सुदूपश्चिम प्रदेशका ९ जिल्लामध्ये कैलाली, कञ्चनपुर र डडेल्धुरामा मात्र पोषण पुनर्स्थापना केन्द्र सञ्चालित छन्। पछिल्लो आर्थिक वर्षको तथ्यांकमा तीन वटै पुनर्स्थापना केन्द्रमा कडाखालको कुपोषणको उपचार गर्न आउनेको संख्या धेरै छ।
आर्थिक वर्ष २०७५/२०७६ मा कैलालीको धनगढीमा रहेको पोषण पुनर्स्थापना केन्द्रमा १ सय ४७ जना कुपोषित बालबालिका भर्ना भएका थिए भने कञ्चनपुरको पोषण पुनर्स्थापना केन्द्रमा १ सय ४३ जना बालबालिका भर्ना भएका थिए। यता डडेल्धुराको पुनर्स्थापना केन्द्रमा पछिल्लो आर्थिक वर्षमा एक सय १४ कुपोषित बालबालिका भर्ना भएको तथ्यांकमा उल्लेख छ।
यो तथ्यांक हेर्ने हो भने सुदूरपश्चिममा गत आर्थिक वर्षमा चार सय चार जना कुपोषित बालबालिकाले उपचार पाएका छन्। तर पोषण पुनर्स्थापना केन्द्रमा पायक पर्ने बालबालिकाले मात्रै उपचार गर्न जाने गरेको यहाँका स्वास्थ्यकर्मीको भनाइ छ। यो प्रदेशमा पुनर्स्थापना केन्द्र ३ जिल्लामा मात्रै हुँदा धेरैजसो अभिभावकले कुपोषण पुष्टि भएका बालबालिका ल्याउने गरेको पोषण पुनर्स्थापना केन्द्र डडेल्धुराले जनाएको छ।
आफ्नो कुपोषित छोरालाई डडेल्धुराको पोषण पुनर्स्थापना केन्द्रमा भर्ना गराएकी डोटीकी पार्वती साउदले सबै जिल्लामा पोषण पुनस्र्थापना केन्द्र भए धेरै बच्चाले उपचार पाउने बताइन्। डोटीको दिपायल सिलगढी नगरपालीका–३ मा बस्ने उनलाई त्यहाँको स्वास्थ्य संस्थाले डडेल्धुरा जान सुझाव दिएको थियो।
पुनर्स्थापना गृहमा सित्तैमा उपचार हुने थाहा पाएपछि आफू डडेल्धुरा आएको उनले बताइन्। ‘म घरायसी काममा व्यस्त हुने गर्थें, घरमा छोराको ख्याल भएन, कुपोषण भएछ,’ उनले भनिन्, ‘त्यति टाढाबाट यहाँ आएकी छु, ठिक त हुँदैछ तर यस्तो स्वास्थ्य संस्था उतै भएको भए सजिलो हुने थियो।’
कुपोषणको अवस्था भयावह
नेपालमा कुपोषित बालबालिकामध्ये ५० प्रतिशत बालबालिकाको मृत्यु हुने गरेको एक तथ्यांकले देखाएको छ। नेपालका ५३ प्रतिशत बालबालिका कुपोषित हुने गरेको र त्यसमध्ये ५० प्रतिशतको ज्यान जाने गरेको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखाको तथ्यांकमा उल्लेख छ। विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर एकै साथ जन्मने तीन जना बालबालिकामध्ये एक जनामा कुपोषण देखिने गरेको छ।
‘पोषण अवस्था सन् २०१६’ का अनुसार नेपालमा कुपोषणको दर ३५ दशमलव ८ प्रतिशत रहेको पाइएको छ। समग्रमा नेपालमा महिला ३६ प्रतिशत छन् भने पुरुष ३५ दशमलव ७ प्रतिशत कुपोषित छन्।
सुदूरपश्चिमसहित देशभरमा कुपोषण बढ्दै गएको तथ्यांकले देखाएको छ। तथ्यांकअनुसार कुपोषणका कारण सुदूरपश्चिमका ३५.९ प्रतिशत नागरिकमा पुड्कोपन छ भने ४९.८ प्रतिशत पाँच वर्षमुनिका बालबालिकामा रक्तअल्पताको समस्या छ। ३९.३ प्रतिशत महिलामा रक्तअल्पता, २८.१ प्रतिशत कम तौलका, ७.७ प्रतिशत बढी तौलको समस्या छ। सुदूरपश्चिम प्रदेशको ९ जिल्लामा ९.३ प्रतिशत बालबालिकामा ख्याउटेपन छ भने १.२ प्रतिशतमा मोटोपन रहेको तथ्यांकले देखाएको छ।
