बाकावीर, भीमदत्त पन्त, जयपृथ्वीबहादुर सिंह, दशरथ चन्दजस्ता महान देशभक्त सपुत जन्माएको सुदूरपश्चिमको पवित्र भूमिले यतिबेला समय परिवेशअनुसार भीम रावललाई अगाडी उभ्याएको देखिन्छ ।
दशकौंको संघर्ष पश्चात राजतन्त्र अन्त्य भई लोकतान्त्रिक गणतन्त्र र नागरिक स्वतन्त्रतासहितको राजनीतिक ब्यवस्था तथा नागरिक सम्प्रुभुता प्राप्त भएको छ । हजारौं नेपाली सन्तानहरुको बलिदानीबाट प्राप्त संविधान प्राप्त छ । फलिफाप होला या नहोला, घरदैलोसम्मै सरकार स्थापना हुनेगरि संघीयता लागु भएको छ । दशकौंसम्म कायम रहेका विभिन्नखाले अस्थिरता तत्कालका लागि अन्त्य भए झै देखिएका छन् । एकातिरको विकसित परिस्थिती आफैमा नेपाललाई समृद्ध बनाउने अवसर हो । तर, चुलिएका जनअपेक्षाहरु यथोचित तथा तिब्रतर ढंगले सम्बोधन गर्न सरकार कताकता चुकिरहेको बुझाई आमरुपमा बाक्लिएर झांगिदै गएको छ । आर्थिक बेथितीले सीमा नाघ्न थालेको प्रष्टै देखिन्छ । अराजकता मौलाउदै गएको छ । कम्युनिष्ट नेताहरु अधिकांश शिद्धान्तबाट च्यूत हुँदै गएका छन् । सिद्धान्त, निष्ठा र आदर्शलाई केवल बर्को बनाउन थालेका नेता कार्यकर्ताहरुमा ढोंगीपन बढ्दै छ । यसमा पनि सबैभन्दा महत्वपूर्ण सवाल देशको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय स्वाभिमानमाथिको खतरा अन्त्य भएको छैन । बरु दिनदिनै बढ्दै गएको विष्लेशकहरुको बुझाई छ ।
कुनैपनि देशको राष्ट्रियता र अखण्डता समाप्त गर्न जनसंख्याको राजनीति (नागरिकताको चलखेल), त्यो देशको संस्कृति तथा नैतिक शिक्षामाथिको आक्रमण र गुप्तचरहरुबाट राजनीतिक, सुरक्षा तथा नीति निर्माणको तहलाई प्रभावित गर्ने कार्य हुने गर्छन् । दुर्भाग्य, अहिले नेपालमा नागरिकताको चलखेल बेस्सरी बढाइएको छ । धर्म सस्कृतिमाथि भर्मार आक्रमण गरेर तहसनहसको विन्दुमा पु¥याइएको छ । नेपालको आप्mनो सास्कृतिक परम्परा, मुल्य मान्यता र मौलिक परम्पराहरु क्षय गरिँदैछ । राजनीतिक, सुरक्षा, नीतिगत संयन्त्रमा पनि विभिन्न कोणमा प्रहार तथा चलखेल तिब्र बनाउदै लगिएको जानकारहरु बताउँछन् । यस हर्कतमा देशभित्रै र बाहिरबाट अनेकौ तत्वहरु सक्रिय छन् । तसर्थ, यिनै वर्तमान अप्रिय सन्दर्भहरुले राष्ट्रहीत विरुद्ध हुने गतिविधि रोक्न कुनै सच्चा देशभक्त, राष्ट्र नायकको खाँचो देशका अघिल्तिर टड्कारोगरि उभिएको छ ।
यही पृष्ठभूमिमा नेपाली जनता, राष्ट्रहित र संविधानको रक्षा गर्न सुदूरपश्चिमकै भूमिले जन्माएका भीम रावल दृढ प्रतिज्ञ रहेको घटनाक्रम, अनेक तथ्यहरु र उनका तमाम कदमहरुले पुष्टि गर्दै आएको चर्चा गर्नु कुनै आग्रहपूर्ण ठहरिने छैन् । ब्यक्ति पूजा भन्दा पनि ब्यक्तिका कर्मका आधारमा विश्वास र भरोसा राख्नु पर्दछ । हुन त अहिले कर्म भन्दापनि ब्यक्तिप्रति स्तुतिभाव प्रकट गर्नेहरुको तछाडमछाड हुने जमाना हो । यहि मान्यतामा सहमत हुँदै विश्लेषकहरु भन्छन् ‘रावलले राष्ट्रहीतका पक्षमा लिने गरेका अडानकै कारण उनीमाथि अहिले अनेकन आरोप, अचाक्ली घेराबन्दी, विभिन्न प्रकारका धम्की तथा चुनौतिको पर्रा छुट्ने गर्छ । तर पनि त्यसको कुनै प्रवाह नगरी कहिकसैको धक्काले डग्मगाउन नसक्ने गरी चट्टान झै अडिग गराएको प्रतित हुन्छ ।’
सुखसयल, पदप्रतिष्ठा र राजकाजसमेत त्यागेर नागरिक स्वतन्त्रताका लागि त्याग गर्ने तथा हासीहासी जीवन उत्सर्ग गर्ने देशभक्त महावीरहरुको गाथाले भरिपूर्ण छ सुदूरपश्चिम । भीम रावल जन्मिएको अछाम त्यही भुमि हो, जसले इतिहासमा राणाशाही विरुद्ध संघर्ष गर्ने पहिलो ब्यक्ति बलदेव शाह (बाकावीर) जन्माएको थियो । वस्तुगत मुल्याकंन हुन सकेको भए बाकावीरको नाम प्रथम शहिदको सुनौला अक्षरले अंकित हुन्थ्यो होला । तर विडम्वना राणाशाही विरुद्ध संघर्षको मैदानमा उत्रने पहिलो ब्यक्तिको बलिदानीको गौरवगाथाको आज अत्तोपत्तो छैन ।
बाकावीरले जंगबहादुरका सिपाहीद्धारा अछाममा मच्चाइएको आतंक विरुद्ध १९०६ को सुरुबाट आन्दोलन छेडेका थिए । उनले अछामभर राणा विरुद्ध विद्रोहको झिल्को सल्काएर अन्यायअत्याचारका विरुद्ध जनतालाई विद्रोह गर्न सक्षम बनाएका इतिहासकारहरुका लिखतमा पाइन्छ । पछि आप्mनैहरुबाट उनको षडयन्त्रपूर्वक हत्या गरिएको थियो ।
यतिबेला संविधानको मर्म, राष्ट्रिय अखण्डता, सार्वभौमिकता र स्वाभिमानका विरुद्ध हुने जुनसूकै क्रियाकलापका विरुद्ध एक्लै भएपनि दृढतापूर्वक उभिने सामथ्र्य राख्ने नेताका रुपमा भीम रावलले आफुलाई उभ्याएका छन् । उनकै अडानका कारण देशलाई दिर्घकालीन क्षति पुग्नसक्ने अनेकौ जोखिमहरु रोकिएका छन् । चाहे त्यो विम्स्टेको सयूक्त सैन्य अभ्यास होस् वा आइफा अवार्ड । ‘उनकै निर्भिक अडानले रोकिएका हुन्’ एक विश्लेषकले भने ।
‘देश सुरक्षित भएमात्र जनता, राजनीति र सरकार सुरक्षित रहन्छ’ भन्ने रावलको मान्यतालाई कतिपयले सत्तारुढ भित्रकै कडा प्रतिपक्ष पनि भन्छन् । तर उनको तर्क छ ‘मेरा लागि पार्टी, सरकार, पदभन्दा माथि मेरो देश हो ।’ राष्ट्रियताका मामिलामा सबै दल र नेताहरु एकमत हुनुपर्नेमा उनको जोड रहदै आएको पाइन्छ ।
समय र परिवेशअनुसार देशलाई आवश्यक परेअनुसार राष्ट्रियताको रक्षा र स्वतन्त्रता प्राप्तिको लागि संघर्षको मैदानमा आफुलाई उतार्नेहरु थोरै हुन्छन् । अहिले त झन देश र जनतामाथि घात गर्दै चाकडी, चाप्लुसी, तिकडम गरेर लाभ प्राप्त गर्ने घृणित प्रवृति तलदेखि माथिसम्म हावी छ । नेतृत्वहरुमा जनताको नजरमा राजनेता कहलिने तृष्णाको साटो सत्ता र पैशाको मोहमा लीनता छ । राष्ट्रहीतका पक्षमा संघर्ष, आँट, हिम्मत र त्याग चाहिन्छ । जुन जो कसैमा हुन्न । देशभित्र र बाहिरबाट हुनसक्ने अनेक प्रकारका जोखिमहरुको सामना गर्ने दृढता चाहिन्छ । त्यस्ता सामर्थ राख्नेहरुले मात्रै आफुलाई सच्चा राष्ट्रभक्तको कसीमा उभ्याउन सक्छन् । सुदूरपश्चिमका देशभक्त सपुतहरुको इतिहास पनि त्यही हो । चाहे ती बाकाबीर हुन, वा भीमदत्त पन्त । दशरथ चन्द हुन या जयपृथ्वीबहादुर सिंंह ।
डडेल्धुराको अमरगढी नगरपालिका–२ कारीगाउँमा विसं १९८३ मंसिर १० गते जन्मेका भीमदत्त पन्तलाई किसान विद्रोह गरेको आरोपमा २०१० साउन १७ गते टाउको काटी हत्या गरिएको थियो ।
यस्तै अर्का सपुत दशरथ चन्दका बारेमा युगकवि शिद्धिचरण श्रेष्ठले ‘कारागारका सम्झना’ पुस्तकमा चन्दको शहादतबारे लेखेका छन् । दशरथ चन्दले जीवनमा कहिलै पनि शिर निहुराएनन् । उनी प्रजा परिषद्को कर्मठ सदस्य तथा उपसभापति रहेको थाहा भएपछि नेलसिक्री लगाइयो । बाँसमा झुन्ड्याएर पिँडौलाको मासु झार्ने गरी कोर्रा बर्साइयो । तर उनको मुखबाट कुनै कुरा फुत्केन । आफूलाई शारीरिक पीडा दिएर सताउनेलाई उनी भन्थे ‘मैले सबै कुरा स्वीकार गरेपछि म मारिने नै छु भने किन मार्न लाउन्नौ ? मान्छौ भने अब पनि मौका छ, जनताको हक देऊ । यो अन्यायी शासन अब धेरै समय टिक्न सक्दैन । तिमीहरुको नासको बेला नजिकै आइरहेको छ ।’
जब सिंहदरबारमा मुद्दा फैसला गर्दै ‘दशरथको ज्यान, अंश सर्वस्व’ भन्ने एैलान हुँदा उनी गलल हाँसेका थिए । मृत्युको फैसलामा यस्तो हाँसो निकाल्न सक्नु अदम्य शाहस थियो, वीरता थियो । दशरथ चन्दको जीवनको सबभन्दा ठूलो सौन्दर्य उनको मृत्युदेखिको निर्भयता थियो ।
सुदूरको माटोले जन्माएका अर्का महान ब्यक्तित्व जसले देशभित्र मात्रै हैन संसारभर नेपालको नाम चिनाए । उनी हुन् मानवतावादी जयपृथ्वीबहादुर सिंह । उनले विभिन्न मुलुकमा मानवतावादी विचार फैलाएर मानवतावादी आन्दोलनका प्रतिपादकका रुपमा स्थापित गरे । बझाङ्गी राजा जयपथ्वी बहादुर सिंह समाजमा ‘मेरो जात मानव हो, मेरो धर्म मानवतावाद हो, मेरो सिद्धान्त पनि मानवतावाद हो, मेरो अन्य कुनै जात र धर्म छैन’ भन्दै विश्व भ्रमण गर्ने प्रथम एसियाली हुन् । सर्वे भवन्तु सुखिनाः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चिद दुःख भाग्जनः । अर्थात, सबै मानवजाति सुखी होउन, सबै निरोगी होउन, सबैले राम्रै–राम्रो मात्र देख्न पाउन, कुनै पनि मान्छे दुःखी रोगी नहोउन् भन्ने विचार विश्वभरी छरेका थिए उनले ।
उनका अगाडी तमाम अवसरहरु थिए । तर ती सबै त्यागे । काठमाडौंमै अध्ययन गर्दैगर्दा राणाहरुले उनका बुवाको राजगद्दी खोसेर उनलाई १९४७ मा बझाङ राज्यको राजा घोषित गरे । तर बझाङमा शासन गर्दा उनी शासक बनेनन् । आफुलाई सेवकका रुपमा परिचित गराए । ‘मानवतावाद’ पुस्तक लेखेर उनी विश्वमाझ परिचित भए ।
यतिबेला बाकावीर, भीमदत्त पन्त, दशरथ र जयपृथ्वी बहादुर सिंहले गरेजस्तो, त्यहि स्वरुप वा सन्दर्भको आन्दोलन गर्नुपर्ने बेला त हैन । तर अनेकन प्रकारले देशभित्र र बाहिरबाट राष्ट्रिय अखण्डतामा आँच पु¥याउने र स्वाभिमानमा क्षय गर्ने कार्यहरु हँुदै आएका छन् । तसर्थ राष्ट्रियता कमजोर हुनबाट जोगाउन सक्ने स्वाभिमानी नेतृत्वको खाँचो भने अवस्य छ देशलाई यतिबेला ।
भीम रावल भन्छन् ‘कुनै देशलाई समाप्त गर्नुछ भने त्यहाँको भाषा, संस्कृति, जीवन पद्दति र सामाजिक सद्भाव समाप्त गरिदिए पुग्छ, भन्ने भनाईप्रति ध्यान दिनु बुद्धिमानी हुन्छ । संस्कृतिमा कुनै विकृति भए सुधारेर लैजानु पर्छ । जीवन पद्दतिलाई परिस्कृत र समयानुकूल तुल्याउँदै जानु पर्छ ।’ राष्ट्रिय हितप्रतिको उनको सतर्कता यसबाट पनि प्रष्ट हुन्छ । त्यसैले त यतिबेलाको राजनीतिक रंगमञ्चमा वैदेशिक हस्तक्षेप विरुद्ध खबरदारी गर्ने नेताको नाम लिनुपर्दा अधिकांशको जनजिब्रोमा भीम रावलकै नाम अगाडी आउने गरेको छ ।
हुन त अहिलेको नेपाली समाज बहकिने खालको छ । तथ्यमा वहस नहुने परम्परा छ । हरेकले राजनीतिक पछ्यौरी समात्नै पर्ने गलत चिन्तन र प्रवृति हावी हुदैछ, गराइएको छ । हरेक पेशाकर्मीहरुले आप्mनो पेशाको निष्ठाभन्दा पनि राजनीतिक तातोमै मग्न हुने अवस्था छ । रोकटोक कसैलाई केहीमा पनि नभएजस्तो देखिन्छ । लाभको आधारमा बोल्ने र भूमिका निर्वाह गर्ने परम्परा मौलाउदो छ । यस प्रवृतिको घानमा निष्ठावान पेशाकर्मीपनि परेकै छन् ।
रावलका पनि आलोचनाहरु नहुने हैनन् । उनका सन्दर्भमा पद नपाएपछि चर्को बोल्ने गरेको आरोप लागिरहन्छ । तर उनी त्यस आरोपलाई सिधै अस्वीकार गर्छन् । ‘तथ्यलाई केलाउने हो भने सम्भवतः मन्त्री पद अस्विकार गर्ने म मात्रै हुँला’ उनले भन्ने गरेका छन् । पछिल्लो समय देशलाई अहित हुने अनेकन घटना तथा प्रकरणमा रावलको खबरदारी नहुँदो हो त सायद देशको अस्तित्वमै दीर्घकालीन क्षय हुनसक्ने तमाम घटनाहरु भइसक्थे । बेलाबेला हुने त्यसता घटना र रावलले लिने अडान र ब्यवहारले उनका तर्कहरुलाई मजबुत गरिरहेका हुन्छन् ।
को थिए बाकावीर ?
इतिहासकार आत्माराम अोझले इतिहासकाे मन्थन नामक पुस्तकमा र डोटी क्याम्पसमा इतिहास विषय प्रध्यापनरत अर्जुनबहादुर देउबाले अछाममा विसं १९०६ सालमा भएको बाकावीरको बिद्रोहका बारेमा उल्लेख गरेका छन् । बाकावीर अर्थात वलदेव शाह अछामी राजा रणभुप शाहका कान्छा छोरा थिए ।
१९०६ सालमा उक्त घटना हुँदा अछामी शाहहरुको ‘राजा’ उपाधि कानुनी रुपमा कायमै थियो । उनी तत्कालिन राजा श्री ५ राजेन्द्रका भान्जी पट्टिका ज्वाँई बलदेव शाह (बाकावीर) का दाजु टिकाभुप शाह थिए । दाजुको वैबाहिक सम्बन्धका कारण बाकावीरको सम्बन्ध र सम्पर्क त्यतिबेला नेपाल दरबारसम्म थियो ।
हत्या, हिंसा र षडयन्त्रको भ¥याङ चढेर सत्तामा पुगेका जंगबहादुरले काठमाण्डौ उपत्यका भित्रका आफ्ना विरोधीहरुलाई सिध्याएका भएपनि उपत्यका बाहिर आफु बिरुद्ध हुनसक्ने सम्भावित षडयन्त्र र बिद्रोहमाथि निगरानी राख्न ठाउँठाउँमा पल्टन खटाएर सैनिक क्याम्प खडा गर्न लगाएका थिए । त्यसक्रममा सुदूरपश्चिममाथि निगरानी राख्न अछामको बान्निगढीमा सैनिक क्याम्प राख्न लगाएका थिए । बान्निगढीमा राणा सरकारको सैनिक क्याम्प बसिसकेपछि अछामी जनताका दुःखका दिनहरु शुरु भएका थिए ।
छडुवा राँगो र साँढे जस्तै फुकुवा भएका राणाका सिपाहीहरु अछामका गाँउगाँउमा पसेर दुध, दहि, घिउ, खसी, बोका तथा अन्नपात लुटपाट गर्न थाले । उनीहरुको त्यस्तो ज्याजदीपूर्ण ब्यबहारको बिरोध गर्न खोजे उल्टो कुटपिट र डरधाक खानु पर्ने अवस्था थियो । त्यस्तो कठिन परिस्थितीमा अछामीहरुले आफ्नै भाग्यलाई सराप्दै राणा सरकारका सिपाहीहरुको अत्याचारपुर्ण कार्यहरु चुपचाप सहन बाध्य थिए ।
ती सिपाहीहरुको अत्याचारले सीमा नाघ्दै गयो । यसै बेला बलदेव शाह (बाकावीर) आफु स्वयं सैनिक क्याम्प बान्निगढी पुगेर जनताहरुलाई नसताउन अनुरोधपुर्ण भाषामा चेतावनी दिएर फर्किए ।
राणाहरु बाहेक अरु कसैको अस्तित्वसमेत स्वीकार गर्न नसक्ने घमण्डी जंगबहादुरका सिपाहीहरुले बाकावीरको कुरा सुन्ने कुरै थिएन । बरु ती सिपाहीहरुको अत्याचार घट्नुको सट्टा झनझन बढ्न थालेपछि बाकावीरले जंगबहादुरलाई पत्र पठाउँदै उनका सिपाहीहरुले गरिरहेको जनतामारा गतिविधी तुरुन्त बन्द गर्न लगाउन आग्रह गरे ।
