बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • खेलकुद
  • आठौं राष्ट्रिय खेलकुद : दाङमा मैदान तयार

आठौं राष्ट्रिय खेलकुद : दाङमा मैदान तयार

  • बिहिबार, फाल्गुन १६, २०७५
आठौं राष्ट्रिय खेलकुद : दाङमा मैदान तयार

दाङ/पाल्पा — आठौं राष्ट्रिय खेलकुदका लागि जिल्ला–जिल्लामा संरचना निर्मार्ण अन्तिम चरणमा पुगेका छन् । अधिकांश खेलकुद स्थल तयार भइसकेको र केही निर्माणको अन्तिम चरणमा रहेको दाङ खेलकुद विकास समितिका अध्यक्ष डिल्ली डाँगीले बताए । लमहीस्थित क्रिकेट मैदान ५५ लाख रुपैयाँमा निर्माण पूरा भएको छ ।

मैदानमा दूबो रोप्ने काम सकिएको उनले बताए । यसैगरी एथलेटिक्सका लागि तयार भइरहेको बेलझुन्डीस्थित रंगशालामा फागुन १६ देखि दूबो रोपेर २७ गतेसम्म सम्पन्न गर्ने तयारी भइरहेको उनले जानकारी दिए । ‘दर्शक बस्ने प्यारापिट तयार भइसकेको छ । मैदान सम्याउने र नाली निर्माणको काम भइरहेको छ,’ उनले भने, ‘निर्धारित समयभित्र सम्पन्न गर्न निर्माण कम्पनीलाई निरन्तर दबाब दिइरहेका छौं । अहिलेसम्मको तयारी हेर्दा समयमा सकिन्छ ।’ बेलझुन्डीको रंगशाला २४ करोडमा निर्माण भइरहेको छ ।

यसैगरी ५० लाख रुपैयाँमा घोराहीको बास्केटबल, १० लाख रुपैयाँमा घोराहीकै ब्याडमिन्टन हल र २ करोड ५० लाख रुपैयाँमा तुलसीपुरको कभर्ड हल तयार भइसकेको डाँगीले बताए । बेलझुन्डीमा कराँतेका लागि हल निर्माण भइरहेको र बजेट समयमा नआएर काममा अलि ढिलाइ भएको उनले बताए । ‘आवश्यकताअनुसार बजेट थप पनि भइरहेको छ । तयारीमा कुनै समस्या छैन,’ उनले भने, ‘घोराहीको गुलरियास्थित क्रिकेट मैदानमा पनि बजेट थप भएको छ ।’

सम्बन्धित स्थानीय तह र प्रशासनसँग पनि निरन्तर समन्वय गरेर काम गरिरहेकाले सहज भइरहेको डाँगीले बताए । ‘मैदान निर्माण भइरहेका स्थानीय तहले पनि कामको नियमित अनुगमन गरिरहेका छन्,’ उनले भने, ‘प्रशासनले पनि कामको प्रगतिबारे निरन्तर जानकारी लिइरहेको छ । यसले निर्माण कम्पनीलाई पनि जवाफदेही बनाइरहेको छ ।’

जिल्लामा प्रदेशस्तरको खेलकुद प्रतियोगिताका लागि सम्पूर्ण तयारी भइसकेको डाँगीले बताए । फागुन १६ गते प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलबाट नेपालगन्जमा उद्घाटन गरी प्रदेशको खेल सुरु हुने उनले जानकारी दिए । त्यसपछि जिल्ला तहमा सुरुआत हुने उनले बताए । घोराहीमा १७ देखि २० गतेसम्म एथलेटिक्स, १९ देखि २१ गतेसम्म तुलसीपुरमा टेबुलटेनिस, २२ देखि २४ गतेसम्म घोराहीमा बास्केटबल र १९ देखि २२ गतेसम्म घोराहीमा उसु प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेल चैतमा हुने र यसको मिति अझै तय नभएको उनले बताए ।

स्थान टुंगो लागेन

पाल्पामा महिला भलिबल र बुद्धिचाल (चेस) प्रतियोगिता सञ्चालन हुनेछन् । महिला भलिबल फागुन २५ देखि २८ गतेसम्म र बुद्धिचाल २७ गतेसम्म हुने तय गरिएको छ । बुद्धिचाल आयोजक जुन होटलमा बस्ने हुन्, त्यहीं प्रतियोगिता सञ्चालन गर्ने तयारी जिल्ला खेलकुद विकास समितिको छ ।

अध्यक्ष करुणा काफ्लेका अनुसार बुद्धिचालका लागि स्थानको समस्या हुँदैन । महिला भलिबल कहाँ सञ्चालन गर्ने टुंगो लागेको छैन । तानसेन नगरपालिकाले स्तरोन्नति कार्य अगाडि बढाएको भन्दै टुँडिखेलमा अनुमति दिएको छैन । समितिले टुँडिखेल पहिलो स्थानमा छनोट गरेको छ । वैकल्पिकका रूपमा रामपुर र दमकडालाई राखिएको उनले बताए ।

‘अहिलेसम्म स्थान छनोट गर्न सकेका छैनौं,’ उनले भने, ‘नगरपालिकाले कार्यपालिका बैठकबाट खेलकुदलगायत अन्य मेला महोत्सव गर्न रोक लगाउने निर्णय गरेकाले टुँडिखेल अहिलेसम्म ‘ओके’ भएको छैन ।’ नगर प्रमुख अशोककुमार शाहीले दुई साताअघि नै माग गर्दा स्थानका विषयमा टुंगो नदिएकाले दमकडा र रामपुरमा कुरा भइरहेको अध्यक्ष काफ्लेले बताए ।

१२ जिल्लाका महिला खेलाडी आउने छन् । उनीहरूलाई लैजान र ल्याउन समस्या हुने भएकाले टुँडिखेलका लागि अझै पनि कुरा भइरहेको उनले बताए । ‘हामीले सकेसम्म टुँडिखेलका लागि प्रयास गरेका छौं,’ उनले भने, ‘कार्यपालिकाको निर्णय भएकाले पनि समस्या आएको छ ।’

मेयर शाहीले मेला महोत्सव, धार्मिक महायज्ञलगायत खेलकुद नगर्ने निर्णय गराएकाले समस्या भएको हो । तानसेनमा राख्दा होटललगायत अन्य सुविधा हुने उनले बताए । बुद्धिचालका लागि १२ जिल्लाका १८ खेलाडी आउने र होटलमा बसेर त्यहींसमेत प्रतियोगिता गर्न सकिने उनले बताए ।
कान्तीपूर दैनिकबाट

चर्चामा

सम्बन्धित समाचार