नेकपा विभाजनपछि दुई नेताहरू केपी ओली र माधव नेपालबीच दिनहुँजसो जुहारी चलिरहेको छ । ओली आफू नेपालभन्दा सिनियर रहेको दाबी गरिरहेका छन् भने नेपालले ओली विध्वंसकारी रहेकाले पार्टीमा जहिल्यै समस्या खडा गर्ने गरेको आरोप लगाएका छन् ।
ओली–माधवको ४८ वर्ष लामो राजनीतिक सम्बन्ध कम रोचक भने छैन । उनीहरूको ‘लभ-हेट’को उतारचढावपूर्ण सम्बन्धको अन्तर्यमा सधैँ पार्टी र सत्ता नेतृत्वको आकांक्षा मात्र देखिन्छ ।
२०२८ सालको आखिरीतिर माधव नेपाल मोरङको रानीमा बैंकमा काम गर्थे । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पस पढ्दैदेखि वाम समर्थक रहेका नेपाललाई भेट्न भूमिगत नेताहरू उनीकहाँ पुगिरहन्थे । त्यही क्रममा केपी ओलीसँग उनको भेट भएको थियो ।
समकालीन नेता राधाकृष्ण मैनालीका अनुसार २०२८ सालको अन्त्यतिर रानीमै ओली र नेपालबीच पहिलो भेट भएको हाे ।
२०२९ सालमा ओली झापा आन्दोलनका प्रमुख बने । प्रहरीले पछ्याउन थालेपछि उनी लुक्दै–लुक्दै मोरङ पुगे । त्यतिबेला ओलीलाई नेपालले सेल्टर दिएर झण्डै तीन महिना डेरामा राखेका थिए । ‘पुलिसले खोजिरहेका बेला मंसिर-पुसका तीन महिना ओली माधवको कोठामा लुकेर जोगिए’ मैनाली भन्छन् ।
२०२९ सालमा ओली झापा आन्दोलनका प्रमुख बने । प्रहरीले पछ्याउन थालेपछि उनी लुक्दै–लुक्दै मोरङ पुगे । त्यतिबेला ओलीलाई नेपालले सेल्टर दिएर झण्डै तीन महिना डेरामा राखेका थिए
मोहनचन्द्र अधिकारीलाई खोज्दै ओली मोरङबाट नैनीताल गए । २–४ महिना बसेर वीरगञ्ज फर्किए । झापा विद्रोहीको व्यापक खोजी भइरहेकै थियो । त्यही बेला मोहनचन्द्र र केपी रौतहटमा संगठन विस्तारका लागि हिँडेका थिए । झोला खानतलासी गर्ने क्रममा कम्युनिस्ट पार्टीका पर्चा, झण्डा भेटिएपछि २०३० सालमा उनीहरू दुवै एकसाथ पक्राउ परे ।
माधव त्यसको एक वर्षपछि मात्र भूमिगत भएका हुन् । मोरङबाट रौतहट घर जाने बेला प्रहरीले उनको झोलामा झापा आन्दोलनको पर्चा भेट्यो । उनका बुबा मंगलप्रसाद उपाध्याय रौतहटका प्रख्यात पण्डित थिए । त्यसैले केही दिन हिरासतमा बसेर उनलाई तारेखमा छाडियो । हिरासतबाट छुटेको केही समयपछि उनी बैंकको जागिर छाडेर भूमिगत भए ।
बाटो अलग–अलग, तर लक्ष्य उही । ओली १४ वर्ष जेल परे भने माधव भूमिगत भएर कम्युनिस्ट पार्टीको संगठन विस्तारमा लागे । नेकपा (माले) ले संगठनिक आकार ग्रहण गर्दै थियो । पार्टी हुर्किँदै जाँदा पार्टीभित्र गुटबन्दी पनि सँगसँगै पलायो । २०३९ सालमा सीपी मैनालीलाई एक्ल्याएर कारबाही गरेदेखि नै तत्कालीन मालेमा गुट जन्मिएको बताउँछन्, मैनाली ।
२०४४ सालमा ओली रिहा भएपछि मदन भण्डारी, माधव नेपाल, केपी ओली र वामदेव गौतम एक ठाउँमा उभिए । ईश्वर पोखरेल र प्रदीप नेपालको पनि साथ पाएपछि भण्डारीले जनताको बहुदलीय जनवादको कार्यक्रम अघि सारेका थिए । जुन, २०४९ सालको पाँचौ महाधिवेशनबाट पारित भयो ।
