शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • पत्रपत्रिका
  • १५ मिनेटमै जलिसकेको थियो हेलिकप्टर, विज्ञ भन्छन्– दबावपूर्ण जोखिमले दुर्घटना

१५ मिनेटमै जलिसकेको थियो हेलिकप्टर, विज्ञ भन्छन्– दबावपूर्ण जोखिमले दुर्घटना

  • बिहिबार, फाल्गुन १६, २०७५
१५ मिनेटमै जलिसकेको थियो हेलिकप्टर, विज्ञ भन्छन्– दबावपूर्ण जोखिमले दुर्घटना

१६ फागुन, काठमाडौं । काठमाडौंबाट आज प्रकाशित नयाँ पत्रिकाबाहेक सबै दैनिक पत्रिकाहरुले हेलिकप्टर दुर्घटनाको दुःखद् खबरलाई व्यानर समाचार बनाएका छन् । पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको ज्यान जाने गरी बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटना भएको थियो ।

कान्तिपुरले ‘उडेको एक मिनेटमै पहरोमा’ शीर्षक दिएर लेखेको छ– हेलिकप्टरका क्याप्टेन प्रभाकर केसीले मौसम बिग्रिन थालेको भन्दै छिटो जान आग्रह गरे । टोली हतार–हतार उड्यो । लगत्तै ठेचुङका स्थानीयले पाथीभराबाट ओरालो लाग्दै गरेको हेलिकप्टर देखे । सीधै उड्नुपर्ने हेलिकप्टर ओरालो लाग्दै पहरोमा गएर ठोक्कियो ।’

कान्तिपुरका अनुसार, मन्त्री अधिकारी संसद्को प्रश्नोत्तरमा सहभागी भएर बिहीबार बर्लिन जाने तयारीमा थिए ।

दिवंगत अधिकारीसँगै दुर्घटनामा ज्यान गुमाएका व्यक्तिबारेको सामग्री पनि कान्तिपुरले छापेको छ । रवीन्द्र अधिकारीबारे कान्तिपुरले लेखेको छ–हँसिलो अनुहार, मिलनसार व्यवहार, सधैं केही गरौं भन्ने जोसले भरिएका अधिकारी धेरैका प्रिय थिए ।

अन्नपूर्णले ‘मन्त्रीसहित ७ जनाको निधन’ शीर्षक दिएर दुर्घटनाका विभिन्न पाटा–पक्ष केलाएको छ । अन्नपूर्णलाई दुर्घटनालगत्तै घटनास्थल पुगेका सिम्रिक एयरका पाइलटले बताएअनुसार उनी दुर्घटनाको १५ मिनेटमै दुर्घटनास्थल पुगेका थिए । जतिबेला हेलिकोप्टर जलिसकेको थियो । उनले भनेका छन्– म त्यहाँ पुग्दा सबैको मृत्यु भएको थियो । धेरैको शव पनि आधाजसो जलिसकेको थियो । आगो निभिसकेको तर धुँवा भने उडिरहेको थियो । मसँग तस्वीर खिच्नुको विकल्प थिएन ।’

अन्नपूर्णले दुर्घटनाबारे हवाई क्षेत्रका विज्ञले गरेको अनुमानलाई पनि अन्नपूर्णले समेटेको छ । विज्ञहरुका अनुसार दबावपूर्ण जोखिम मोलेर उडान गरेकाले मन्त्री अधिकारीसहित ७ जना चढेको हेलिकप्टर दुर्घटना भएको हुनसक्छ ।

नेपाल नागरिक उड्डय प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरले अन्नपूर्णसँग भनेका छन्– दुर्घटना हुनुअघि मौसम खराब थियो भन्ने त थाहा भएकै थियो । त्यसमा पनि पर्यटनमन्त्री, हेलिकप्टर मालिक, उड्डयन प्राधिकरणका पदाधिकारी रहेको उडानमा जोखिम हुँदाहुँदै पनि पाइलटले भन्न नसकेका हुनसक्छन् ।’

नियामक निकाय र एयरलाइन्सका मालिक र मन्त्री भएकाले सानोतिनो जोखिम टार्न सकिन्छ भनेर लिएको जोखिमले ठूलो दुर्घटना भएको अनुमान मानन्धरको छ ।

प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दली दुर्घटनालाई इतिहासभन्दा फरक रुपमा हेर्नुपर्ने बताउँछन् । उनले अन्नपूर्णसँग भनेका छन्– साधारण मान्छेले बुझ्ने त मौसम हो । तर विस्तृत विवरण अनुसन्धानबाटै आउँछ ।

नयाँ पत्रिकाले दरबारलाई चुनौती दिने नेताका रुपमा अधिकारीलाई प्रस्तुत गर्दै एक आशालाग्दा युवानेता अस्ताएको लेखेको छ ।

भारत–पाकिस्तान तनावलाई पनि आजका सबैजसो दैनिक पत्रिकाहरुले कभरेज गरेका छन् ।

जम्मु–काश्मिरको पलुवामा भएको आत्मघाती हमलामा ४० भन्दा बढी भारतीय सुरक्षाकर्मीले ज्यान गुमाएपछि भारत र पाकिस्तानबीच उत्पन्न तनावले बुधबारसम्म आइपुग्दा सानोतिनो युद्धकै रुप लिएको छ ।

चर्चामा

सम्बन्धित समाचार