मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • समाज
  • मन्त्रीका अंगरक्षकको पेस्तोल हराउँदा सेनालाई तनाव

मन्त्रीका अंगरक्षकको पेस्तोल हराउँदा सेनालाई तनाव

  • शनिबार, फाल्गुन १८, २०७५
मन्त्रीका अंगरक्षकको पेस्तोल हराउँदा सेनालाई तनाव

ताप्लेजुङको सिस्नेभीरमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको शवलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइसक्दा पनि केही सैनिकहरु सिस्नेभीरमै थिए ।

बुधबार दिउँसो भएको दुर्घटनामा ज्यान गुमाएका ४ जनाको शव सेनाका काबिल उद्धारकर्ताहरुले डोरीको सहायतामा विमानस्थलसम्म ल्याएका थिए । तर, खराब मौसमका कारण थप ३ जनाको शव ल्याउन अर्को दिन नै कुर्नुपर्‍यो ।

घटना भएको दिन साँझ सैनिक जवान र प्रहरी अधिकारी रातभर शव रुँगेरै बसे । बिहान सबैको शव विमानस्थलसम्म ल्याउने वित्तिकै प्रहरी अधिकारीहरु आ–आफ्नो कार्यक्षेत्रतिर लागे । घटनामा ज्यान गुमाएका अधिकांशको शुक्रबार अन्त्येष्टि पनि भइसक्यो ।

तर, नेपाली सेनाको एउटा टोली भने अहिले पनि घटनास्थल वरपर नै घुमेर बसेको छ । आखिर किन त ?

सैनिक जवानहरु मन्त्री अधिकारीका अंगरक्षक अर्जुन घिमिरेको साथमा भएको पेस्तोलको खोजीमा छन् ।

हेलिकोप्टरमा केही कागजपत्र पनि भएको बताइएको छ, जुन बाहिर उछिट्टिएको र पूर्णरुपमा नजलेको हुन सक्ने भन्दै सेनाले खोजिरहेको स्रोतको भनाइ छ ।

सैनिक उद्धार टोलीका एक अधिकारीका अनुसार अहिले बाक्लो हिमपात भएका कारण पेस्तोलको खोजी सफल भएको छैन ।

‘प्रहरीहरु घटनास्थलबाट गइसकेपछि पनि हामी केही समय बसेका थियौं’, ती सैनिक अधिकारीले भने, ‘तर, एक फिटभन्दा बढी हिउँ परेपछि अहिले फर्किएका छौं । यद्यपि, फेरि जान्छौं ।’

ती अधिकारीहरुका अनुसार दुर्घटनास्थल वरपर यो वर्ष सिजनकै सबैभन्दा बढी हिमपात भएको हो । यही कारणले पेस्तोल फेला पर्न नसकेको सेनाको अनुमान छ ।

जिल्लाको फुङलिङबाट करिब डेढ घन्टा गाडीको यात्राबाट काफ्ले पार्टी भन्ने ठाउँसम्म पुगिन्छ । त्यहाँबाट करिब साढे ३ घन्टा हिँडेपछि दुर्घटनास्थलमा पुगिने उद्धारकर्ताहरुले जनाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार