• होमपेज
  • देश
  • तीन दिनमा ११ जनाले महाकालीमा हामफालेर नेपाल आए

तीन दिनमा ११ जनाले महाकालीमा हामफालेर नेपाल आए

  • बुधबार, चैत्र १९, २०७६
तीन दिनमा ११ जनाले महाकालीमा हामफालेर नेपाल आए

दार्चुला : लकडाउन र सीमा नाका बन्दका कारण मातृभूमी पुग्नै सकस भईरहेका बेला भारतबाट महाकालीमा हाम फालेर नेपाल भित्रिने क्रम जारी छ। पछिल्लो तीन दिनको अवधीमा दार्चुला र बैतडीका ११ जनाले महाकालीमा हाम फालेर नेपाल भित्रिएका छन्।

आज मात्रै चार जना दार्चुलाका वासिन्दा महाकालीमा पौडी खेलेर नेपाली भित्रिएका छन्। यस्तै अहिले सम्म दर्जनौ नेपाली नदिको बिचबिचमा रहेका ढुङगामा हाम फाल्दै नेपाल भित्रिएका छन्। धेरैले ट्युबको सहायतामा पनि महाकाली तरेका छन्।

बिरानो बन्यो मातृभूमी

‘काल आएको रहेछ भने महाकालीले नै खाओस् भनेर हाम फालेँ। महाकालीको पानी घटेको रहेछ। जसोतसो भँगालो काटेँ। देशको किनार भेट्टाएँ।’ महाकालीमा पौडी खेल्दै दार्चुला पुगेपछि बैतडीको डिलासैनी गाउँपालिकाका लोकेन्द्र बोहराले भनेका थिए। प्रहरीले नियन्त्रणमा लिदै किन महाकालीमा हाम फालेको भनेर प्रश्न सोधेपछि उनले जवाफ दिए, ‘परिवार भेट्न र मरे पनि आफ्नै देशमा मर्छु भनेर महाकालीमा हामफालेँ।’

मातृभूमीको किनार भेट्टाउनका लागि महाकालीमा हाम फोल्ने उनी मात्रै भने थिएनन्। उनीसंगै थिए बैतडीको डिलासैनी गाउँपालिका र पुर्चाैडी नगरपालिकाका ७ जना। सुदूरपश्चिमकै थप २१ जना पनि महाकाली तरेरै आए। तर उनीहरु पौडी खेलेर नभई नदिमा रहेका ठूला ढुङगाको सहायताले मातृभूमीको किनार सम्म पुगे।

पौडीन सक्नेले महाकालीमा हाम फालेँ, केही युवाले ढुङगाको सहायताले महाकाली पार गरे तर पौडीन नसक्ने सयौँ सुदूरपश्चिमेली अहिले पनि धारचुलामै छन्। अहिले धारचुलामा रहेका सयौँ सुदूरपश्चिमेली मात्रै होईन भारतका विभिन्न सहरमा काम गर्दै आएका लाखौँ सुदूरपश्चिमेलीहरुलाई मातृभूमी विरानो लाग्न थालेको छ।

भारतको नासीकमा रहेका डडेल्धुराको अजयमेरु गाउँपालिका– ४ चिपुरका प्रकाश महत भन्छन्, ‘भारतमा धमाधम कोरोना संक्रमित भेटिन थालेपछि भारत सरकारले लकडाउन गरिसकेको छ। त्यसपछि आम्दानीको स्रोत बनेको होटल बन्द भईसकेको छ। नेपालमा समेत लकडाउन भएकाले सीमा नाका बन्द छन्। अब न घर आउन सकिन्छ। न यहाँ बस्न सकिन्छ।’ उनले अगाडि थपे, ‘साहुले हिसाब नगरेरै कामबाट निकालिदियो, म सहित ६ जना अहिले साथीको कोठामा बसेका छौ। उनीहरुको घरबेटीले पनि कोठा खाली गर भनेको छ।’

‘धैरे पटक दुतावासमा फोन गरे र स्थानीय तहका जनप्रतिनिधिलाई पनि सम्पर्क गरे’ अजयमेरुकै अर्का अमर ऐरले भने, ‘अब त उनीहरुले फोन उठाउन पनि छाडिसके, बाहिर जाउँ भने पुलिस लखेट्छन् भित्र खानेकुरा सबै सकियो।’
धरचुलामा रहेका मार्मा गाउँपालिका ५ दार्चुलाका दिलेन्द्र महताको गुनासो पनि फरक छैन्। ‘चाउँचाउँ विस्कुट किन्न पनि पाइएको छैन, उनले भने, ‘आफ्नै मातृभूमी बिरानो बनिदिएपछि अर्काको देशमा कसरी जिउन सकिन्छ।’
भारतको दिल्लीमा रहेका डडेल्धुराका केशव ऐरले भने, ‘सरकारले तेश्रो मुलुकबाट जहाजमै नेपालीहरुको उद्धार गरेको सुनेको थिए। तर हामी त सीमा क्षेत्र सम्म हिडेरै पनि पुग्न तयार छौँ। पीर यति मात्रै छ कि मातृभूमीमा छिर्न पाईन्छ कि पाईदैन् भन्ने।’

सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर लकडाउनअघि सम्म झण्डै डेढ लाख नेपाली फर्किसकेका छन्। भारतमा कोरोनाको संक्रमण फैलिदै गएपछि लाखौँको सङख्यामा रहेका सुदूरपश्चिमेलीहरु फेरी फर्किने तयारीमा छन्। अर्कोतर्फ भारतमा पनि २१ दिन लामो लकडाउन जारी भएकाले धेरैको रोजगारी गुमिसकेको छ। यस्ले उनीहरुको आम्दानीको स्रोत पनि गुमेको छ। जस्का कारण भारतमा धेरै दिन सम्म बसिराख्न पनि उनीहरुलाई समस्या छ।

लकडाउनकाबीच पनि धेरै नेपाली दशगजा सम्म पुगेका छन्। कतिपयको उद्धार पनि भएको छ। तर धेरै सीमा क्षेत्रमै अलपत्र छन्। दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले भने, ‘अहिले नेपालमा रहेका भारतीयलाई नेपाली पक्ष र भारतमा रहेका नेपालीलाई भारतीय पक्षले क्वारेन्टाईनमा राख्दै व्यवस्थापन गर्ने सहमती भएको छ। सोही सहमती अनुसार उनीहरुको व्यवस्थापन भईरहेको छ।’

सरकारविरुद्ध सर्वोच्चमा रिट

महाकाली पारी नेपालीलाई अलपत्र पारेको भन्दै सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। सुदूरपश्चिमका ५ र एक जना अन्य गरी ६ जना अधिवक्ताले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन्।

अधिवक्ता मनिष कुमार श्रेष्ठ, रामदत्त ओझा, मनिराम उपाध्याय, देवीकुमारी जोशी, दिपकराज जोशी र किर्तिनाथ शर्माले रिट निवेदन दर्ता गराएका हुन्। प्रधानमंत्री तथा मंत्रिपरिषदको कार्यालय सिंहदरवार काठमाडौँ, गृहमंत्री, गृहमंत्रालय सिंहदरवार, नेपाल सरकार रक्षा मंत्रालय, र परराष्ट्र मंत्रालय, सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यलय कैलाली, उपप्रधानमन्त्रीको संयोजकत्वमा गठित कोरोना भाइरस नियन्त्रण उच्च स्तरीय समन्वय समितिको कार्यालयविरुद्ध रिट दर्ता गरिएको हो।

नेपालभित्र आउने नपाउने गरी विपक्षीले गरेको निर्णय उत्प्रेणको आदेशले बदर गरी नेपाली जनतालाई देशका वभिन्न सिमानाकाबाट नेपाल प्रवेशमा कुनै किसिमको रोक नलागउनु भनी परमादेश जारी गरी पाउ भन्दै रिट दर्ता गरिएको हो।

साथै यो रिट निवेदनको प्रक्रिया पूरा गरी रिटको निक्र्याैल गर्न लामो समय लाग्ने भएकोले सर्वाेच्च अदालत नियमावली २०७४ को नियम ४९ (१) बमोजिम अन्तरिम आदेश जारी गरी तत्काल महाकाली क्षेत्रमा रोकिएका नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न रोक नलगाउनु भनी अन्तरिम आदेश समेत जारी गर्न मागदावी गरिएको छ। रिटमा कोरोनाको परीक्षण गर्ने, उनीहरुलाई आइसोलेसनमा राख्ने वा क्वारेन्टाइनमा राख्ने एवं कसैलाई संक्रमण भएको पाइएमा उचित उपचार गराउन समेत आदेश माग गरिएको छ। साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार