• होमपेज
  • समाज
  • आजबाट वीरगन्जमा निषेधाज्ञा

आजबाट वीरगन्जमा निषेधाज्ञा

  • शनिबार, साउन १०, २०७७
आजबाट वीरगन्जमा निषेधाज्ञा

वीरगन्ज– कोरोना संक्रमित थपिएपछि स्थानीय प्रशासनले वीरगन्ज महानगरपालिकामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार बिहान ५ बजेदेखि अर्को सूचना नआउन्जेल निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यस विषयमा छलफल गर्न शुक्रबार राजनीतिक दल, सुरक्षा निकाय, उद्योग वाणिज्य संघ र अस्पतालका प्रतिनिधिसहित सर्वपक्षीय बैठक बसेको थियो ।

संक्रमण थप फैलिन नदिन, कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको जिल्ला प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । लक्षणसहितका संक्रमितको संख्या बढेको, केहीको मृत्यु भएको र आइसोलेसनमा रहेका केहीको अवस्था जटिल देखिएको जनाइएको छ ।

निषेधाज्ञा अवधिमा अत्यावश्यक स्वास्थ्योपचारबाहेक अन्य काममा स्थानीयलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाउने निर्णय भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । उनका अनुसार अस्पताल, क्लिनिकसहित औषधि, दूध र खानेपानीका पसलबाहेक अन्य बजार बन्द रहनेछ । यसैगरी अब अन्य जिल्लाबाट र विशेषगरी भारतबाट आउन प्रतिबन्ध लगाइएको बस्नेतको भनाइ छ ।

सुरक्षा निकायले गस्ती बढाउने, लुकिछिपी प्रवेश गरेकालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्ने निर्णय पनि भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले नसकेको ठाउँमा नेपाली सेना परिचालन गर्ने निर्णय गरिएको उनले बताए ।

बैठकले समुदायमा परीक्षण गर्ने निर्णय गरेको छ । सुरुमा संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गरी पीसीआर परीक्षण गर्ने, त्यसपछि जोखिमपूर्ण स्थानमा जाँच गरिने भएको छ । समुदाय (मास) परीक्षणका क्रममा फेला परेका लक्षण नभएका संक्रमितलाई होम आइसोलेसनमा राख्ने, लक्षण देखिएकालाई मात्रै अस्थायी कोभिड अस्पतालमा भर्ना गर्ने निर्णय पनि गरेको छ ।

तीन दिनमा तीनको मृत्यु

वीरगन्जमा तीन दिनमा कोरोनाका कारण तीन जनाको मृत्यु भएको छ । गण्डकस्थित अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा उपचाररत बारा परवानीपुर–४ की १९ वर्षीया किशोरीको शुक्रबार साँझ साढे ५ बजे ज्यान गएको छ । ती किशोरीको स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा पठाइएकोमा शुक्रबार बेलुकी पीसीआर रिपोर्ट पोजिटिभ आएको कोभिड अस्पतालका कोअर्डिनेटर डा. उदयनारायण सिंहले पुष्टि गरे ।

ती किशोरीको स्वास्थ्यमा समस्या भएपछि गत बुधबार वीरगन्जकै वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारका क्रममा कोरोना शंका लागेपछि चिकित्सकले आरडीटी गर्दा रिपोर्ट पोजिटिभ देखिएको थियो । त्यसपछि स्वाब संकलन गरी पठाइए पनि रिपोर्ट आउन ढिला भएपछि बिहीबार राति साढे ९ बजेतिर उनलाई अस्थायी कोभिड अस्पतालमा लगेर भर्ना गरिएको थियो ।

‘उनमा झाडापखालाका साथै फोक्सोमा पनि जटिल समस्या थियो’, डा. सिंहले भने, ‘उपचारका क्रममा शुक्रबार साँझ साढे ५ बजे उनको मृत्यु भएको हो ।’

वीरगन्जकै कोभिड अस्पतालको आइसोलेसनमा वीरगन्ज–११ श्रीपुरकी ८५ वर्षीया एक वृद्धा संक्रमितको शुक्रबार बिहान मृत्यु भएको थियो । मुटुरोगी ती वृद्धाको स्वास्थ्यमा समस्या देखिएपछि पाँच दिनअघि एड्भान्स अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा कोरोना लक्षण देखिएपछि मंगलबार उनको स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो । उनमा बुधबार राति कोरोना पुष्टि भएपछि बिहीबार अस्थायी कोभिड अस्पतालमा ल्याइएको थियो ।

‘मुटुरोगी वृद्धामा निमोनियाको पनि समस्या थियो । हामीले आइसोलेसनमा निमोनियाकै उपचार गरिरेहका थियौं’, डाक्टर सिंहले भने, ‘उपचारकै क्रममा शुक्रबार बिहान उनको मृत्यु भएको हो ।’

त्यसअघि गत मंगलबार पनि आइसोलेसनमै मृत्यु भएका वीरगन्ज माईस्थानका ७० वर्षीय वृद्धमा पनि बुधबार राति संक्रमण पुष्टि भएको थियो ।

पाँच थुनुवासहित ३२ संक्रमित थपिए

वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणले ३२ जनामा संक्रमण देखाएको छ । यीमध्ये प्रहरी हिरासतमा रहेका पाँच जना थुनुवा छन् । नौ जनाले स्वेच्छाले पीसीआर परीक्षण गराएका थिए । अरू १८ जना भने कन्ट्याक्ट ट्रेसिङका क्रममा जाँच गर्दा पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।

वडा प्रहरी श्रीपुरको हिरासतमा रहेका २५, २२, ३३, २२ र ४७ वर्षका पाँच पुरुष थुनुवामा संक्रमण भेटिएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बताइन् । पाँचै जना भारतीय नागरिक हुन् । पन्तका अनुसार हिरासतमा रहेका सात थुनुवामध्ये पाँच जनामा संक्रमण भेटिएपछि वडा प्रहरी कार्यालयलाई सिल गरिएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार बहुदरामाई नगरपालिका–५ भौराटारका ३३ वर्षीय, पकाहामैनपुर गाउँपालिका–३ सवैठवाका ५० र २७ वर्षीय, वीरगन्ज महानगरपालिका–१० बजरंग टोलका २९ वर्षीय, वीरगन्ज–१२ मुर्लीका १६ वर्षका २ पुरुष र ३८ वर्षीया महिला, वीरगन्ज– २० का ३२ वर्षीय, वीरगन्ज–२ छपकैयाका ३० वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । उनीहरूले आफैंलाई शंका लागेर सःशुल्क परीक्षण गराएका थिए ।

कन्ट्याक्ट ट्रेसिङका क्रममा नारायणी अस्पतालका संक्रमित स्विपरका २३ वर्षीय छोरा, वीरगन्ज–२९ की २५ वर्षीया महिला, वीरगन्ज–१३ की ४८ वर्षीया महिला र ३० वर्षीय पुरुष, छिपहरमाई गाउँपालिका–३ का २३ वर्षीय पुरुष, वीरगन्ज–१० का ६०, ३५ र २९ वर्षीया महिला तथा १४ वर्षका पुरुष, वीरगन्ज–९ घण्टाघरका २५ वर्षीय पुरुष र वीरगन्ज–१३ का नौमहिने शिशुमा पनि कोरोना देखिएको हो ।

पर्सामा संक्रमितको संख्या २ सय ३४ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । बुधबार राति १७ जनामा संक्रमण पुष्टि भएको थियो ।

वीरगन्जका अस्पताल बन्द

स्वास्थ्यकर्मी र बिरामीमा कोरोना संक्रमण भेटिन थालेपछि वीरगन्जका सरकारी र निजी अस्पतालमा शुक्रबारदेखि आकस्मिकबाहेक अरू सेवा बन्द गरिएको छ । कोरोना समुदायमै फैलिएको भन्दै नेपाल चिकित्सक संघको आग्रहमा अस्पतालले शुक्रबारदेखि आकस्मिकबाहेक अन्य सेवा बन्द गरेका हुन् ।

वीरगन्जमा एक सरकारी र १२ भन्दा बढी निजी अस्पताल र शिक्षण अस्पताल (मेडिकल कलेज) छन् । संक्रमित फेला परेका एड्भान्स, अली अर्थो ट्रमा सेन्टर र शान्ति पोलिक्लिनिक भने यसअघि नै सिल भइसकेका छन् । शुक्रबारदेखि अर्को सूचना नआएसम्मका लागि सेवा बन्द गरिएको चिकित्सक संघ वीरगन्ज शाखाका सचिव डा. उदयनारायण सिंहले बताए ।

संघले विज्ञप्ति जारी गरेपछि वीरगन्जको नारायणी अस्पतालमा आकस्मिक र प्रसूति विभागबाहेक अन्य शुक्रबार बिहानदेखि बन्द गरिएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सुरेन्द्र चौधरीले बताए । उनका अनुसार मेडिसिन, सर्जरी, अर्थो र आईसीयूबाट बिरामी डिस्चार्ज गरी खाली गराइएको छ ।

वीरगन्ज हेल्थ केयर अस्पतालमा पनि ओपीडी सेवा बन्द गरिएको सञ्चालक डा. अबुलहयश अन्सारीले बताए । साभार

चर्चामा

सम्बन्धित समाचार