मंगलवार राति अछामको कैलाश खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षती भएको छ। रामारोशन गाउँपालिका–५ सैनीबजारमा आएको बाढीले ठूलो जनधनको क्षती गरेको हो।
बाढीमा वेपत्ता भएका १७ जना मध्ये हालसम्म ६ जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले बताए। उनका अनुसार अहिलेसम्म तीन जनाको मात्रै सनाखत भएको छ भने ५ जनाको शव जिल्ला सदरमुकाममा ल्याइएको छ।
११ जना अझै वेपत्ता रहेको बताउँदै उपाध्यायले खोजी कार्य जारी रहेको बताए। वेपत्ताको खोजीका लागि डोटी र कैलाली जिल्लामा समन्वय समेत गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए।
चार जनाको शव बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको कोसेडा क्षेत्र र २ जनाको शव मंगलसेन नगरपालिका–३ रलेको लमतणा र सेरीमा भेटिएको हो।
मृत्यु हुनेमा सैनीबजारका १२ वर्षीया नवीन साउद, ३२ वर्षीया गौरी शाह र ४८ वर्षीया चन्द्र साउद छन्। अन्य तीन जनाको सनाखत हुन बाँकी छ ।
बाढीले २२ घर बगाएको छ भने ९ वटा झोलुङ्गे पुल र ५ वटा लघु जलविद्युत आयोजनामा क्षति पुगाएको छ। बाढीले चार मोटरसाइकल र एउटा एम्बुलेन्स सहित २ वटा साना गाडी बगाएको छ।
ठूलो संख्यामा पशु चौपाया बगाएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ। बाढीमा घाईते भएकी रामारोशन गाउँपालिका वडा नम्वर ७ बाट एक जना सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार गरी थप उपचारको लागि सुर्खेतमा लगिएको छ।
प्रहरी, जनप्रतिनिधि तथा स्थानीयबासीको सहयोगमा थुपै्र व्यक्ति तथा घर परिवारको उद्धार भएको र थुप्रैलाई स्तानान्तरण गरिएको समेत प्रशासनले जनाएको छ। #दिनेश