• होमपेज
  • मनोरञ्जन
  • जानी नजानी लाएको माया

जानी नजानी लाएको माया

  • शुक्रबार, चैत्र १, २०७५
जानी नजानी लाएको माया

काठमाडाै, १ चैत

कर्पोेरेट प्रेमकथामा आधारित चलचित्र ‘जानी नजानी’ शुक्रबारबाट मुलुकका ७४ सिनेमा हलमा रिलिज हुने भएको छ। वितरक मनोज राठीका अनुसार मोफसलका ५२ र प्रस्तुतकर्ता रोशनी केसीका अनुसार काठमाडौंका २२ हलमा जानी नजानी रिलिज हुँदै छ। ‘मोफसलमा जानी नजानीले राम्रा हलहरू पाएको छ। तर काठमाडौंका वितकरले राम्रा हल मिलाइदिएनन्’, प्रस्तुतकर्ता रोशनीले भनिन्, ‘फिल्म राम्रो बनेको छ।

अहिलेसम्म हेरेका दर्शकले जानी नजानी मन पराउनुभएको छ। नेपाली फिल्ममा स्थापित प्रेम शैलीभन्दा हामीले केही फरक दिएका छौं।’ यसअघि कलात्मक चलचित्र ‘डाक्टर खाते’ निर्माण गरेकी रोशनीले यसपटक विशुद्ध प्रेमकथामा आधारित व्यावसायिक चलचित्र निर्माण गरेको बताइन्।

जानी नजानी वसन्त अधिकारीले निर्देशन गरेका हुन्। यो फिल्ममा आफूहरूले कर्पोरेट स्तरको प्रेम उठान गरेको र फिल्म क्षेत्रमा काम गरेको करिब दुई दशक लामो अनुभव यसमा उतारेको पनि निर्देशक अधिकारीले बताए।

चलचित्र जानी नजानीमा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसी सहितका कलाकारको मुख्य भूमिका छ। चलचित्रको गीत र ट्रेलर दर्शकले मन पराएका छन्। रोशनी इन्टरटेनमेन्टको ब्यानरमा निर्मित यो फिल्मका निर्माता मोदनाथ खनाल र सागरकाजी माली हुन्।

सामीप्यराज तिमिल्सिनाले लेखेको यो फिल्म सञ्जय लामाले छायांकन गरेका हुन्। अर्जुन जीसीको सम्पादन रहेको जानी नजानीमा अर्जुन पोखरेलको संगीत छ।

अभिनेता मनिष श्रेष्ठले विगतका सिनेमाभन्दा आफूले जानी नजानीमा फरक र राम्रो काम गरेको बताएका छन्। भारतीय टेली चलचित्र चन्द्र नन्दिनीकी नायिका निरिषाको यो डेब्यु फिल्म हो। भारतमा काम गरिरहेकी निरिषाले जानी नजानीको भूमिका निकै सशक्त र टिम राम्रो भएकाले आफूले यसमा काम गरेको बताएकी छन्।

साभार अन्नपुर्ण पाेष्ट बाट

चर्चामा

सम्बन्धित समाचार