नेपाल जीवनस्तर सर्वेक्षणका अनुसार २५ प्रतिशत नेपाली गरिबीको रेखामुनि रहेको र उनीहरु कुपोषणको सिकार भइरहेको पोषणका लागि नागरिक समाज सञ्जाल नेपाल (सिसान) ले जनाएको छ।
तौल समान्य नहुँदै फिर्ता हुन्छन् बालबालिका
सुदूपश्चिमका कुपोषण भएका बालबालिकाले उपचार नपाउने गरेको पाइएको छ। जिल्लामा हाल पनि थुप्रै मात्रामा कुपोषित बालबालिका भए तापनि उनीहरुका अभिभावकले उपचार नगर्ने गरेको पाइएको हो। डडेल्धुरामा रहेको केन्द्रमा कुपोषित बालबालिकाको तौल सामान्य हुन नपाउँदै अभिभावकले घर लग्ने गरेका छन्।
पुनर्स्थापना केन्द्रले बच्चाको तौल सामान्य अवस्था नहँुदासम्म उपचारमा राख्ने गर्छ। आमाले पोषण पुनर्स्थापना केन्द्रमा बस्नुपर्ने हुन्छ तर आमाहरु घरायसी काममा व्यस्त हुने हुँदा बच्चाको तौल समान्य नहुँदै उनीहरु घर फर्केने गरेको पोषण पुनर्स्थापना केन्द्र डडेल्धुराका संयोजक कल्पना भट्टले बताइन्।
डडेल्धुरामा पहाडी जिल्ला बैतडी, बझाङ, दार्चुला, डोटीबाट कुपोषित बालबालिका आउने गर्दछन्। पुनस्र्थापना केन्द्रमा १ महिनाभन्दा बढी समय बस्नुपर्ने भएकाले टाढाका अभिभावक त्यति धेरै समय बस्न नमान्ने गरेको संयोजक भट्टको भनाइ छ। उनले भनिन्, ‘पुनस्र्थापना केन्द्रमा १ महिनाभन्दा बढी अभिवावकले बस्नुपर्छ, हामीले जति सम्झाए पनि बस्न तयार छैनन्।’
केन्द्रमा कुपोषित बालबालिकालाई पोषणयुक्त खानाका साथै उपचार तथा उनका परिवारलाई पोषणका बारेमा जानकारी गराइन्छ। उक्त पोषण पुनर्स्थापना केन्द्रमा जन्मेदेखि १४ वर्षका बालबालिकाको उपचार हुने गरेको छ।
कुपोषणको प्रमुख कारण अशिक्षा
पोषण पुनर्स्थापना केन्द्र डडेल्धुरामा २० वर्षीया सुनिता जैरु १५ महिनाकी कुपोषण भएकी छोरीको उपचार गर्दैछिन्। १४ वर्षमा विहे गरेकी उनलाई कुपोणको बारेमा कुनै जानकारी छैन। श्रीमान्ले छाडेर गएको बताउने उनले ५ कक्षा मात्रै अध्ययन गरेकी छिन्। ‘दैनिक ज्याला मजदूरी गर्न जानुपर्दा छोरीलाई हेरचाह गर्न पाइएन। उनी कुपोषणको सिकार भइछन्,’ उनले भनिन्, ‘मैले त केही जानकारी नपाएर दुःख भोग्नुपर्यो, तर यसबारे सबैले शिक्षा पाए धेरै बच्चा कुपोषणबाट बच्ने थिए।’
कुपोषणका आर्थिक–सामाजिक कारण पनि छन्। गरिबीको कारण, खाद्य असुरक्षाको कारणले शिक्षा चेतनाको कमीले धेरैले व्यक्तिगत सरसफाइमा ध्यान दिन सक्दैनन्। हरिया सागपात र पहेँला फलफूल खान आवश्यक हुन्छ। माछामासु अन्डा खान सक्ने अवस्था हुँदैन। यो कारणले गर्दा पनि कुपोषण हुने गरेको स्वास्थ्य कार्यालय डडेल्धुराका पोषण स्रोत व्यक्ति प्रेम ऐरले बताए।
यस्तै पर्याप्त मात्रामा आमाको दूध खान नपाएका बच्चामा पनि कुपोषण हुने गरेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ। याे समाचार स्वास्थ्य खवर पत्रिकाबाट शाभार गरिएकाे हाे ।