शनिबार, फाल्गुन १२, २०८०
  • होमपेज
  • विचार/ब्लग
  • महिला हिंसामा चर्चा धेरै, काम थोरै

महिला हिंसामा चर्चा धेरै, काम थोरै

  • बिहिबार, फाल्गुन १६, २०७५
महिला हिंसामा चर्चा धेरै, काम थोरै

देश संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था कार्यान्वयनको चरणमा छ। गणतन्त्र कार्यान्वयनकै सिलसिलामा मुलुकमा तीन तहका संरचना तयार भएका छन्। तीनै तहमा संरचनागत कानुन निर्माण भइरहेका छन्। ती कानुनले बहुदलीय व्यवस्थामा रहेका विभिन्न कानुन विस्थापित पनि गरिरहेका छन्। सोहीअनुसार नेपालमा जारी भएको मुलुकी ऐनले महिलालाई पनि विशेष प्रतिरक्षाको अधिकार दिएको छ, जुन कानुनले महिला आफू बलात्कृत हुँदा प्रतिरक्षाका क्रममा बलात्कारीलाई मारे पनि कानुन नलाग्ने छुटसम्म दिएको छ।

महिला अधिकारबारे सचेत हुने हो भने आफू बलात्कृत हुनासाथ बलत्कारीलाई मार्दा पनि कानुनी सजायबाट छुट पाउने व्यवस्था गरिदिएको छ। तर स्वयं बलात्कृत हुने अधिकांश महिला नै यो कानुनको महलबारे अनभिज्ञ छन्। एउटा महिलाको अस्मिता लुटिने कार्य भइरहेका छन्। अहिलेसम्मका घटना हेर्दा जसले प्रतिकार गर्न सक्दैनन्, तिनै बलात्कृत हुने गरेको देखिन्छ। जसमा बालिका र वृद्धा धेरै छन्।

बलात्कारी खुलेआम घुम्छन्, तर बलात्कृत महिला सामाजिक बहिष्करणमा परेका धेरै उदाहरण समाजमा छन्। समाजले बलात्कृत महिलालाई मात्रै दोषी देखाइरहँदा बलात्कृत हुनुका कारणबारे खोजी गर्न चाहँदैन। अझ बलात्कारका घटनालाई परिवारले नै ढाकछोप गरिदिने हुँदा त्यसले बलात्कारीलाई कानुनी सजायबाट टाढा पुर्‍याइदिन्छ। समाज वा परिवार महिलामैत्री कहिले बन्ने भन्ने प्रश्न अहिले पनि उठिरहेका छन्। कतिपय घटनाका दोषीले कानुनी सजाय पनि भोगिरहेका छन्। तर पनि यौन हिंसाका घटनामा कमी आउनुको सट्टा बढ्दो अनुपातमा रहेको पाइन्छ। किन हुन्छ बलात्कार ? फितलो कानुन, दोषीलाई उन्मुक्ति दिनु वा पुरुषले महिलालाई हेप्ने प्रवृत्ति ?

यस्ता प्रश्न अहिले पनि अनुत्तरित छन्। कारण जे होस्, महिला हरेक दिन कुनै न कुनै हिंसाको सिकार बनिरहेकै छन्। सामाजिक सोचकै कारण महिलाले म सुरक्षित छु भन्ने आभास गर्न सकिरहेका छैनन्। हरेक आमालाई छोरीको मात्रै चिन्ता होइन, छोराको पनि चिन्ता छ। कतै छोरा बलात्कारी बन्ने त होइन ? नेपालमा कानुन फितलो भएकै कारण बलात्कारका घटनामा वृद्धि भएको हो भन्ने सबैको ठम्याइ छ। फाँसी दिने कानुन भएको भए सायद यति धेरै बलात्कारका घटना हुने थिएनन् होला। महिलाको जीवन रक्षाको ग्यारेन्टी कसले गर्ने ? तोतेबोली बोल्ने बालिका ललाइफकाइ बलात्कृत भएका छन्, त्यो पनि आफ्नै बाबु, हजुरबुवा या नजिककै नातेदारबाट।

घटना हुने र सेलाउने सिलसिला निरन्तर चलिरहेकै छ। संवेदनहीन समाजमा अपांग र असक्त पनि छाडिएनन्। आधुनिकताले गाँजेर स्वार्थी बन्दै गएको समाजमा अपराध दिनदिनै बढेको बढ्यै छ। अपराधीलाई कानुनबमोजिम दण्ड दिनु नै अन्तिम उपाय हो। अपराध गर्नेहरूलाई कडा कारबाही गरेमा अन्य मानिसहरू अपराध गर्न डराउँछन् भन्ने मान्यता केही हदसम्म सत्य हो। अपराधीलाई सत्ता र शक्तिको दुरुपयोग गरेर उन्मुक्ति दिनेजस्तो घृणित काम रोक्न सबै सचेत भएर लाग्नुपर्छ। नेपालमा घटनाको प्रवृत्ति हेरेर ५ देखि १५ वर्षसम्म जेल सजाय व्यवस्था भए पनि अहिले बलात्कारीलाई मृत्युदण्ड दिन माग भइरहेको छ। अहिले पनि महिलामाथि हिंसा उत्तिकै भइरहेको छ।

