• होमपेज
  • राजनीति
  • नेकपा स्थायी समिति बैठक ‘अनिश्चित’ : सचिवालय बैठकपछि दुई अध्यक्ष छलफलमा

नेकपा स्थायी समिति बैठक ‘अनिश्चित’ : सचिवालय बैठकपछि दुई अध्यक्ष छलफलमा

  • बुधबार, बैशाख २४, २०७७
नेकपा स्थायी समिति बैठक ‘अनिश्चित’ : सचिवालय बैठकपछि दुई अध्यक्ष छलफलमा

काठमाडौं : बुधबार बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ। स्थायी समिति बैठकका एजेन्डाको विषयमा छलफल गर्न बोलाइएको सचिवालय बैठक निष्कर्षमा नपुग्दै टुंगिएको हो।

सचिवालय बैठकले स्थायी समिति बैठकमा छलफल हुने विषयको टुंगो लगाउन नसकेपछि प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बैठक लगत्तै छलफल सुरु भएको छ।

‘वैशाख २० गतेको सचिवालय बैठकको निष्कर्ष अनुरुप भोलि (वैशाख २५ गते) स्थायी समिति बैठक बस्ने निर्णय भएको हो। त्यही अनुरुपको कार्यसूची र प्रस्ताव तयार गर्ने प्रक्रियाका सन्दर्भमा दुई अध्यक्ष कमरेडले अझै पनि गृहकार्य गर्न बाँकी रहेको जानकारी बैठकलाई गराइयो’, प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारलाई भने, ‘त्यस बारेमा अहिले पनि दुईजना अध्यक्ष कमरेडले सल्लाह गरेर बैठकको कार्यसूची वा बैठकको बारेमा नै के गर्ने भन्ने निर्णय गर्नुहुने भएको छ।’

बैठकमा दुई पक्षबीच चर्काचर्की भएपछि प्रधानमन्त्री एवम् अध्यक्ष ओली बाहिरिएको स्रोतको दाबी छ। यो विषयमा भने प्रवक्ता श्रेष्ठ खुलेर बोल्न चाहेनन्। यद्यपि प्रधानमन्त्री ओली बैठकबाट बाहिरिएको उनले स्वीकार गरे।

‘बैठकमा सके सबैजना बस्ने हो। कहिलेकाही सकिएन भने विभिन्न कारणले बैठकलाई जानकारी गराएर बैठकबाट निस्कने प्रचलन छ’, प्रवक्ता श्रेष्ठले भने, ‘आज अध्यक्ष एवम् सम्माननीय प्रधानमन्त्री कमरेडले आफ्नो केही व्यस्तता र केही शारीरिक कारणलेसमेत बैठकको पूरा समय बस्न नसक्ने जानकारी गराएर बाहिरिनु भएको हो। अरु कुरा केही छैन।’

पार्टी विभाजनको चरणमा पुगेर जोगिएको नेकपामा स्थायी समिति बैठकको एजेन्डादेखि ‘एक व्यक्ति एक मुख्य जिम्मेवारी’सम्मको विषयले विवाद निम्तिएको छ। दुई अध्यक्षबीच तीन दिनयता छलफल भए पनि यी विषयमा सहमति जुट्न नसक्दा सचिवालय बैठक निष्कर्षबिहीन बनेको हो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष ‘प्रचण्ड’ बीच सोमबार, मंगलबार र बुधबार भएको छलफलमा शक्ति बाँडफाँटलगायत मुद्दामा छलफल भएको छ। स्थायी समितिको एजेन्डा, बैठक कति लामो बनाउने, कसरी छलफल गराउने भन्ने विषयमा अझै समझदारी जुट्न सकेको छैन।

दुई अध्यक्षबीचको कार्यविभाजन पुरानै सहमतिका आधारमा टुंगो लगाउने गरी एजेन्डा तय गर्न सोमबार दाहाल र महासचिव विष्णु पौडेललाई जिम्मेवारी भने तोकिएको थियो। तर, उनीहरूबीच छलफलै भएन। उनीहरूले एजेन्डा बुँदागत रूपमा तयार पार्ने जनाइएको थियो।

बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले मंगलबार बालुवाटारमा वरिष्ठ नेता झलनाथ खनालसँग झन्डै एक घण्टा कुराकानी गरेका थिए । खनालसँग ओलीले आफूविरुद्ध भएका घेराबन्दीदेखि पारिएका असहजताका विषयमा छलफल केन्द्रित गरेका थिए।

ओली संगठनात्मक एकताका क्रममा नेताहरूले पाएको दोहोरो जिम्मेवारी खुम्चाउन लचक देखिएका छैनन्। त्यस्तै, उनी स्थायी समिति बैठक सरकारको नीति तथा कार्यक्रम, बजेट तयारी र कोभिड–१९ रोकथाम तथा नियन्त्रणका विषयमा मात्र केन्द्रित गरेर छोटो अवधिका लागि मात्र आयोजना गर्नुपर्ने पक्षमा देखिएका छन्।

दाहाल–नेपाल पक्षका नेता भने शीर्ष नेताले मुख थुन्न नपाउने, सरकारका कामदेखि अध्यादेश प्रकरण र त्यसपछिका परिघटनासम्ममा खुलस्त छलफल गर्न पाउनुपर्ने पक्षमा देखिएका छन्। एक व्यक्ति एक मुख्य जिम्मेवारीका विषयमा पहिलेका संगठनात्मक कमजोरी सच्याउनुपर्ने पक्षमा उभिन थालेपछि प्रधानमन्त्री ओली दाहाल–नेपाल पक्षको रणनीतिप्रति सशंकित देखिन थालेका छन्।

प्रधानमन्त्रीदेखि पार्टीका नेतासम्मले आत्मालोचनासहित कमजोरी सच्याउने प्रतिबद्धता जनाएर विवाद मिलिसकेको अवस्थामा स्थायी समितिमा त्यही विषयमा थप छलफल आवश्यक नरहेको ओलीनिकट नेता बताउँछन्।

एजेन्डाबारे सचिवालयमा सहमति नजुटेपछि ओली पक्ष स्थायी समिति बैठक केही समय पछि धकेल्ने पक्षमा देखिएको छ। यसले स्थायी समिति बैठक ‘अनिश्चित’हुने देखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार