाउँपालिका–४ नारायण चोक नजिकै रहेको पोखरीमा रहेको बस्तीमा पार्टी प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । प्रशिक्षणमा अन्य नेता र कार्यकर्ताहरु पनि सहभागी हुन आएका थिए । तर आइतबार साँझ प्रहरीले श्रेष्ठ र गौतमलाई पक्राउ गरेपछि प्रशिक्षण कार्यक्रम बिथोलिएको थियो ।

पूर्व–पश्चिम राजमार्गको कानेपोखरीदेखि करिब सात किलोमिटरमा पर्ने भित्री गाउँमा पक्राउ परेका उनीहरुलाई पथरीसम्म ल्याइएको एक प्रत्यक्षदर्शीले जानकारी दिए ।

मोरङको उत्तरपूर्वी क्षेत्रमा विप्लव समूको प्रभाव छ । सरकारले प्रतिवन्ध लगाएपछि सर्च अभियान सञ्चालन गरेको प्रहरीले मिक्लाजुङ क्षेत्रमा नियमित प्रशिक्षण हुने सूचना पाएपछि परिचालित भएको थियो ।

को हुन् पुष्कर ?

घनश्याम श्रेष्ठ उर्फ पुष्करले माओवादी शान्ति प्रकृयामा आउनुअघि तत्कालीन माओवादी मोरङ इञ्चार्ज दिनेश शर्मा (सागर) को सहयोगीको रुपमा काम गरेका थिए । भूमिगतकालमा माओवादीले प्रकाशित गर्ने जनविद्रोह साप्ताहिक (हाल दैनिक) को व्यवस्थापकको जिम्मेवारी पनि सम्हालेका थिए उनले । माओवादी शान्ति प्रकृयामा आएपछि काठमाडौं बस्न थालेका श्रेष्ठ मिरमिरे एफएमको प्रशासनिक जिम्मेवारीमा थिए । प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीबाट मोहन वैद्य (किरण)को नेतृत्वमा पार्टी फुटेपछि उनी वैद्य समूहमा लागेका थिए । त्यसपछि वैद्य समूहबाट उनी विप्लवको कित्तामा लागेका थिए । विप्लवले नयाँ पार्टी गठन गरेपछि उनले मोरङ जिल्ला इञ्चार्जको जिम्मेवारी पाएका थिए । जनयुद्धकै शैलीमा कमाण्ड छुट्याउने क्रममा भने उनले कोशी व्यूरो इञ्चार्जको जिम्मेवारी पाएको प्रहरी स्रोतको दाबी छ ।

चर्चामा

सम्बन्धित समाचार