शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कविता दिवसको सबैमा शुभकामना

कविता दिवसको सबैमा शुभकामना

  • बिहिबार, चैत्र ७, २०७५
कविता दिवसको सबैमा शुभकामना

“अहँ म पापी हुँदै होइन !”
जन्मदैको पापी होइन मलाई पापी बनाइयो
म पापको भारी बोकेर आएकै थिइन
जब यो धर्तिमा पाइला टेके नि
निर्मल,कोमल,स्निग्ध र निष्कलङ्क थिए !
पारिवारिक सँस्कार अनुसरण गर्न लगाइयो
जानि नबुझी त्यसैमा तल्लीन रहेँ
यसरी जालोमा अल्झिएँ निस्कनै चालै पाइनँ ।
अनेक थरि मार्ग पहिल्याउन सिकाइयो
घर,परिवार समाज यत्रतत्र जहाँ गए नि
अरू सँग तुलना गर्न खोजियो
मेरो के दोष,म यसरी पापी बनेँ !
मलाई यसरी पापी बन्न बाध्य पारियो
अर्थोपार्जन नगरी नहुने
पद प्रतिष्ठा र शक्ति आर्जन गर्नलाई,
किनकी सबै भन्दा आफू अब्बल ठहरीनु थियो
अहँ म पापी हुँदै होइन !
यो वातावरणले मलाई पापी बनायो ।
ठूलो बन्न अनेक थरी बाटो तय गर्दागर्दै
अरूको दु:खमा आफ्नो सुख देखियो
अरूको असफलतामा नै सफलता देखियो
अरूको हार नै आफ्नो जीत ठहरियो ।
अरूले अराएको आरिस लाग्ने हुँदा
हुकुम दिने निकायमै हैकम जमाउने यत्न गरियो
दलाल,भ्रस्टाचारी,कमिसनधारी,लुटेरा,डाँका,चोर भँडुवा,फटाहा,बेइमानी,रक्त पिपासु,गरिबमारा आदि अनेक लाञ्छना युक्त राष्ट्रघाती र देशद्रोहीको बिल्ला भिराइयो ।
बाल मष्तिस्कमै स्वतन्त्रताको हरण गरियो
तर ! आखिर चाहेको के हो ?
अहँ कहिल्यै सोधिएन !
बारम्बार अरूका विचार लादियो
रूप,गुण,आकार,प्रकार,विकास,उत्पत्ति अनेक
इतिहासहरू घोकाइयो ।
र त ! परनिर्भर रहन बाध्य परियो
किनकी आफ्नै संसारमा रमाउन दिइएन
निष्कलङ्कबाट लोभी पापि र अहंकारी बनायो
अहँ म पापी हुँदै होइन
मलाई पापी बनाइयो ।
जीवनको उत्तरार्ध तिर पनि
धर्म,जात,वर्ण,लिंग भाषा आदि माध्यम बाट
फेरि भ्रममै रहन लगाइयो
मेरै ठूलो हो भन्ने मनसाय बनाई
पापी बन्न बाध्य पारियो ।
जन्म पछि मरण हुन्छ जाँन्दा जाँन्दै
आत्मा नमर्छ,नसड्छ,नगल्छ,नजल्छ
शरीरमा बास मात्र गरेको हुन्छ
शरिरले कार्य गर्न छोडेपछि अर्कै जीवमा सर्छ,
आखिर जीवन र जगत के हो नबुझेरै
स्वर्ग र नर्गको डर त्रास देखाइ
मुक्ति पाइने,परलोक जान पाइने बहाना बनाई
विभिन्न ज्ञान,गुण र लिलाका बखान गरेर
मन्त्र मुग्ध पार्दै
चेतन प्रवाह चुर्लुम्मै महमा माहुरी डुबे जसरी
अलौकिक नाम जब्न लगाइ
मन मस्तिष्क बाट हटाउनै नसक्ने गरि
वास्तविक सत्य तथ्य नबुझेर
मलाई यो समाजले यसरी पापी बनाइयो
अहँ म पापी हुँदै होइन !
म हुर्केकै वातावरणले मलाई पापी बनायो ।

यमराज उपाध्याय (तिमिल्सेना) काे फेशबुकबाट

 

चर्चामा

सम्बन्धित समाचार