बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • खेलकुद
  • कर्णाली प्रदेशमा ‘मुख्यमन्त्री रनिङ शिल्ड’ प्रतियोगिता हुने

कर्णाली प्रदेशमा ‘मुख्यमन्त्री रनिङ शिल्ड’ प्रतियोगिता हुने

  • बुधबार, माघ २३, २०७५
कर्णाली प्रदेशमा ‘मुख्यमन्त्री रनिङ शिल्ड’ प्रतियोगिता हुने

कर्णाली प्रदेशमा ‘मुख्यमन्त्री रनिङ शिल्ड’ सञ्चालन हुने भएको छ।
सामाजिक विकास मन्त्रालयको आयोजनामा फागुन १ गतेदेखि ४ गतेसम्म प्रदेश राजधानी वीरेन्द्रनगरमा रनिङ शिल्ड सञ्चालन गर्न लागिएको हो।
शिल्डअन्तर्गत यस वर्ष प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुनेछ।
प्रतियोगितामा प्रदेशका दस वटा जिल्लाको सहभागिता रहने छ। प्रतियोगितामा प्रत्येक जिल्लाबाट २० जना खेलाडी, १ जना महिला प्रशिक्षक, १ जना पुरुष प्रशिक्षक र एकजना टिम व्यवस्थापक गरी २३ जना खेलाडीको समूहले भाग लिने छन्।
भलिबल प्रतियोगितामा दस वटा जिल्लाका गरी २०० खेलाडी, १० जना पुरुष प्रशिक्षक, १० जना महिला प्रशिक्षक र १० जना टिम व्यवस्थापकसहित २३० जना खेलाडीले भाग लिने आयोजक सामाजिक विकास मन्त्रालयका सचिव मानबहादुर विकले जानकारी दिए।
मन्त्रालयका सचिव तथा खेल व्यवस्थापन समितिका संयोजक विकका अनुसार प्रतियोगितामा सहभागी हुन प्रत्येक जिल्लाबाट महिला तथा पुरुष सम्मिलित एक/एक टिम छनोट गरी मन्त्रालयमा विवरण पठाउनुपर्ने छ। जसका सबै जिल्लाका खेलकुद विकास समितिलाई लागि पत्राचार गरिसकिएको छ।
खेलाडी छनोट, अभ्यास खेल र खेलाडीका लागि आवश्यक पर्ने पोशाकलगायतका व्यवस्थापन गर्न प्रत्येक जिल्लामा एक/एक लाख रुपैयाँ पठाउने निर्णय समेत गरिएको उनले जानकारी दिए।
उनका अनुसार भलिबल प्रतियोगिता वीरेन्द्रनगरस्थित खुला मञ्चमा सञ्चालन हुनेछ।
मुख्यमन्त्री स्तरीय रनिङ शिल्डअन्तर्गत भलिबल प्रतियोगिता सञ्चालन गर्न खेल व्यवस्थापन समिति गठन गरेको छ। प्रतियोगिताको संरक्षक मुख्यमन्त्री रहने व्यवस्था गरिएको छ भने प्रमुख सल्लाहकारमा सामाजिक विकास मन्त्री रहने व्यवस्था गरिएको छ।
प्रतियोगिता भव्य र सभ्यरूपमा सम्पन्न गर्नका लागि खेलकूद व्यवस्थापन समितिअन्तर्गत विभिन्न आठ वटा उपसमितिहरू गठन गरिएको छ। जसमा मञ्च व्यवस्थापन उपसमिति, अतिथि सत्कार उपसमिति, खेल सञ्चालन उपसमिति, आर्थिक व्यवस्थापन उपसमिति, पुरस्कार, पदक तथा प्रमाणपत्र उपसमिति, झाँकी तथा साँस्कृतिक व्यवस्थापन उपसमिति, प्रचारप्रसार उपसमिति र न्यायिक उपसमिति रहेका छन् ।
प्रतियोगिताअन्तर्गत प्रथम हुने समूहलाई १ लाख, द्वितीय हुने समूहलाई ७५ हजार र तृतीय हुने समूहलाई ५० हजार नगद पुरस्कार राशिको व्यवस्था गरिएको छ। यस अनुसार प्रथम स्थान हासिल गर्ने पुरुष र महिला समूहलाई१/१ लाखका दरले दुई लाख, द्वितीय समूहलाई १ लाख ५० हजार, तृतीय समूहलाई १ लाख रुपैयाँ नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक सामाजिक विकास मन्त्रालयले जनाएको छ।
यस्तै, प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीलाई ५/५ हजारका दरले १० हजार रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने छ।
नगद पुरस्कारमा नियम अनुसारको कर कट्टा गरिने जनाइएको छ।

चर्चामा

सम्बन्धित समाचार