दासढुंगा दुर्घटनामा पार्टी महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएपछि एमालेमा नेतृत्व संकट देखियो । झलनाथ भर्खर पार्टी नेतृत्वबाट हटेका थिए । सीपी नेतृत्वमा फर्किने माहौल थिएन । माधव र ओली दुईमध्ये एक महासचिव हुने अवस्था थियो । माधवमा व्यवस्थापकीय क्षमता भए पनि नेतृत्व क्षमता कम थियो । ओलीमा नेतृत्व कला भए पनि सबैलाई मिलाउने लैजाने क्षमता थिएन । त्यसैले राधाकृष्ण मैनाली र वामदेव गौतमलगायतले ओलीलाई महासचिव बन्न आग्रह गरेका थिए ।
‘एक्लै भन्दा नमानेपछि बामदेव र मैलेले भेटेर ओलीलाई महासचिव आग्रह गरेका थियौँ’, मैनाली सम्झिन्छन्, ‘केपी जुनियर भन्छन्, टेर्दैनन् भनेर पन्छिए । ओलीले नमानेपछि माधव सर्वसम्मत महासचिव भएका हुन् ।’
नेपाल महासचिव हुँदा ओलीले सघाए । पार्टी नेतृत्वमा माधव थिए तर २०५४ को महाकाली सन्धि होस् वा एमाले छैटौँ महाधिवेशनमा ओलीको चर्चा अधिक थियो । दुवै नेताले मिलेरै पार्टी विभाजनको सामना गरे । सातौँ महाधिवेशनअघिसम्म यो जोडी कायम रह्यो । त्यो अवधिमा ओली महासचिव नेपालका भरपर्दो सारथि बनेका थिए ।
सातौँ महाधिवेशन (२०५९–जनकपुर) मा ओलीले बहुपदीय अध्यक्षात्मक प्रणालीको प्रस्ताव गरेका थिए । माले–एमाले एकतापछि फर्किएका नेता गौतमको पनि त्यो प्रस्तावमा साथ थियो । तर, त्यसलाई अल्पमतमा पारेर माधव नेपाल महासचिवमा पुनः दोहोरिए । त्यसपछि हो, ओली–माधवको सम्बन्ध बिग्रिएको ।
सातौँ महाधिवेशन (२०५९–जनकपुर)मा ओलीले बहुपदीय अध्यक्षात्मक प्रणालीको प्रस्ताव गरेका थिए । माले–एमाले एकतापछि फर्किएका नेता गौतमको पनि त्यो प्रस्तावमा साथ थियो । तर, त्यसलाई अल्पमतमा पारेर माधव नेपाल महासचिवमा पुनः दोहोरिए । त्यसपछि हो, ओली–माधवको सम्बन्ध बिग्रिएको ।
सातौँ महाधिवेशनपछि ओलीले पार्टीभित्र भिन्न धारको नेताका रुपमा आफूलाई उभ्याए । माधव पनि ओलीविनै हिँड्न थाले । विद्रोही माओवादीसँग सहकार्य गर्न महासचिव नेपाल सिलगुडी र लखनऊ धाए । वामदेव गौतम र युवराज ज्ञवालीलाई रोल्पा पठाए । ओली भने आफ्ना सयौँ कार्यकर्ता मारिएकाले सहकार्य होइन, वैचारिक संघर्ष र प्रतिरोधको पक्षमा थिए ।
२०६२/०६३ को जनआन्दोलनमा पनि ओली सडकमा देखिएनन् । कांग्रेसले गणतन्त्रमा जाने निर्णय नगरेकाले सात दलको आन्दोलनबाट गणतन्त्र आउनु ‘बयलगाडा चढेर अमेरिका जानु’ जस्तै हो भन्ने उनको अभिव्यक्ति अझै पनि चर्चित छ । ओली आन्दोलनमा नदेखिनुको अर्को कारण उनको स्वास्थ्य पनि हो । त्यतिबेलै हो, ओली दुवै मिर्गौलाले काम गर्न छाडेर सिकिस्त भएको । जनआन्दोलनलगत्तै भारत गएर उनले मिर्गौला प्रत्यारोपण गराएका थिए ।
२०६४ को पहिलो संविधानसभा चुनावमा एमालेले नमीठो हार ब्यहोरेपछि महासचिव नेपालले नैतिकताका आधारमा राजीनामा दिए । तर, ओलीलाई कार्यवाहक नबनाएर झलनाथ खनाललाई बनाइयो । त्यसमा पनि ओलीको चित्त दुखाइ रह्यो । पार्टीमा झण्डै किनारामा परिसकेका खनाल पुनः नेतृत्वमा उदाए । २०६५ को आठौँ महाधिवेशनमा उनी पार्टी अध्यक्षमा निर्वाचितसमेत भए ।
आठौँ महाधिवेशनमा अध्यक्षका प्रत्यासीद्वय ओली र खनाल कतै पनि खुलेनन् । माधवको साथ पाएको भए आफूले जित्ने आशा ओलीको थियो । तर, उनी अन्तिम बेलासम्म सर्वसम्मत अध्यक्षको आशा राखेर तटस्थ बसिदिए । ईश्वर पोखरेललगायत नेपालनिकट नेताहरूसमेत झलनाथ प्यानलमा लागेपछि ओलीले अघि सारेको बहुपदीय अध्यक्षात्मक प्रणाली पारित भए पनि उनी भने पराजित भए ।
आठौँं महाधिवेशनपछि ओली र माधव दुवै पार्टी नेतृत्वमा किनारामा परे । अध्यक्ष खनाल र उपाध्यक्ष गौतम संविधानसभा निर्वाचनबाट पहिलो पार्टी माओवादीसँग नजिकिएका थिए । अध्यक्ष खनालको सहमति लिएर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानसेनापति रुक्माङ्गत कटुवाललाई हटाउने निर्णय गरे । तर, ओली र नेपालले त्यो निर्णय स्वीकारेनन् । अन्ततः प्रचण्डले राजीनामा दिनुपर्ने स्थिति आयो ।
एमाले अध्यक्ष थिए, खनाल । तर, कांग्रेसको समर्थनमा नेपाललाई प्रधानमन्त्री बनाउन र सरकार टिकाउन ओली लागिपरे । प्रधानमन्त्री नेपाल थिए तर माओवादीले गरेको आन्दोलनको तारो ओली बनेका थिए ।
२०७० को दोस्रो संविधानसभा निर्वाचनपछि एमाले संसदीय दलको नेता चयन गर्दा ओली र नेपाल पुनः दुई कित्तामा उभिए । ओली–गौतमले एक व्याक्ति एक पदको प्रस्ताव गर्दै ओलीलाई उम्मेदवार बनाए । नेता नेपालले अध्यक्ष झलनाथलाई साथ दिए । बहालवाला अध्यक्षलाई हराउँदै ओली संसदीय दलको नेता बने ।
त्यतिबेला बनेको मोर्चाबन्दी २०७१ को नवौँ महाधिवेशनसम्मै कायम रह्यो । ओली र नेपाल दुवै अध्यक्षका लागि मैदानमा उत्रिए । खनाल समूहले प्रतिवद्धताविपरीत नेपाललाई सहयोग नगर्दा नेपाल ४२ मतले पराजित हुन पुगे । नवौँ महाधिवेशनपछि ओली–नेपालको सम्बन्ध सुध्रिन सकेन । कतिसम्म भने पहिलो प्रधानमन्त्रीकालमा माओवादी र कांग्रेसले पेश गरेको अविश्वास प्रस्तावको छलफलमा समेत नेपालले ओलीको बचाउ गरेनन् ।
२०७४ को निर्वाचनमा एमाले–माओवादी गठबन्धनले चुनाव जितेपछि केही समय ओलीले नेपाललाई साथमा लिएर हिँडे । सरकारमा पहिलो चरणका मन्त्री छनाेटसम्म पनि दुवै नेताबीच समझदारी थियो । पार्टी एकताका बेला तेस्रो वरीयतामा ल्याएपछि नेपाल खुसी नै थिए । बालुवाटारमा नेता नेपालको बर्थ डेमा केक काटियो । तर, त्यो धेरै दिन टिक्न पाएन । अर्का वरिष्ठ नेता खनालको बारम्बारको विरोधपछि नेपाल पुनः चौथो वरीयतामै झारिए । त्यसलाई उनले आफूमाथि भएको अपमानका रूपमा बुझे ।
ओली–नेपालबीचको सम्बन्ध यति नराम्रोसँग बिग्रियो कि नेपालले दिएको स्वास्थ्यलाभको कामना ओलीले अस्वीकार गर्न भ्याए । ओलीप्रति कटाक्ष गर्दै नेपालले संसदमै गीत गाए- ‘देश डुब्न लाग्यो, किनारा लगाइदेऊ ।’
पार्टी विवाद गहिरिँदै जाँदा ओली र नेपाल मिल्नै नसक्ने गरी दिन प्रतिदिन टाढिँदै गए । उनीहरूबीच औपचारिकबाहेक कुनै हार्दिक सम्बन्ध बाँकी रहेन । नेपालले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर ओलीलाई प्रधानमन्त्रीबाट हटाउने योजना बनाए । त्यसको छनक पाएपछि ओलीले ५ पुसमा संविधानको आफूखुसी व्याख्या गर्दै ‘न रहे बाँस, न बजे बाँसुरी’को शैलीमा प्रतिनिधिसभा नै भंग गरिदिए । यी वृद्ध नेताहरूबीच त्यसपछि सुरु भएको गालीगलौजपूर्ण आरोप-प्रत्यारोप अझै थामिएको छैन ।
४८ वर्षे राजनीतिक सम्बन्धबाट डिभोर्स गर्न लागेका ओली–नेपालका व्यक्तिगत लाञ्छनायुक्त भाषणबाजी अझै कुन स्तरसम्म तल ओर्लिने हो, त्यो भने हेर्न बाँकी नै छ ।