• होमपेज
  • खेलकुद
  • भारतविरूद्ध उसकै भूमिमा नेपालको ऐतिहासिक जित

भारतविरूद्ध उसकै भूमिमा नेपालको ऐतिहासिक जित

  • मङ्लबार, माघ २९, २०७५
भारतविरूद्ध उसकै भूमिमा नेपालको ऐतिहासिक जित

काठमाडौं : भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकप प्रतियोगितामा नेपाली महिला फुटबल टोलीले आयोजक भारतविरूद्ध ऐतिहासिक जित दर्ता गराएको छ । नेपालले उसकै भूमिमा २-१ को ऐतिहासिक जित दर्ता गराउन सफल भएको हो ।

कलिङ्गा रंगशालामा नेपालले भारतमाथि २-१ ले जित दर्ता गराउँदा दुवै गोल चर्चित स्ट्राइकर सावित्रा भण्डारीले गर्न सफल भइन् ।

सावित्राले खेलको पाँचौ मिनेटमै गोल गर्दै नेपाललाई अग्रता दिलाउन सफल भइन् । हिराकुमारी भुजेलले दिएको लामो पासमा सावित्राले गरेको प्रहार भारतकी गोलरक्षक अदिति चौहानले छोए पनि पोस्टको दिशामा जानबाट रोक्न सकिनन् ।

पहिलो गोल गरेको २ मिनेटमै सावित्राले दोस्रो गोल गर्न सफल भइन् । मनमाया लिम्बूले पेनाल्टी क्षेत्रभित्र दायाँ तर्फबाट दिएको क्रस पास गोलरक्षक अदितिले खुट्टामुनिबाट छोडेपछि सावित्राले गोललाइनबाट खाली पोस्टमा छिराइन् ।

सुरुबाटै नेपाल हावी हुँदा भारतले खेलमा फर्किने अवसर पाएन । तर खेलको ८४ औं मिनेटमा रतनाबाला देवीले फ्रीकिकमा गोल गर्दै नतिजा २-१ मा झारिन् । अन्तिम समयमा खेलमा फर्किने भारतको प्रयास त्यसपछि सफल हुन सकेन ।

भारतविरूद्धको  ऐतिहासिक जितपछि नेपालले उपाधि भिडन्तका लागि स्थान बनाउने सम्भावना अझै बाँकी छ । नेपाल यही प्रतियोगिताको पहिलो खेलमा म्यानमारसँग ३-० गोलले पराजित भएको थियो ।

फाइनलमा पुग्न नेपालले अब अन्तिम खेलमा इरानलाई पराजित गर्नुपर्नेछ । अर्कातिर म्यानमारले भारतविरुद्ध बराबरी अथवा जित निकालेमा पनि नेपाल र म्यानमार फाइनलमा पुग्नेछन् । भारतले म्यानमारलाई हराएमा भने नेपाल बाहिरिने छ । भारतले पहिलो खेलमा इरानलाई १-० गोलले हराएको थियो।

भारतीय फुटबल संघले नेपालको विराटनगरमा आगामी फागुन २८ देखि चैत ८ सम्म हुने पाँचौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको तयारीका लागि हिरो गोल्डप आयोजना गरेको हो।

हिरो गोल्डकप प्रतियोगितामा आयोजक भारतसहित नेपाल, म्यानमार र इरानले भाग लिएका छन्। नेपालले आफ्नो तेस्रो खेल फागुन १ गते इरानसँग खेल्नेछ। प्रतियोगितामा म्यानमार र भारतले तीनतीन अंक बनाएका छन्। इरान र नेपालले खाता खोल्न सकेका छैनन्। राउन्ड रोबिन लिगका आधारमा सञ्चालित प्रतियोगिताको शीर्ष दुई टोली फाइनलमा पुग्नेछन्। फाइनल फागुन ३ गते हुनेछ।

अन्नपुर्ण पोष्ट बाट साभार

चर्चामा

सम्बन्धित समाचार