निर्मला हत्याकाण्डजस्ता धेरै घटना दैनिकजसो भइरहेकै छन्। तर निर्मलाकाण्ड जस्ता धेरै घटनाका दोषी अहिले पनि कानुनी कारबाहीभन्दा निकै टाढा छन्। यसरी हत्यारा वा दोषी पत्ता नलाग्नु दुःखद छ। महिलामाथि हुने हिंसा र विभेद न्यूनीकरणका लागि विभिन्न प्रयास नभएका पनि होइनन्। चर्चा र छलफल धेरै भए। कोठेसभादेखि ओठे भाषणसम्म, सडकदेखि सदनसम्म महिला हिंसा र यौन अपराधका बारेमा चर्चा धेरै र समाधान थोरै भइरहेको छ। महिलाले अहिलेसम्म हामी सुरक्षित छौं भन्ने महसुस गर्न सकिरहेका छैनन्। हरेक बिहान पत्रपत्रिकाका पानाले महिला हिंसा र बलात्कारका घटनाका समाचार बोकेर आएको आयै छन्।

घटना हुन्छ, विरोधका स्वर निस्कन्छन्, महिला अधिकारका नारा लाग्छन्, उसैगरी सेलाउँछन्। हामीले समाधान खोज्न सकिरहेका छैनौं। बिहान स्कुल, कलेजका लागि घरबाट निस्केकी छोरी बेलुकी सुरक्षित घर फर्कने हो कि होइन भन्ने ग्यारेन्टी छैन। हरेक छोरी असुरक्षित छन्। समाज कुन दिशातर्फ मोडिँदैछ ?

महिला वा पुरुष बेरोजगार वा अशिक्षित भएमा अनेक किसिमका नकारात्मक सोच आउने र नराम्रो कर्ममा हात हाल्ने सम्भावना रहन्छ।

सार्वजनिक स्थल, वनजंगल, होटेल, स्कुलमा मात्र होइन, सुरक्षा दिने प्रहरीको हिरासतमा समेत महिला बलात्कृत भएका छन्। त्यति मात्रै होइन, पछिल्लो समय त बलात्कारपछि पोल खुल्ने डरले हत्याका घटना बढेका छन्। समाज विकृत भइरहेको छ। समाजमा विभिन्न प्रकारका हत्या, हिंसा, बलात्कार, झगडा आदि ड्रग्स, मदिरा, गाँजा र अन्य नशालु पदार्थ सेवन गरेका व्यक्तिबाट बढी मात्रामा हुने गरेको तथ्याकंले देखाएको छ। नेपालका गाउँसहरका हरेक पसलहरूमा मदिरा सहजै पाइन्छ। गाउँघरमा घरेलु मदिरा इजाजतबिनै बिक्री वितरण भइरहेको पाइन्छ। निकटदेखि विकटसम्म, गाउँदेखि सहरसम्म कहींकतै महिला सुरक्षित छैनन्। महिलासँग जोडिएर अपराध कर्म भएकै छन्।

दोषीले सजाय भुक्तान नगरेर उम्किँदा जघन्य अपराध भइरहेकै छन्। दोषी उम्कनै नसक्ने बलियो कानुन अहिलेको आवश्यकता हो। सरकारले पनि हरेक महिलाको सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ। यससँगै हरेक विद्यालयमा सामाजिक र नैतिक शिक्षा अनिवार्य सिकाइयोस्। समाज अशिक्षित भएकै कारण घटना बढेको भन्ने तथ्य सान्दर्भिक हुन सक्छन्। कहींकतै शिक्षा र अज्ञानताबाटै यस्ता घटना बढेको हुन सक्ने अनुमान पनि गरिएका छन्। शिक्षित महिला कमै हिसांमा पर्छन्, शिक्षा प्राप्त गरेका महिलासामु थुप्रै अवसर पनि हुन्छन्, सम्भावनाका ढोका खुल्छन्। जसले गर्दा उनीहरू अरूमा निर्भर हुने बाध्यता हट्नेछ।

संसारमा ठूला ओहोदामा पुगेका महिलाले उन्नति गरेका छन्, उनीहरू शिक्षित भएरै सफलता हासिल गरेका हुन्। महिलाको सफलताको कारण शिक्षा नै हो। रोजगारका अवसरहरूको सिर्जना शिक्षाले नै गर्छ। विशेषगरी प्राविधिक शिक्षाले रोजगार पाउन सहज वातावरण निर्माण गर्छ। हामीले नैतिक शिक्षालाई पनि उत्तिकै महŒव दिनुपर्ने हुन्छ। हाम्रा युवायुवतीलाई नैतिकवान् बनाउने विषयमा समाज सदैव सजग र जिम्मेवार बन्नुपर्छ। महिला वा पुरुष बेरोजगार वा अशिक्षित भएमा अनेक किसिमका नकारात्मक सोच आउने र नराम्रो कर्ममा हात हाल्ने सम्भावना रहन्छ। त्यसैले रोजगारको हक सुनिश्चित गर्न सरकार र निजी क्षेत्र लाग्न जरुरी छ।

अन्नपुर्ण पाेष्टबाट

चर्चामा

सम्बन्धित समाचार