शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • खेलकुद
  • अत्तरिया बन्यो डीपीएल च्याम्पियन

अत्तरिया बन्यो डीपीएल च्याम्पियन

  • आइतवार, फाल्गुन १२, २०७५
अत्तरिया बन्यो डीपीएल च्याम्पियन

धनगढी, १२ फागुन ।
दीपेन्द्र ऐरी कप्तानीको सीवाइसी अत्तरिया रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) तेस्रो संस्करणको च्याम्पियन बनेको छ ।
शनिबार फाप्ला क्रिकेट मैदानमा भएको फाइनल खेलमा शरद भेषवाकर नेतृत्वको टिम महेन्द्रनगर युनाइटेड विरुद्ध तीन विकेटको जित हासिल गर्दै अत्तरिया पहिलो पटक डीपीएल च्याम्पियन बनेको हो । जितसंगै अत्तरियाले मोफसलको क्रिकेट प्रतियोगितामा हालसम्मकै सबैभन्दा बढी ३० लाख रुपियाँ पुरस्कारसहित ट्रफी उचालेको छ । उपविजेता टिम महेन्द्रनगरले १२ लाख रुपियाँसहित ट्रफीमा चित्त बुझाएको छ ।
प्रतियोगितामा अत्तरियाकै कप्तान दीपेन्द्रसिंह ऐरी ‘मोस्ट भ्यालुएबल’ खेलाडी घोषित भइ सुनको जुत्ता प्राप्त गरे । यसैगरी, अत्तरियाबाटै खेलेका भारतीय खेलाडी सन्नी पटेलले ‘प्लेयर अफ द टुर्नामेन्ट’ को उपाधि जिते । उनलाई नगद दुई लाख रुपियाँ पुरस्कार प्रदान गरिएको छ । सन्नीले उत्कृष्ट ब्याट्सम्यानको उपाधि पनि जिते । उत्कृष्ट बलर घोषित अत्तरियाका भुवन कार्कीले नगद एक लाख रुपियाँ पुरस्कार प्राप्त गरे ।
महेन्द्रनगरले दिएको १२४ रनको चुनौती अत्तरियाले अन्तिम एक बल बाँकी छँदै सात विकेटको क्षतिमा पूरा गरेर उपाधि उचाल्यो । अन्तिम दुई बलमा तीन रन आवश्यक परेको रोमाञ्चक खेलमा भारतीय खेलाडी सन्नीले पहिलो बलमा नै छक्का प्रहार गरेपछि कुल १२७ रन पु¥याएर अत्तरिया च्याम्पियन बन्यो । सन्नीले २६ बलमा अविजित ४७ रन बनाउनुभयो । जसमा तीन छक्का र तीन चौका सामेल थियो । आफ्नो टिमलाई जिताएर सन्नीले म्यान अफ द म्याचको पुरस्कार पनि आफ्नै पोल्टामा पारे ।
अत्तरियाका लागि जयकिशन कोल्सावालाले ३० रनको योगदान गरे । उनलाई सागर ढकालको बलमा अमरसिंह रौतेलाले क्याचआउट गरे । यस्तै, कप्तान दीपेन्द्रले १७ रन बनाए । उनी मोहम्मद नाविदको बलमा क्लीन बोल्ड भएका थिए । भुवन कार्कीले आठ, ओपनर ज्ञानेन्द्र कुँवरले सात रनको योगदान दिए ।
बलिङ गर्दै महेन्द्रनगरलाई सागर ढकाल र मोहम्मद नाविदले समान दुई÷दुई विकेटको सफलता दिलाए पनि आफ्नो टिमको हार टार्न सकेनन् । अविनाश बोहरा र साहब आलमको भागमा एक÷एक विकेट परेको थियो ।
यसअघि, टस जितेर ब्याटिङ गरेको महेन्द्रनगरले २० ओभर पुरै खेल्दै सबै विकेटको क्षतिमा १२३ रन बनाएको थियो । महेन्द्रनगरका लागि प्रारम्भिक ब्याट्सम्यान दिलीप नाथले सर्वाधिक ४३ रन बनाए । ४१ बल सामना गरेका उनले एक छक्का र पाँच चौका प्रहार गरेका थिए । सन्नी पटेलले दिलीपलाई बोल्ड गरे ।
यसैगरी, कुशल मल्ल २५, रोहितकुमार पौडेल २४, आरिफ शेख ११ र मोहम्मद नाविद १० रन बनाएर आउट भए ।
बलिङ गर्दै अत्तरियालाई कप्तान दीपेन्द्रसिंह ऐरी र दीपेन्द्र रावतले समान दुई÷दुई विकेट लिए । सन्नी पटेलको भागमा एक विकेट परेको थियो । प्रतियोगितामा म्याच चेञ्जरको उपाधि अत्तरियाका विकेटकिपर जयकिशन कोल्सावाला र क्लीयर क्याचको उपाधि महेन्द्रनगरका अविनाश बोहराले प्राप्त गरे ।
प्रतियोगिता समापनपछि प्रतिक्रिया दिदैं उपविजेता टिमका कप्तान शरदले अत्तरियाले पहिले पनि राम्रो खेलेको र फाइनलसमेत राम्रो खेल्दै च्याम्पियन भएको बताए । यस्तै, विजेता टिमका कप्तान दीपेन्द्रले राम्रो खेलेर प्रतियोगितामा च्याम्पियन बनेको बताए । उनले भने–‘टिम च्याम्पियन हुनुको श्रेय सन्नीलाई जान्छ । उनले प्रतियोगिताभरी धेरै राम्रो खेले ।’ सन्नीले लामो लामो सट हान्ने भएकाले उनलाई फिनिसरको रुपमा टिमले उतारेको योजना सफल भएको ऐरीले बताए ।
प्यारापिटमा अटेनन् दर्शक
फाप्ला क्रिकेट मैदानमा अरुबेला दर्शकको कमी देखिए पनि फाइनल खेल हेर्नका लागि ठूलो उपस्थिति रहेको थियो । फाइनल खेल अवलोकनको क्रममा अस्थायी प्याराफिटमा दर्शक अटेनन् ।
पाँच हजार क्षमताको अस्थायी प्याराफिट भरिएपछि थपिएका दर्शकहरु भुइँमा उभिएर खेल अवलोकन गरेका थिए । फाइनल खेल सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड, नेपाली क्रिकेटका राष्ट्रिय कोच जगतबहादुर टमटा लगायत देशैभरीका क्रिकेटप्रेमी तथा समर्थकहरुले खेल अवलोकन गरेका थिए । प्रतियोगितामा सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार