शुक्रबार, फाल्गुन ११, २०८०
  • होमपेज
  • विचार/ब्लग
  • महान जनयुद्ध भनिएको माओवादी सशस्त्र युद्धको सम्झना

महान जनयुद्ध भनिएको माओवादी सशस्त्र युद्धको सम्झना

  • बुधबार, फाल्गुन १, २०७५
महान जनयुद्ध भनिएको माओवादी सशस्त्र युद्धको सम्झना

Image may contain: 1 person, closeup

हर्क खडायत

०५२ फागुन १ अर्थात नेपालमा सशस्त्र युद्ध सुरु भएदेखि समाप्त भएको घोषणा गरिएकाे दिन २०६३ मंसिर ५ गतेसम्ममा झन्डै पन्ध्र हजार मानिसको मृत्यु भएको कहाली लाग्दो तस्वीर देखिन्छ । तर माओवादी नेताहरू यो क्षतिलाई संसारका क्रान्तिहरूको तुलनामा निकै कम क्षति भएको बताउ छन् । जनयुद्ध सुरु भएपछि सबै भन्दा पहिले प्रहरीको गोलीबाट १४ फागुन २०५२ मा गोरखाका ११ वर्षिय विद्यार्थी दिलबहादुर रम्तेलको हत्या भयो । त्यसको भोलिपल्ट नै रुकुममा ६ जना खत्री समुदायका माओवादी समर्थक मारिए ।

जनयुद्ध सुरु भएपनि २०५३ असारमा बसेको माओवादी केन्द्रिय समितिको पूर्ण बैठकले- योजनाबद्ध ढंगले छापामार युद्धको विकास गरौँ’ भन्ने नारा तय गर्यो जसको उद्देश्य हातहतियार कब्जा गर्नु र देशका पूर्व, मध्य र पश्चिमका सबै भन्दा बढी प्रभाब रहेका इलाकाहरूलाई छापामार इलाकामा बदल्नु थियो ।

२०५५ भदौको केन्द्रिय समिति बैठक पश्चात माओवादीले गाउँमा आधार इलाका निमार्ण गर्दै गए । त्यही बेला सरकारले किलोसेराटु अपरेशन चलाउँदा गैरमाओवादीहरूले झन् बढी दुःख पाए । माओवादी सशस्त्र युद्ध झन् दु्रत गतिमा चर्किदै गयो । २०५७ असोज ८ गते डोल्पाको सदरमुकाम दुनै आक्रमणमा परेपछि विज्ञद्धारा माओवादी सशस्त्र युद्ध सरकारको कावुबाहिर गएको अनुमान गरियो । त्यो भन्दा अगाडि माओवादीले जिल्ला सदरमुकाममा आक्रमण गरेको थिएन ।

२०५८ भदौको केन्द्रिय भेलाले फौजी संगठनको नाम जनमुक्ति सेना, नेपाल राख्यो । त्यसपछि माओवादीले ०५७ चैते दशैका दिन रुकुम जिल्लाको रुकुमकोट चौकी माथि आक्रमण गरे । ०५८ असारमा होलेरी, मंसिरमा दाङको घोराही, फागुनमा मंगलसैन र साँफेबगरमा हमला गरि धेरै सेना र प्रहरीको ज्यान लिए । ०५९ बैशाख १९ गते रोल्पाको लिस्नेमा आक्रमण गरे र बैशाख २४ गते रोल्पाको गामडाँडामा आक्रमण गर्दा आफ्नै तर्फका प्लाटुन कमाण्डर सहित ३५ जनाले ज्यान गुमाउनु परेको तितो अनुभव नन्दकिशोर पुन पासाङले आफ्नो पुस्तक इतिहासको रक्तिम पाइलामा पोखेका छन् । ०५९ भदौ २३ गते अर्घाखाँचीको सन्धिखर्कमा भएको हमलामा पनि माओवादी र सरकारी दुबै तर्फका गरि करिब १०० जना भन्दा बढी लडाकु र सुरक्षाकर्मीले ज्यान गुमाए । त्यस्तै कात्तिक २८ गते जुम्ला सदरमुकाम खलङ्गा र चैत्र ७ गते म्याग्दीको बेनीमा भएको आक्रमणमा पनि दुबै पक्षले ठुलो मात्रामा क्षति बेहोर्नु पर्यो । आखिर यस्ता विभिन्न घटनाहरूमा पक्ष विपक्ष जसलाई बनाइए पनि ती सबै नेपाल आमाका छोराछोरी नै थिए, ज्यान गुमाउने, घाइते र अपाङ्ग हुने ।

दशवर्षे द्वन्द्वमा दुबै तर्फबाट केन्द्रिय नेतृत्वदेखि निम्न स्तरसम्मका व्यक्तिले ज्यान गुमाए । माओवादी तर्फबाट मरेका व्यक्तिहरू मध्य सबै भन्दा ठुलो नेता वैकल्पिक पोलिटब्युरो सदस्य सुरेश वाग्लेले ज्यान गुमाए । त्यस्तै अन्य केन्द्रिय सदस्यमा मोहनचन्द्र गौतम (कुमार), रितबहादुर खड्का (प्रताप), शेरमान कुँवर (विशाल) र नेपबहादुर के.सी. (परिवर्तन) पनि युद्धमा बाँच्न सफल बनेनन् । माओवादी सेनातर्फ डिभिजन कमाण्डर किमबहादुर थापा (सुनिल) ले ज्यान गुमाए भने बिग्रेड कमाण्डर प्रेमबहादुर रोकाया, अमर वि.क., कमलराज विष्ट, प्रकाश रिजाल, दिलबहादुर पुन लगायत अन्य बटालियन कमाण्डरको पनि युद्धमा मृत्यु भयो । यो भन्दा तल्लो तहका सेना र अन्य पूर्णकालिन कार्यकर्तामा पनि हजारौँ जनाले ज्यान गुमाए ।

त्यहि द्वन्द्वमा सरकारको तर्फबाट ज्यान गुमाउने व्यक्तिहरू पनि आज इतिहासको पानामा अमर देखिन्छन् । ती व्यक्तिहरू मध्य ०५९ माघ ११ गते सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठ मारिए । मर्निङ्वाकमा निस्केको बेला माओवादीको गोलीले मरेको श्रेष्ठ सरकारी सुरक्षाफौजको तर्फबाट मरेका सबैभन्दा ठुलो ओहदाका व्यक्ति हुन् । त्यस्तै दाङको हमलामा मेजर नरेश उप्रेती, पाँचकटियामा प्रहरी निरीक्षक नवराज पौडेल, रुम्जाटारमा क्याप्टेन दिनेश थापा, काठमाडौँमा महासेनानी किरण बस्नेत लगायत रथी सागर पाण्डेले पनि ज्यान गुमाए । सरकारी कर्मचारीमा तात्कालिन जुम्लाका प्रमुख जिल्ला अधिकारी दामोदर पन्त, सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बुद्धिसागर त्रिपाटी, पश्चिमाञ्चल क्षेत्रिय सहपरिक्षा नियन्त्रक इन्द्रबहदुर आचार्य पनि माओवादीको गोली बाटै मारिए । वीरगञ्जको मनोनित नगरप्रमुख भएकै कारण पत्रकार गोपाल गिरी मारिए । आफ्नै श्रीमतीको अगाडि सिन्धुपाल्चोकका पत्रकार ज्ञानेन्द्र खड्काको घाँटी सेरियो ।

दैलेखका पत्रकार डेकेन्द्र थापा पनि सामुदायिक काममा हिडेका थिए, माओवादीले अपहरण गर्दै हत्या गरे । त्यस्तै बीरेन्द्र साह, प्रकाश ठकुरी, उमा सिंह उदाहरण मात्रै हुन्, धेरै जनाले आफ्नो व्यक्तिगत काम भन्दा पनि जनताको आवाज लेख्न हिड्दा हिड्दै यो दुनियाबाट बिदा लिनु पर्यो ।
माओवादी सशस्त्र युद्ध सुरु हुँदै सरकारी सेनाको पहिलो निसानीमा परिन काँभ्रे धुलिखेलकी रीना रसाइली र सुभद्रा चौलागाई । त्यसपछि २०५३ भदौ ८ गते नेपाली काँग्रेसको कार्यकर्ता भएकै कारण रोल्पाका ३२ वर्षिय कालीबहादुर बुढाले यो धर्तीमा पुरै आयु खान पाएन, उनी माओवादीबाट मारिए । साथै युद्धको सुरुवातीमा नै रुकुममा नरजीत बस्नेतले पनि माओवादीबाटै एउटा हात कटाइ पाए, अहिले एउटै हातको सहाराले उही पुरानो पेशा सम्हाली रहेका छन् ।

लमजुङ दुराडाँडामा रहेको पाणिनी मा.वि.मा विज्ञान र गणित विषय पढाउँने शिक्षक मुक्तिनाथ अधिकारी द्वन्द्वका नायक नै बने । पढाउँदै गर्दा अपहरणमा परेका अधिकारी (०५८ माघ ३ गते जुन दिन उनी स्कुलको प्रधानाध्यापकमा नियुक्ति भएका थिए) लाई माओवादीले उनकै घरको अलि माथि उत्तीसको रुखमा पासो थापी मारे । उत्तीसको बोटमा पासोथापेको उनको फोटो आज धेरै व्यक्ति र मिडियासँग सुरक्षित छ । दश वर्षे द्वन्द्वको कालो इतिहास पनि यसै फोटोमा भेटिन्छ ।

एकसय पचास जना यात्रुले खचाखच भरिएको बस माथि
माओवादीले २०६२ जेट २३ गते चितवन कल्याणपुर गाविस बाँदरमुडे खोलामा विष्फोट गराउँदा ३५ सर्वसाधारण र ३ सैनीक गरि ३८ जनाले बिनाकसुर ज्यान गुमाए । जसमा ७० जना घाइते भएका थिए । त्यही दिनसम्म बाँच्ने भनेर आएका त मरि नै हाले तर घाइतेहरूको हालत अहिले कस्तौ छ, देश बनाउछु भन्नेहरू कसैलाई थाहा छ ? दुखेको चोटसँगै बाँच्न विवश घाइतेहरूको पिडामा आज कसैले मलम लगाउन सकेनन् ।

रामेछाप जिल्लाको दोरम्बामा एउटा घरमा भेला भइरहेका १९ जना माओवादी कार्यकर्ताहरूलाई २०६० साउन ३२ गते शाही नेपाली सेनाले घेराहाली डडुवा गाविसको डाँडाकटेरीमा लगेर सामुहिक हत्या गरे । उक्त घटना पछि छानबिनका लागि गठन भएको समितिले शाही नेपाली सेना दोषी भएको ठहर गर्दै समितिले कब्जामा लिएका व्यक्तिलाई हात पछाडी बाँधेर नजिकबाट बन्दुकको गोली प्रहार गरि मार्नु अन्तराष्ट्रिय मानवीय कानुन र खास गरि आन्तरिक प्रकृतिको सशस्त्र विवादको समयमा गिरफ्तार गरि पूर्ण रुपमा कब्जा लिएका बन्दीहरूलाई संरक्षण गर्नुपर्छ भन्ने सिद्धान्त रहेको जेनेभा महासन्धिको साझा धारा–३ विपरीत घटना भएको निष्कर्ष निकालेको थियो । यो घटना यत्तिमै टुङ्गीएन, माओवादीले सेनाको सुराकी भएको आरोपमा पछि तीन जना गाउँलेको हत्या गरे । त्यसकै बदलामा फेरि सेनाले सामुदायिक स्वास्थ्य कार्यकर्ता रेलिमाया तामाङको ज्यान लियो ।

०६९ सालको कात्तिक महिनामा बाजुरा जिल्लाको पाण्डुसैन गाविसमा पनि सेनाले ७ जनाको हत्या गरे । त्यो दिन स्थानीय हरिकृष्ण रावतको घरमा राती ती मर्नेहरू तास खेलिरहेका थिए । तर माओवादी सशस्त्र युद्धसँग कोही सम्बन्धित थिएनन् । अचानक राती सेनाले त्यो घर घेराबन्दीमा पारेपछि ती व्यक्तिहरूले सेना नभइ माओवादी आएको सोचेर बालेको बत्ती समेत निभाएछन् । किनकी माओवादीले त्यो बेला गाउँ घरमा जुवातास खेल्न बर्जित गरेका थिए । सदरमुकाम मार्तडीबाट गस्तीमा गएको सेनाले बिहान करिब ४ बजे उक्त घरको ढोका फोडेर ७ जनाको हत्या गरे । मर्नेहरूमा पाण्डुसैन वडा नं. ७ का चन्दु वोहरा, तुला रावत, नरबहादुर वोहरा, सौर्य रावत, काशी सार्की, रुप दमाई र वडा नं. ५ का रामलाल दमाई रहेका थिए । मर्नेहरूका परिवार र छोरा छोरीले कसरी जीवन चलाइरहेका छन् भन्ने कुरा मोहन मैनालीले बनाएको पुनेको पैन्ट नामक डकुमेन्ट्रीमा देख्न सकिन्छ ।

कालिकोटको कोटवाडामा एर्पोटको धावन मार्ग निमार्णका लागि सयौँ किलोमिटर टाढा धादिङ जोगीमाराबाट कामदारहरू काम गर्न हिँडेका थिए । ०५८ माघ २० गतेको बिहान सेनाले तिनीहरूको बासस्थानमा हवाइ आक्रमण गरेर ३५ जनाको अनाहकमै ज्यान लिए । त्यसमा १७ जना धादिङ जोगीमाराकै थिए । गरिबी टार्न कामको खोजिमा हिँडेका आफन्त यसरी मारिदा बाँचेकाहरू निकै छट्पटाए, कसैको आफन्तले त छोरा मारिदा घरमा आत्महत्या नै गरे । उक्त घटनामा कोटवाडाका मर्नेहरू २१ वर्ष मुनिका युवक थिए । १८ केटाकेटी बाबु बिहीन टुहुरा भए र १० महिलाले पती गुमाइन ।

तर प्रचण्ड अहिले माओवादी युद्धको सम्झना कसरी गर्दै हाेलान् ???

लेखक : हर्क खडायत अधिबक्ता हुन् ।

चर्चामा

सम्बन्धित समाचार