• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • उच्च पहाडमा खेतीपातीको चटारो

उच्च पहाडमा खेतीपातीको चटारो

  • सोमवार, कार्तिक ११, २०७६
उच्च पहाडमा खेतीपातीको चटारो

धनगढी — एकातिर चाडबाड, अर्कातिर खेतीपाती  । असोज र कात्तिक महिनामा यहाँका किसानहरू अत्यन्तै व्यस्त हुन्छन्  ।

पाकेको बाली भित्र्याउने चटारोसँगै नयाँ बाली लगाउने हतार छ । किसानलाई फुर्सद पटक्कै छैन ।

ब्यास, दुहु, नौगाड, अपीहिमाल र मार्मा गाउँपालिकाका माथिल्लो क्षेत्रमा बसोबास गर्ने किसानलाई खेतीपातीको बढि चटारो भएको हो । ‘उच्च पहाडी र हिमाल भेगमा चैत–वैशाखमा लगाएको खेती योबेला पाक्छ,’ नौगाड–१ नागुका रमेशसिह डडालले भने, ‘बर्खे खेती भित्र्याएर हिउँदे बाली लगाउँदै छौ । कात्तिकको तेस्रो साताभित्र हिउँदे बाली छर्न नसके राम्रो खेती हुँदैन ।’ किसानले माटोका लागि उपयुक्त मौसम बुझेर बेलैमा बाली नलगाए राम्रो उत्पादन लिन नसक्ने उनले बताए ।

गर्मी र बेंसी क्षेत्रका किसान असोजभित्र बर्खे बाली भित्र्याई सक्छन् । उनीहरूले हिउँदे बाली कात्तिक अन्तिम र मंसिरमा लगाउदा फरक पर्दैन । तर, चिसो ठाउँमा कात्तिकको दोस्रो सातासम्म लगाइसक्नु पर्छ । चिसो बढेपछि छरेको बिउ नउम्रिने किसानको अनुभव छ । यहाँका चिसो ठाउँहरूमा चैतमा लगाएको धानबाली असोजको मध्यसम्म पाक्छ ।

वैशाख जेठमा लगाइने मकै र दलहन बाली पनि असोजको अन्तिममा भित्र्याउन तयार हुन्छ । असोजदेखि हिउँदे बाली लगाउने चटारो बढ्दै जान्छ । बाली भित्र्याएर कात्तिकको दोस्रो सातासम्म गहुँ, जौ र तेलहन लगायतका हिउँदे बाली लगाइसक्नु पर्छ । किसानले बिहान, दिउँसो र साँझ पुरै समय खट्नुपर्छ । बढी चिसो हुने ठाउँका मानिसहरूले हिउँदे बाली बेलैमा लगाइसक्नुपर्ने डडालको भनाइ छ ।

दार्चुलाका उच्च पहाडी भागमा ओराला गरा र चिसो हावापानीका कारण राम्रो उब्जनी हुँदैन । खेतीयोग्य क्षेत्रफल धेरै भएपनि स्थानीय किसानहरूले मिहिनेत अनुसारको उत्पादन भने पाउदैनन् । बढी खेत भएको परिवारले आफ्नो उत्पादनले बढी ६ महिना खान पुग्ने र थोरै खेत भएको परिवारले बर्षभरि मिहिनेत गरेपनि २/३ महिना पुर्‍याउनै गाह्रो हुने अपीहिमाल–६ सितोलाका रामसिंह महताले बताए । ‘खेतमा मिहिनेत गरेकै हुन्छौ । यहाँको खेतीकिसानीमा त्यसै अनुरुपको प्रतिफल पाइदैन,’ उनले भने, ‘हामीहरूले खेती गर्न नजानेर हो कि, उत्पादन नै यति हो ।’ किसानले परम्परागत तरिकाबाट खेती गर्दै आएका छन् । माटोको जाँच, उन्नत बिउ छनोट, रोने उपयुक्त समयबारे सतर्कता र खनजोतको तरिकामा पनि सुधार ल्याउनुपर्ने अवस्था रहेको कृषि प्राविधिक बताउँछन् । ठूलो क्षेत्रमा खेतीपातीका लागि सिंचाइको उपयुक्त प्रबन्ध छैन । खेती लगाउने याममा पानीका लागि वर्षा पर्खनु परेको छ ।

वर्षमा दुई बाली लगाउने यहाँका किसानहरूले पछिल्लो समय मौसम परिवर्तनको मार खेप्नु परेको छ । ८/१० बर्षयता समय अपुगमै खेती पाक्ने र उत्पादनमा कमी आएको उच्च पहाडी क्षेत्रका किसानहरू बताउँछन् । परम्परागत तरिकाको खेतीपाती गर्दै आएको र थप पछिल्लो समय रसायनिक मल थपेर पनि उत्पादनमा सोचे अनुसारको खेतीमा उत्पादन पाउन नसकेको दुहु गाउँपालिका–५ का मदनसिंह बडालले बताए । ‘प्रविधि र सीप नहुँदा परम्परागत खेती बाहेक अन्य खेतीमा किसानहरूको ध्यान पुग्न सकेको छैन,’ उनले भने, ‘उत्पादनमा प्रगति हुन सकेको छैन ।’

आकासे पानीको भरमा खेती गर्दै आएका हुनाले चाहिने समयमा पानी नपर्ने र आवश्यक बेला पानी पर्ने हुँदा खासै प्रतिफल नपाउने उनको भनाई छ । सिँचाइ सुविधा नहुँदा उत्पादन बढाउन नसकेको किसानहरू बताउँछन् । ‘सिँचाइ सुविधा नभएर खेती सप्रन सकेको छैन’ उनले भने, ‘आकासे पानीका भरमा किसानले हिउदे र बर्खे बाली रोप्नु र छर्नु परेको छ ।’ सरकारले सिँचाइ तथा मल, बीउबिजनको व्यवस्था गरिदिए परम्परागत खेतीबाट राम्रो उत्पादन पाउन सकिने उनको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार