• होमपेज
  • मनोरञ्जन
  • चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलद्वारा राजीनामा

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलद्वारा राजीनामा

  • बुधबार, माघ २३, २०७५
चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलद्वारा राजीनामा

काठमाडौं । चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले राजीनामा दिएकी छन् ।
उनले व्यक्तिगत जीवनमा व्यस्त हुनुपर्ने भन्दै राजीनामा दिएकी हुन् । उनले विज्ञप्तिमार्फत माघ २३ गतेदेखि लागू हुने गरी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई राजीनामा पेश गरेको बताएकी छन् । ‘ब्यक्तिगत जीवनमा ब्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपरोस् भनी मैले यो निर्णय लिएकी हुँ’ उनले भनेकी छन् ।
यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित समीक्षा बैठकमा अनुपस्थित भएको भन्दै मन्त्रालयले स्पष्टिकरण सोधेको थियो । तर पौडेलले मन्त्रालयको स्पष्टिकरण पत्र आफूले नपाएको बताइन् ।
उनले हालै सञ्चारकर्मी रवि लामिछानेसँग कोर्ट म्यारिज गरेकी छन् ।पौडेललाई २०७४ मंसिर २५ गते तत्कालिन मन्त्रिपरिषले विकास बोर्डमा अध्यक्ष नियुक्त गरेको थियो । उनले आफूले नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो पटक ‘बक्स अफिस’ प्रणाली शुरूवात गरेको र विकास बोर्डकै पहिलो महिला अध्यक्ष हुन पाएको पनि उल्लेख गरेकी छन् ।
पौडेलले आफूलाई दिइएका जिम्मेवारी मन्त्रालयले तोकेको समय–सीमा भित्रै समापन गरी त्यसको रिपोर्ट पनि मन्त्रीलाई बुझाएको विज्ञप्तिमा उल्लेख गरेकी छन् ।‘उर्जावान नयाँ पुस्ताका चलचित्रकर्मीहरुलाई प्रोत्साहन तथा विशिष्ट आदरणीय चलचित्रकर्मीहरुको सम्मानमा केही उल्लेख्य कामको शुरूवात गर्ने अवसर मिल्यो। यो मेरालागि ठूलो उपलब्धि भएको छ’ पौडेलले भनेकी छन् ।
डिजिटलाइजेसनसहित अभिलेख ब्यवस्थापन, चलचित्र नगरीको अध्ययन, स्वदेशी तथा विदेशी लगानीकर्ताहरुको सम्मेलनको अवधारणा, सन्देशमूलक चलचित्रलाई करमा सहुलियत, विशिष्ट चलचित्रकर्मीका लागि उपचार लगायतमा सहयोगमा रकम थपलगायतका काम आफूले गरेको निकिताले बताएकी छन् ।
तीन महिनाको तलब रवि लामिछानेको अस्पतालमा
उनले सरकारबाट पाएको पछिल्लो ३ महिनाको तलब बापतको रकम श्रीमान रवि लामिछानेको संयोजकत्वमा कालिकोटमा निर्माण हुँदै गरेको ‘रास्कोट सामुदायिक अस्पताल’ लाई दिने घोषणा गरेकी छन् ।पौडेलले विकास बोर्डको अध्यक्ष नरहे पनि चलचित्र क्षेत्रको हितका लागि क्रियाशील हुने बताएकी छन् । ‘यस क्षेत्रमा योगदान दिन मलाई कुनै पदको जरुरत पर्दैन’ उनले भनेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार