शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • खेलकुद
  • करातेले दोहोर्‍याउला २० वर्षअघिको इतिहास?

करातेले दोहोर्‍याउला २० वर्षअघिको इतिहास?

  • सोमवार, मंसिर ९, २०७६
करातेले दोहोर्‍याउला २० वर्षअघिको इतिहास?

दक्षिण एसियाली खेलकुद (साग) को १२ वटा संस्करणसम्म आइपुग्दा नेपालले ७८ स्वर्ण पदक जितेको छ। जसमध्ये करातेबाट २० वटा स्वर्ण भित्र्याएको छ। सन् १९९९ को नेपालमा भएको सागको आठौं संस्करणबाट समावेश करातेबाट नेपाल अहिलेसम्म स्वर्णविहीन बन्न परेको छैन।

तर गत वर्ष भारतमा भएको १२औं सागमा आयोजकको आन्तरिक विवादका कारण करातेको प्रतिस्पर्धा नै भएन।

मंसिर १५ गतेदेखि नेपालमा हुने १३औं सागमा नेपाली कराते खेलाडीलाई अघिल्लो संस्करणमा खेल्न नपाएको पीडा भुलाउने मात्र होइन घरेलु मैदानमा पदक जित्ने अवसर छ।

सन् १९९९ मा घरेलु मैदानमा नेपालले करातेबाट मात्र १४ स्वर्ण भित्र्याएको थियो। नेपालले २० वर्षअघिको त्यो इतिहास दोहोर्‍याउला?

‘आठौं सागको जति १४ स्वर्ण जित्छौं त भन्न सक्दिनँ। तर, ८ भन्दा बढी स्वर्ण जित्ने हाम्रो लक्ष्य हो,’ करातेका प्रशिक्षक कुशल श्रेष्ठले भने, ‘पछिल्लो साग खेल्न पाएनौं। अहिले कला प्रदर्शन गर्ने ठाउँ पाएका छौं। त्यसैले जित्नु पर्छ भन्ने दबाब छ।’

१३औं सागमा करातेतर्फ १९ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। त्यसका लागि नेपालका ३१ खेलाडी ६ महिनादेखि बन्द प्रशिक्षणमा छन्।

योबीचमा नेपाली टिम मलेसिया र बंगलादेशमा वैदेशिक प्रशिक्षणमा गएको थियो भने दक्षिण एसियाली च्याम्पियनसिप र एसियन च्याम्पियनसिपमा भाग लिएको थियो।

‘दक्षिण एसियाली च्याम्पियनसिपमा ८ वटा स्वर्ण जित्न सफल भयौं। एसियन च्याम्पियनसिपमा पनि सातौं स्थान हात पार्‍यौं,’ प्रशिक्षक श्रेष्ठले सागमा नेपालले स्वर्ण जित्न सक्ने आधार प्रस्तुत गरे, ‘वैदेशिक प्रशिक्षणबाट हामीले नयाँ तरिका र नयाँ कुरा सिक्यौ भने नयाँ प्रशिक्षकसँग अनुभव साटसाट गर्दा फाइदा पुग्यो।’

नेपाली खेलाडीका लागि घरेलु मैदानको पनि फाइदा छ। शारिरीक रूपमा बलिया नेपाली खेलाडीमा अहिले प्राविधिक सुधार भएको प्रशिक्षक श्रेष्ठले बताए।

‘श्रीलंकाले अहिले राम्रो प्रदर्शन गरिरहेको छ। पाकिस्तानमा एसियन च्याम्पियनसिपमा स्वर्ण जित्ने खेलाडी छन्। बंगलादेशले पनि राम्रो प्रशिक्षण गरिरहेको छ। प्रतिद्वन्द्वीलाई कमजोर आँक्दैनौं,’ श्रेष्ठले भने।

भारतले भने करातेमा भाग नलिने भएको छ। आन्तरिक विवादका कारण भारतले सुरुमा खेलाडी छनोट गरेको थिएन। खेलाडी दर्ताको म्याद सकिएपछि भारतले आफ्ना कराते खेलाडी दर्ता गराइदिन नेपाललाई अनुरोध गरेको थियो। तर नेपाल ओलम्पिक कमिटीले खेलाडी दर्ता गराउन नसक्ने भनी पत्राचार गरेको छ।

नेपाली टिममा रहेका ३१ खेलाडी मध्ये विनोद शाक्य र अनु अधिकारीसँग साग खेलेको अनुभव छ। विनोदले बंगलादेशमा भएको ११औं सागमा स्वर्ण पदक जितेका थिए। उनले सन् २००६ मा श्रीलंकामा भएको दशौं सागमा पनि कास्य जितेका थिए।

यस्तै अनुले सन् २०१० मा रजत जितेकी थिइन्। त्यसपछिका दुई वटा एसियाली खेलकुदमा समेत भाग लिएकी सिनियर खेलाडी अनु नेपाली कराते खेलाडीमा अन्तर्राष्ट्रिय अनुभव कमी भएको देखिन्छन्।

‘२० वर्षको तुलना गर्दा अरु देशले राम्रो प्रगति गरेका छन्। तर नेपाली खेलाडीका लागि एक्सपोजर हुन सकेको छैन,’ उनले भनिन्, ‘विपक्षीलाई बुझेर खेल्ने योजना बनारहेको छु। सतप्रतिशत दिएर पदक जित्ने मेरो लक्ष्य हो।’

सागमा प्रतिस्पर्धा गर्ने कराते खेलाडी – ३१ जना

व्यक्तिगत काता महिला

चञ्चला दनुवार

टिम काता महिला

संगिता मगर

निर्मला तामाङ

सरु कार्की

व्यक्तिगत कता पुरुष

मण्डेकाजी श्रेष्ठ

टिम काता पुरुष

मण्डेकाजी श्रेष्ठ

महसुस तामाङ

प्रविण मानन्धर

फाइट महिला

४५ केजी – कुसुम खड्का

५० केजी – अनु अधिकारी

५५ केजी – मनिषा चौधरी

६१ केजी – अनु गुरुङ

६८ केजी मुनि – सुनिता महर्जन

६८ केजी माथि – अनुपमा मगर

टिम फाइट महिला

सुस्मिता वाइवा

इस्तर राई

सनी तामाङ

रिता कार्की

पुरुष फाइट

५० केजी – सोनाम लामा

५५ केजी – लक्ष्मण तामाङ

६० केजी – राजीव पुडासैनी

६७ केजी – नवीन रसाइली

७५ केजी – गंगाराम कुसुवार

८४ केजी तल – दिवस श्रेष्ठ

८४ केजी माथि – विप्लवलाल श्रेष्ठ

टिम फाइट पुरुष

राजकुमार रसाइली

अर्जुनकुमार बाक्चन्द

विनोद शाक्य गुवाजु

मुकुन्द महर्जन

लेखनाथ मैनाली

सुशील पौडेल

दिगम्बरप्रसाद पन्त

चर्चामा

सम्बन्धित समाचार