बुधबार राति भोटेकोसी नदीमा आएको बाढीमा परि घाइते भएका बाह्रबिसेका ४ जनालाई उपचारका लागि काठमाडौं लगिएको छ । बाढीमा परि घाइते भएका सविता बस्नेत र सुवेश तामाङलाई कैलाश एयरमार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । त्यस्तै फुर्वा तामाङ र अर्का १० दिने शिशुलाई माउन्टेन एयरको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौंको ह्याम्स अस्पताल लगिएको उनले जानकारी दिए । लगातारको वर्षासँगै बुधबार राति भोटेकोसी नदीमा आएको बाढीका कारण बाह्रबिसे नगरपालिकाको जम्बुमा २ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् । बेपत्ताहरुको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।