काठमाडौं । युरोपियन राष्ट्रमा कोेरोनाका कारण सबैभन्दा धेरै बेलायतका नागरिकको ज्यान गएको छ । यसअघि इटली, स्पेन र फ्रान्सभन्दा कोरोनाको प्रभाव कम देखिएको बेलायतमा अब तथ्यकांक अनुसार सबैभन्दा धेरै कोरोनाका कारण नागरिकले ज्यान गुमाएका देखिन्छ ।
मंगलबार बिहानको तथ्यांक अनुसार इटलीमा कोरोनाको संक्रमणबाट २९ हजार ७९ जनाको ज्यान गएको थियो भने बेलायतमा २८ हजार ७३४ को ज्यान गएको थियो । तर पछिल्लो २४ घण्टाको तथ्यांक बाहिर आउँदा बेलायतमा कोरोना संक्रमणका कारण कुल २९ हजार ४२७ जनाको ज्यान गएको छ । इटलीमा हालसम्म कोरोनाले २९ हजार ३१५ को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा क्रमश : बेलायत र इटलीमा ६९३ र २३६ कोरोना संक्रमितको ज्यान गएको छ ।
सोही अवधीमा बेलायतमा ४ हजार ४०४ कोरोना संक्रमित थपिएका छन् भने इटलीमा १ हजार ७५ जना नयाँ संक्रमितको पहिचान भएको छ । बेलायतमा कुल १ लाख ९४ हजार ९९० मा कोरोना संक्रमणको पुष्टी भइसकेको छ भने इटलीमा २ लाख १३ हजार १३ मा संक्रमण देखिसकेको छ । बेलायतमा हाल संक्रतिको संख्या १ लाख १५ हजार २१९ छ भने इटलीमा ९८ हजार ४६७ छ । अमेरिका पछि कोरोनाका कारण सबैभन्दा धेरै बेलायतमा ज्यान गएको छ । अमेरिकामा हालसम्म ७२ हजार २४१ को कोरोना संक्रमणका कारण ज्यान गएको छ ।