बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • प्रहरीको हिट लिस्टमा को को छन विप्लव समूहका नेता

प्रहरीको हिट लिस्टमा को को छन विप्लव समूहका नेता

  • शुक्रबार, चैत्र ८, २०७५
प्रहरीको हिट लिस्टमा को को छन विप्लव समूहका नेता

प्रहरीले ललितपुरको एनसेल गेट र वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको घरमा भएको बम विस्फोट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता हेमन्तप्रकाश ओली ‘सुर्दशन’ को निर्देशनमा भएको निष्कर्ष निकालेको छ । ओली विप्लव नेतृत्वको नेकपाका तेस्रो नम्बरका नेता तथा स्थायी समिति सदस्य हुन् । नख्खु बम विस्फोटमा एकजनाको ज्यान गएको थियो भने दुईजना घाइते भएका थिए । ओलीले नख्खु बम विस्फोटको जिम्मेवारी लिएका थिए । सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि सुरक्षा संयन्त्र कडा रुपमा प्रस्तुत हुन थालेको छ । गाउँ–गाउँमा विप्लवका नेता–कार्यकर्ताविरुद्ध ‘सर्च एण्ड अरेस्ट अपरेसन’ चलाइएको छ । पछिल्लो ११ महिनामा देशभरबाट विप्लव समूहका ४ सयभन्दा बढी नेता–कार्यकर्ता पक्राउ परेको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

प्रहरीको ‘हिट लिस्ट’मा ओली

सुरक्षा निकायले देशभर विप्लव समूहविरुद्ध कडा निगरानी सुरु गरेको छ । विप्लव समूहको सक्रियता बढी रहेका जिल्लामा सुरक्षा सक्रियता बढाइएको छ भने चेकजाँच, गस्ती लगायत प्रहरी कारवाही बढेका छन् । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले कतिपय स्थानमा सामूहिक गस्ती परिचालन गरेका छन् भने राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाले पनि गोप्य रुपमा गतिविधिको निगरानी, सूचना संकलन लगायतका काम गरिरहेका छन् । विप्लव समूह आन्तरिक रुपमा ठूलो चुनौती बन्दै गएको निष्कर्ष सुरक्षा निकायको छ । ललितपुरमा एनसेल गेटमा बम विष्फोटमा एकजनाको ज्यान गएपछि प्रहरीले विप्लव समूहका नेता हेमन्तप्रकाश ओलीलाई ‘हिट लिस्ट’मा राखेको छ । खड्गबहादुर विश्वकर्मा, अनिल शर्मा विरही, धर्मेन्द्र वास्तोला, ओम पुन, सन्तोष बुढामगरको खोजी पनि तिव्र पारिएको बताइएको छ । विप्लव भने प्रहरीको फरार सूचीमै छन् । जाजरकोट, उदयपुर लगायतका जिल्लामा विप्लवमाथि बम विस्फोट लगायतका मुद्दा छन् ।

काभ्रे भिडन्तको वास्तविकता ?

मंगलबार साँझ एकाएक काभ्रेमा विप्लव समूह र महानगरीय अपराध महाशाखाको टोलीबीच गोली हानाहानको खबर सार्वजनिक भयो । महाशाखाका एसपी केदार ढकालका अनुसार विप्लव समूहले नियन्त्रण लिने प्रयास गर्दा गोली प्रहार गरेपछि प्रहरीले जवाफी कारवाही गरेको हो । घटनामा मानवीय क्षति भने भएन । काभ्रेको रोशी गाउँपालिकामा भएको भिडन्तमा प्रहरीले २ जना विप्लव समूहका कार्यकर्तालाई पक्राउ गरेको थियो । काभ्रेको रोशी गाउँपालिकाअन्तर्गत खहरेपांगु–२ काफलडाँडाबाट प्रहरीले मंगलबार विशाल तामाङ र शिव धिमाललाई पक्राउ गरेको छ । नुमबहादुर विक र विकेन्द्र राईलाई भने महाशाखाको टोलीले मंगलबार दिउँसो काठमाडौंको गोंगबुबाट पक्राउ गरेको थियो । पक्राउ परेका चारैजनाको सम्बन्ध नेता हेमन्तप्रकाश ओलीसँग देखिएको एक प्रहरी अधिकारीले बताए । नुमबहादुर विक र विकेन्द्र राई ओलीकै निर्देशनमा मोबाइल सीमकार्ड, लुगाकपडा र खाजा लगायतका खानेकुरा किन्न काठमाडौं आएका थिए ।

पक्राउ परेकामध्ये नुमबहादुर विक अवकाश रोजेका पूर्व लडाकु हुन् । उनले ८ लाख रकम राज्यबाट बुझेका थिए । विशाल तामाङ भने बम विज्ञ रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उपत्यका लगायत आसपासमा भएका विप्लव समूहका कैयौं गतिविधिमा उनीहरुको संलग्नता खुलेको महाशाखा स्रोतले बतायो । नख्खु बम विस्फोट र बसुन्धारा बम वस्फोटमा पनि उनीहरुको संलग्नता पुष्टि भएको एक अधिकारीले बताए । ‘‘उनीहरुको साथबाट बरामद भएको मोटरसाइकल घटनास्थलमा प्रयोग भएको देखिन्छ । अन्य आधारहरु पनि छन् । उनीहरुको सबैभन्दा बढी सम्पर्क हेमन्तप्रकाश ओलीसँगै भएको खुलेको छ । बयानमा पनि उनीहरुले यसलाई स्वीकार गरेका छन्,” एक प्रहरी अधिकारीले भने ।’ पक्राउ परेका नुमबहादुर विक र विकेन्द्र राईले ओलीको नाम लिएपछि महाशाखाको टोली उनीहरुलाई साथमै लिएर ओलीलाई पक्राउ गर्न काभ्रे पुगेको थियो । ‘‘उनीहरु ५–६ जनाको संख्यामा थिए । भौगोलिक विकटताका कारण घेरा हाल्न नसक्दा ओलीसहित विप्लव समूहका नेता–कार्यकर्ता उम्किए,’’ ती अधिकारीले भने । स्रोतका अनुसार पछिल्लो ११ दिनदेखि ओली त्यही स्थानमा डेरा जमाएर बसेका थिए । काफलडाँडामाथि महाभारत पर्वत पर्छ भने त्यो स्थान निकै विकट मानिन्छ । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर २ मा थोरै घरधुरी छन् । गाउँमा मगर समुदायको बाहुल्य छ । बीपी राजमार्गको कटुन्जेबाट मोटरसाइकालमा जाँदा डेढ घण्टाजति लाग्छ भने पैदल जाँदा साढे २ घण्टा । भिडन्त भएको गाउँ महाभारत लेकको तलपट्टि पर्छ र यो गाउँभन्दा माथिल्लो भेगतिर मानव वस्ती छैन । सजिलै सुरक्षाकर्मीै वा अन्य कोही त्यो स्थानमा पुग्न सक्दैनन् । तत्कालीन माओवादीले पनि त्यो क्षेत्रलाई सेल्टरको रुपमा प्रयोग गर्दै आएको बताइएको छ ।

सुरक्षा कारवाहीबाट उम्किए ओली 

विप्लव समूहको मध्यकमाण्ड इन्चार्जसमेत रहेका हेमन्त प्रकाश ओली ‘सुदर्शन’ मंगलबार साँझ प्रहरी टोलीबाट उम्किए । प्रहरी स्रोतका अनुसार काफलडाँडाबाट एक किलोमिटरको दूरीमा रहेका हेमन्त ओली भाग्न सफल भएका थिए । ‘‘रात परिसकेको थियो । दोहरो फायरिङ पनि भयो । तर ओलीसहित ४–५ जना उम्किए । गोली हान्ने योजना थिएन तर उनीहरुले पहिले फायर खोले,” घटनास्थल पुगेका एक प्रहरी अधिकारीले भने । केही दिनअघि पक्राउ परेका पोलिटब्यूरो सदस्य मोहन कार्कीसहितको समूह मध्य क्षेत्र कमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओली ‘सुदर्शन’को कोर टीमका सदस्य हुन् । प्रहरीले यसअघि नै नख्खु र बसुन्धारा बम विस्फोटमा संलग्न रहेको आशंकामा केदार खतिवडा, सूर्य भुजेल, किसान महासंघका संयोजक राजु कार्कीमाथि मुद्दा चलाएको छ । पछिल्लो समय पक्राउ परेका सबै ओलीको ‘कोर टीम’का सदस्य भएको प्रहरीले बताउँदै आएको छ । काभ्रे गोलीकाण्डबारे विप्लव समूहले आधिकारिक धारणा बाहिर ल्याएको छैन ।

आत्मरक्षाका लागि गोली चल्न सक्छ : प्रहरी 

प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदी विप्लव समूहका गविविधिमाथि कडा निगरानी सुरु गरिएको बताउँछन् । ‘‘सरकारले दिएको निर्देशनअनुसार प्रहरी सक्रिय छ । विभिन्न घटनामा संलग्न रहेकाहरुलाई समात्ने, मुद्दा चलाउने, गोप्य सूचना संकलन गर्ने लगायतका काम भइरहेका छन्,” प्रवक्ता सुवेदीले भने । विप्लव समूहका गतिविधिमा पूर्ण रोक र निगरानी, शंकास्पद स्थानमा गस्ती पेट्रोल गर्ने काममा तिव्रता आएको सुवेदीले बताए । विप्लव समूहका नेता–कार्यकर्तामाथि गोली प्रहार गर्ने प्रहरी रणनीति हो ? भन्ने बाह्रखरीको प्रश्नको जवाफमा प्रवक्ता सुवेदीले भने, ‘‘सामान्य अवस्थामा गोली चलाउने कुरा हुँदैन । प्रहरी विधि र प्रक्रियामा चल्छ । तर कार्यक्षेत्रमा खटिएको अवस्थामा प्रहरीमाथि नै प्रहार भयो भने आत्मरक्षाका लागि गोली चलाउँछौं ।’’ सुवेदीले प्रमुख तीन अवस्थामा गोली चलाउनसक्ने स्पष्ट पारे । पहिलो– नागरिकको जिउधनमा खतरा उत्पन्न भएको र गोली प्रहार नै अन्तिम विकल्प भएको सुरक्षाकर्मीलाई लागेमा, दोस्रो– हिरासत वा नियन्त्रणमा रहेको कैदीलाई रोक्न खोज्दा, चेतावनी दिँदा पनि नरोकिएको अवस्थामा र तेस्रो– आफ्नै ज्यान खतरामा परेको अवस्थामा । प्रवक्ता सुवेदीले कतिपय अवस्थामा गोली प्रहार गर्न आदेश लिनुपर्ने भएपनि आपतकालीन तथा केही विशिष्ट अवस्थामा भने आदेश पर्खिन नपर्ने बताए ।

को हुन् हेमन्तप्रकाश ओली ? – रुकुम जिल्लाको तत्कालीन मोरु भन्ने स्थानमा स्थायी घर भएका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ विप्लव नेकपाका स्थायी समिति सदस्य हुन् । ५ सदस्यीय समितिमा उनी तेस्रो नम्बरमा छन् । माओवादी पार्टी स्थापनादेखि नै सक्रिय सुर्दशन २ पटक सांस्कृतिक विचलनको कारवाहीमा परेका थिए । दोस्रो विवाह गरेपछि तत्कालीन एकीकृत माओवादीको स्थायी समिति सदस्य रहेका उनलाई कारवाही गरिएको थियो । कारवाहीमा परेपछि उनले प्रचण्ड नेतृत्वको माओवादी परित्याग गर्दै आफ्नै नेतृत्वमा नयाँ पार्टी खोलेका थिए । त्यसपछि विप्लवको नेकपासँग पार्टी विलय गराएका थिए । २०७२ साल वैशाख ३ गते एकीकृत नेकपा माओवादी पार्टीमा राजीनामा बुझाएका सुदर्शनले पुस १७ गते पार्टी त्यागेको घोषणा गरेका थिए । माओवादी युद्धमा उनले छोरी गुमाएका थिए । तत्कालीन माओवादीभित्र राम्रो अंग्रेजी बोल्न र लेख्न जान्ने तथा अध्ययन र लेखनमा सक्रिय ओलीलाई पार्टीभित्र मास लिडरभन्दा सैद्धान्तिक प्रशिक्षण दिने नेताको रुपमा चिनिन्छ । बाह्रखरीबाट

चर्चामा

सम्बन्धित समाचार