जंगबहादुरबाट सकारात्मक सन्देश प्राप्त हुने आशामा बसेका बाकावीर महिनौ बितिसक्दा पनि कुनै सुुनुवाइको खबर प्राप्त नभएपछि निराश भए । अब अछामी जनताहरुलाई राणा सरकारका सिपाहीहरुको अन्याय र अत्याचारबाट मुक्ति दिलाउन प्रतिरोधात्मक कदम उठाउनु अग्रसर गर्नु बाहेक उनीसँग अर्को कुनै बिकल्प नभएपछि बाकावीर निरंकुश अन्यायपूर्ण राणा शासनको बिरुद्घमा बिद्रोही भएर देखा परे । विसं १९०६ को प्रारम्भबाट उनले अछामका गाँउगाँउमा घुमेर राणासरकार बिरुद्घ संगठन निर्माण गर्दै जंगबहादुरका सिपाही बिरुद्घ एकजुट भएर लड्न आव्हान गर्न थाले ।
राणा विरोधी गतिविधीको सुइको पाएको बान्निगढी सैनिक क्याम्पले बाकावीरलाई पक्रिन अनेक प्रयास गर्दा पनि सफल भएनन् । त्यसपछि गुप्तचरको भेषमा आफ्ना मान्छेहरु पठाएर पक्रिने प्रयास गर्न थाले । यति गर्दापनि राणाका सिपाहीहरुलाई सफल भएनन् । भेष बदलेर बाकावीरलाई पक्रिन गाउँ पसेका एक्ला दुक्ला सिपाहीहरुलाई उल्टै बाकावीरले हत्या गर्न थालेपछि बल्ल बान्निगढीको सैनिक क्याम्प बाकावीरका गतिविधीबाट झस्कियो । सिपाहीहरुले काठमाण्डौमा बिद्रोहबारे खबर पठायो र यता आफुपनि बाकावीरको खोजीमा दलबलसहित लाग्न थाल्यो ।
बाकावीरलाई घरमा गासवास दिनेलाई प्राणदण्ड दिइने उर्दी जारी भयो । तर जति प्रयास गर्दापनि बाकावीरलाई राणा सरकारका सिपाहीहरुले पक्राउ गर्न सकेनन् ।
उर्दीका कारण बाकावीरलाई गाँउमा बसेर राणा विरोधी गतिविधिहरु अगाडी बढाउन गाह्रो पर्न थाल्यो । त्यसैले उनी जंगलमा लुकेर बस्न थाले र उतैबाट राणा विरोधी योजना बनाएर सञ्चालन गर्न थाले । यो थाहा पाएपछि सैनिकहरुले सर्वसाधारणलाई जंगल आवतजावतमा प्रतिबन्ध लगाउँदै बाकावीर लुकेर बस्नसक्ने सम्भावित जंगललाई नाकाबन्दी गरे । यस नाकाबन्दीका कारण जंगलमा खाद्य आपुर्ति हुन सकेन । फलस्वरुप बाकावीरले प्राण रक्षा गर्न वनजंगलका गिठा, भ्याकुर, तथा कन्दमुल खान थाले । त्यतिमात्र होइन उनले वनमा पाइने एकप्रकारको मुख कोक्याउने विषालु वनस्पति ‘बाको’ समेत खाएर प्राणरक्षा गर्नुपरेको थियो । ‘बाको’ जस्तो विषालु वनस्पति खाएरपनि जिवितै रहन सकेकोमा बलदेव शाहलाई बाकोखाने वीर अर्थात ‘बाकावीर’ भन्न थालियो ।
तर जति प्रयास गर्दापनि बाकावीरलाई पक्राउ गर्न नसकेपछि उनको बिद्रोह अछाममा आगो झै फैलिन थालेपछि राणा सरकार गम्भिर र चिन्तित हुन थाल्यो । बाकावीरलाई सामान्य बलले मात्र नियन्त्रण गर्न सकिदैन भन्ने निष्कर्षमा पुगेपछि राणाहरुले उनलाई षडयन्त्रपुर्ण तरिकाले मार्ने योजना बनाउन थाले ।
वि.सं १९०६ सालतिर नै जंगबहादुर आफु हात्तीमा सवार भई अछाम पुगेको बेला बलदेव शाहको बिद्रोहको बारेमा जानकारी लिएका थिए । काठमाण्डौबाट पहाडैपहाड भएर महाकाली अञ्चलसम्म हात्ती सवार हुनसक्ने मुलबाटो खनाउँदै जंगबहादुर त्यहाँ पुगेका थिए । अछाम पुग्दा रिडिकोट टुरमुकाममा त्यहाँका स्थानीय शेरु स्वाँरका छोराहरुले गरेको सेवा सत्कार र चाकरीबाट प्रसन्न भएका जंगबहादुरले तिनीहरुलाई जागिरपनि दिएका थिए । त्यति नै बेला जंगबहादुरले बाकावीरलाई मार्न स्वाँरहरुसँग गोप्य कुराकानी गरेका थिए । रिडीकोटबाट अगाडी बढेर घुगुरकोटको फेदीमा गौडो चढ्न लाग्दा जंगबहादुरको हात्ती लडेर म¥यो । जंगबहादुर काठमाण्डौं फर्किए । हात्ती लडेर मरेको हुनाले त्यस ठाउँको नाम हात्तीगौडा रहन गएको भन्ने भनाई छ ।
उनी काठमाण्डौ फर्किएको केहि समयपछि यता भवानीसिँ स्वाँर, कालुसिँ स्वाँर र रुद्र स्वाँर भन्ने व्यक्तिहरुले बलदेव शाह(बाकावीर)को छलकपटपुर्ण तरिकाले हत्यागरि टाउको काठमाण्डौ पु¥याए ।
ती स्वाँर बन्धुहरु बाकावीरलाई सहयोग गर्ने भन्दै उनको समर्थक बनेका थिए । आफना समर्थक बनिसकेपछि बाकावीरलेपनि यिनिहरुमाथि विश्वास गर्दै राणा विरोधी योजना बनाउनेदेखि लिएर सञ्चालन गर्ने गतिविधिमा सहभागि गराउन थाले ।
जंगबहादुरको विश्वास गर्न नसकेका कर्मचारी तथा सिपाहीहरु काठमाण्डौ छोडेर मधेशतिर लुकेर बसेका थिए । यस्तै भगुवा सिपाही मध्येका स्वरुपसिँ स्वाँर पनि एक थिए । स्वरुपसिँ स्वार बाकावीरको हत्यामा संलग्न भवानीसिँ स्वार र कालु स्वाँरका दाजु थिए । उनलाई भगुवा भारदारसित मधेश गएकोमा कसुर माफ भई काठमाण्डौ बोलावट भएको थियो । तर आशंका र डरले त्यतिबेला उनी काठमाण्डौ फर्किन सकेनन् । फर्कन बिलम्ब गरेको हुँदा उनलाई राणाहरुले आफ्नो बिरोधी ठानेका थिए । दाजुलाई राणाहरुले आफुमाथि दागा गर्न आउने विपक्षी समुहको सुचिमा राखेपछि भवानीसिँ स्वाँर र कालु स्वाँर अवश्यपनि राणा विरोधी बने होलान् भन्ने भ्रम बाकावीरलाई पर्न गयो ।
तर नियत खराब भएका भवानी, कालु र रुद्र स्वाँरले घातगर्दै उनका गोप्य योजनाहरुको सुराकी बनेर त्यसको सूचना बान्निगढी सैनिक क्याम्पमा पठाउन थाले । विस १९०६ को वर्षा ऋतुमा अछामी जनताहरुको साथलिएर बान्निगढीलाई ध्वस्तपार्ने योजना बनाएका बाकावीर रातीराती गाँउगाँउ पसेर जनतालाई राणाहरु बिरुद्घ एकजुट पार्ने र दिउसो वनमा पसेर स्वाँर बन्धुहरुसँगको बिचार विमर्शबाट अगाडीको योजना बनाउन थाले ।
त्यसैक्रममा एकदिन रातीको कार्यक्रम सकेर वन जान लाग्दा बाटोमा पर्ने काफलखेतको धारामा नुहाउन लागेको मौका छोपेर सँगै रहेका रुद्र स्वाँरले खकुरी प्रहारगरि बाकावीरको शीर छिनाली दिए । काटिएको टाउको पोको पारेर रुद्र स्वाँर, भवानी स्वाँर र कालु स्वाँर रातारात काठमाण्डौतिर लागे । खटाए बमोजिमको काम फत्ते गरेर आएकोले जंगबहादुरले खुशी हुँदै स्वाँर बन्धुहरुलाई मनमा लागेको कुरा बिन्ति गर्न भने । भवानी सिँ र कालुसिँ ले आफना दाजु स्वरुपसिँ मधेशतिरै रहेको हुँदा काठमाण्डौ आउने अनुमति मिलोस भनि बिन्ति गरे । उनीहरुको बिन्ति बमोजिम कर्णेल खड्गबहादुर कुँवर राणाजीले विस १९०६ साल पौष महिनाको १५ गते स्वरुपसिँ स्वाँरलाई भगुवा भारदारसँग मधेश बसेको कसुर माफि गरे ।
बाकावीरको टाउको छिनाल्ने काम आफुले गरेको भएतापनि राणाहरुबाट कालुसिँ र भवानीसिँ स्वाँरको मात्र कुरा सुनेर उनीहरुलाई प्राथमिकता दिएको र आफ्नो कुनै सोधिखोजी नगरी अवमूल्यन गरेको महसुसगरि रुद्रसिँ स्वाँर रिसायर हल्द्वानीतिर लागे । अछाम कहिलै फर्र्किएनन् ।
इतिहासको गर्भमै रहेको यो वास्तविकताको थप खोज अनुसन्धानगरि बलदेव शाह (बाकावीर) लाई ‘प्रथम शहीद’ र उनले गरेको राणा विरोधि गतिविधीलाई ‘प्रथम राणा बिरोधी आन्दोलन’ को रुपमा इतिहासमा दर्ज गरिनु अहिलेको न्यायिक आवश्यकता हो । किन कि इतिहासमा प्रथम सहीदको दर्जा पाउनुपर्ने बलदेव शाह (बाकावीर) ले लखन थापाभन्दा २७ वर्ष अगाडी नै राणाहरु बिरुद्घ आवाज उठाएवाफत आफ्नो मृत्युवरण गर्नु परेको थियो ।
भीम रावलले लिएका अडानहरु
नेपालको सार्वभौमसत्ता, अखण्डता, संविधानको मर्म विरुद्ध हुने हरेक कार्यमा कडा प्रतिवाद गर्दै आएका रावल विदेशी हस्तक्षेपजन्य गतिविधि आफुलाई असह्य नहुने भन्दै खरो उत्रिने गरेका छन् । विद्यमान परराष्ट्रनीति, एकताको डोरीमा बाँधिएका नेपालीलाई जातजातीका नाममा भिडाउने, सास्कृतिक धरोधरमाथि आक्रमणको त अझ चर्कोगरि विरोध गर्दै आएका छन् ।
नेपालको नाम झण्डा परिवर्तन गर्ने प्रस्तावको विरोध
संविधानसभामार्फत संविधान निर्माणका क्रममा निलाम्बर आचार्य मस्यौदा समितिका सभापति भएका बेला मधेसी दलका नेताहरुले नेपालको नाम र झण्डा फेर्न लिखित प्रस्ताव ल्याएपछि मस्यौदा समितिमा रहेका रावलले उक्त प्रस्ताव च्यातेर डस्विनमा हाल्ने भन्दै अस्विकार गरेका थिए ।